बिनोद घिमिरे ; पोर्चुगलमा रहेका नेपालीहरुले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको १० करोड राशिको अक्षकोषका लागि चार हजार पाँच सय युरो सहयोग गरेका छन् ।
पोर्चुगलको लिस्बनमा बसोबास गर्ने व्यवसायी तथा सर्वसाधारण लगायत भन्डै ५० नेपालीले यो अभियानलाई सघाएका हुन् । हेल्प नेपाल नेटवर्कका संस्थापक तथा पत्रकार रबिन्द्र मिश्रको उपस्थितीमा होटेल फेनिक्समा बिहिबार सम्पन्न कार्यक्रममा नेपाल पोर्चुगल कला, संस्कृति तथा साहित्य संचार परिषदको आयोजना भएको थियो ।
कार्यक्रममा मिश्रले परोपकारी अभियानमा पोर्चुगलबासी नेपालीहरुको उदार भावनाको कदर गर्दै सम्पूर्ण नेपालीहरुले आआफ्नो ठाँउबाट समृद्ध नेपाल निर्माणमा कुनै न कुनै किसिमले योगदान दिनु पर्ने आवश्यकता रहेको बताए । हेल्प नेपाल नेटवर्कले नेपालीनेपालीको सहयोगमा नेपालका बिभिन्न ग्रामिण क्षेत्रका ४० भन्दा बढी स्कुल, ४० भन्दा बढी पुस्तकालयहरु निर्माण गरिसकेको छ भने आपतकालिन स्थितिहरुमा धेरै पटक राहत सामाग्री प्रदान गरिसकेको छ।
चौध वटा देशमा शाखा भएको नेटवर्कले आफ्ना परोपकारी गतिबिधीलाई अरु सुदृढ र संस्थागत गर्न गत पाँच महिना यता नेपाली नेपालीको सहयोगबाट १० करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा हेल्प नेपाल का सस्थापक मिश्रले सस्थाको बारेमा जानाकारी दिदै संस्थाले गरेका कार्यको बारेमा एक डकुमेण्ट्री प्रस्तुत गरेका थिए ।
परिषद्का अध्यक्ष कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिम केसी कमलले हेल्प नेपाल र पोर्चुगलका नेपालीहरुको अवस्थाको बारेमा जानाकारी गराएका थिए । स्वागत मन्तब्य बिनोद घिमिरेले राखेका थिए भने कार्यक्रमको संचालन बिष्णु गौतमले गरेका थिए । सोही कार्यक्रममै परिषदको तर्फबाट अध्यक्ष कुमार श्रेष्ठ, ब्यबसायी नरेन्द्र हमाल र टंक सापकोटाले मिश्रलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।