अमृता अनमो ;- 'हे आमा नेपाल तिमीलाई .....
संसारकै राम्री बनाउँला...'
यो गीत तपाईंले सुन्नुभएको होला । विसं २००० मा रेकर्ड गरिएको यो गीतका गायक बुटवलवासी महेश पाल्पाली हुन् । रेडियो नेपालदेखि देशभरका थुप्रै एमएमले पाल्पालीको यो गीत बजाउँछन् । तर, गायकका बारेमा धेरैलाई थाहा छैन ।
८१ वर्षको उमेरमा यी गायक रोक, भोक र शोकले पिल्सिएका छन् ।
बुटवलको दीपनगर टोलमा टिनले छाएको सानो घरमा यी गायक तीन नातिनातिना सहित बस्छन् । उनका छोरा वैदेशिक रोजागीमा कतारमा छन् । छोराको कमाइले नै परिवार चलेको उनी बताउँछन् । रेडियो नेपालले गीतको वाषिर्क १२ हजारजति रोयल्टी पनि दिने गरेको छ । उनी अहिले पनि बुटवल वरपरका कार्यक्रममा गीत गाउँछन् । उमेरले उनको गीत गाउने जोशलाई जित्न सकेको छैन ।
गायक, संगीतकार र गीतकार पाल्पालीले करिब ३ सय गीत गाएका छन् । ६ सय गीत लेखेका छन् । गीतसम्बन्धी उनका ३ वटा पुस्तक निस्किएका छन् । तर, उनले एल्बम ननिकालेका कारण गीतिसंग्रह भने छैन । यसमा उनी पिरोलिएका छन् । 'एउटा संग्रह निकाल्ने धोको छ,' उनी बताउँछन्, 'संग्रह भए मेरा गीत बाँच्ने थिए ।' तर, आर्थिक अभावले उनको धोको पूरा भएको छैन । एल्बम निकाल्ने सहयोग माग्न उनी धेरै ठाउँ धाए ।
'सबैले क्यासेट ल्याए एकदुइटा किन्दिउँला मात्रै भने, सहयोग गरेनन्,' उनले भने ।
२००० सालको घोडेजात्राको दिन काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा उनले 'हे आमा नेपाल तिमीलाई...' गीत गाएका थिए । समारोहमा उपस्थित राजा महेन्द्रले उनको गीत मन पराएर रेकर्डिङका लागि उनलाई कोलकाता पठाएका थिए । उनले पछि केही मायाप्रेमका लोकगीत पनि गाए । राजधानी छउन्जेल महेन्द्रसँग संगत भएका उनी राजधानी छोडेपछि आफू पछि परेको बताउँछन् ।
प्रेमको चक्करमा उनले राजधानी छोडेका थिए । सुनिता थापासँग प्रेम भएपछि उनी काठमाडौंबाट बुटवल आए । तर, १० वर्षको साथपछि २०३८ सालमा उनकी श्रीमती सुनिताको निधन भयो । 'त्यसपछि तीन छोरी र एक छोरा हुर्काउने र गाँस, बास जुटाउने जिम्मेवारीले गर्दा काठमाडौं जाने र गीत गाउने अवसर पाइनँ,' उनले बताए । तर, बुटवल वरपरका क्षेत्रमा भने उनले त्यसपछि पनि निकै गीत गाए । राजधानीभन्दा बाहिर पुगेकाले उनलाई धेरैले भने बिर्सन थाले ।
'कलाकार देशका गहना हुन् भन्थे तर मलाई कसैले दुःखमा हेरेन,' उनले दुःखेसो गरे । बुटवलमा हुने कार्यक्रमहरूमा गाएर मनोरञ्जन दिए पनि उनले आर्थिक उपार्जन गर्न भने सकेनन् । 'मेरो कसैले सोधखोज गरेनन्,' उनी दुःखी भए ।
८१ वर्षको उमेरमा महेश पाल्पालीलाई फेरि एकपटक जमेर गीत गाउने मन छ । तर, अब गाउनका लागि कहाँ जानुपर्छ भन्ने उनलाई थाहा छैन । 'पुराना साथी सम्पर्क सबै टुटिसक्यो,' उनले भने ।कोसेली;