बाजुरा, मंसिर २८ ,
अर्जुन शाह ; बाजुरा यहाँका अधिकांश गाउँमा महिलामात्रै भेटिन्छन् । विकास निर्माणका गतिविधि ठप्प भएका र दसंै तिहार र हिउँदे खेतीपाती सकेर पुरुषहरू भारत जान थालेपछि गाउँमा पुरुषको संख्या कम भएको हो ।
कैलाशमाडौंका राजनीतिक कार्यकर्ता विष्णु अऐडीले भने, 'यतिबेला हाम्रो गाविसमा पुरुष भेटिने घर कमै छन् ।बेरोजगार भएका घरको एक जना भारत हिँडेकाले गाउँघरमा महिलामात्रै हुने गरेका हुन् ।' हिउँदे खेती सकेर उनीहरू कमाउन सीमा कटेको अऐडी बताउँछन् ।
'हाम्रो गाउँमा त मलामी जान पनि समस्या छ,' गाउँहरू झन्डै पुरुषविहीन भयो,' कोटिलाका धर्मराज पाध्यायले भने । मंसिरदेखि चैत/वैशाखसम्म गाउँमा खासै काम नहुँदा पुरुषहरू मजदुरी गर्न भारत जाने गरेको उनी बताउँछन् ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने बेरोजगार पुरुष भारतमा चौकीदारी र मजदुरी गर्न जाने गरेको स्थानीय बासिन्दाले बताए ।
केही व्यक्ति वर्षौंसम्म त्यहीं बस्ने गरी गएका छन् भने हिउँदे खेतीपाती सकेर नयाँ वर्षको चाड बिसुमा र्फकने गरी जाने गरेको छताराका प्रेम बुढाले बताए । जिल्लामा रोजगारीका विकल्प नभएपछि युवा भारत जाने क्रम हालका वर्षमा झनै बढेको छ । बाजुरामा बसोबास भएकाको रोजगार तथ्यांक नभए पनि सरकारी तथा गैरसरकारी क्षेत्र र अन्य आत्मनिर्भर हुने व्यवसाय गर्नेको संख्या न्यून रहेको जिल्ला तथ्यांक कार्यालयको अनुमान छ । 'पुरानो तथ्यांक हेर्दा रोजगारी हुनेको संख्या निक्कै कम छ ।
स्थानीय तहमा आयआर्जनका उपाय नभएपछि गाउँले भारत जाने गर्छन्,' कार्यालय प्रमुख कपिल जोशीले भने ।
अर्कोतिर सरकारी निकायबाट ग्रामीण विकासका लागि सञ्चालन हुनुपर्ने विकास आयोजना ठप्प भएकाले पनि बेरोजगार युवा अहिले गाउँमा काम नपाएर भारत पलायन हुने अवस्था आएको स्थानीयवासी बताउँछन् ।
'चालू आवको यस अवधिसम्म ग्रामीण क्षेत्रमा कुनै पनि विकासका गतिविधि सञ्चालन भएका छैनन्,' तोलीका स्थानीयसमेत रहेका सामाजिक कार्यकर्ता लोकबहादुर अऐडीले भने । सरकारी निकायबाट गाउँमा विकास निर्माणका गतिविधि सञ्चालन भएका बेला स्थानीय तहका बेरोजगार युवा ले काम पाउने हुँदा विदेश जानेको संख्या कम हुने स्थानीयवासी बताउँछन् ।इकान्तिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै