काभ्रे, ३ पुस -
खनालथोक– ७ की सीतामाय तामाङ एकल महिला हुन् । प्रहरी सेवामा रहेका उनका श्रीमान् मानसिक रोगीसमेत थिए । श्रीमान्ले आत्महत्या गरेको ६ महिना भयो । त्यसपछि ८, ७ र ३ वर्षका तीन छोरीको लालनपालन गर्ने अभिभारा उनकै काँधमा छ । श्रीमान्का अन्य तीन दाजुभाइ पनि छुट्टिएरै बसेका छन् । अंशबण्डा गर्दा करिब २ रोपनी बारी उनको भागमा पर्छ ।
अहिले १ रोपनी जग्गामा गोलभेडा खेती गरेर उनले केही कमाइ गरिरहेकी छन् तर यसको आम्दानीबाट उनलाई पुग्दैन । हाल उनी लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरिरहेको तीन महिने मोटर ड्राइभिङ तालिम लिइरहेकी छन् । तालिमपछि संस्थाले जागिरसमेत खोजिदिने बताएको छ । “तीन लालाबालाको सम्पूर्ण जिम्मेवारी मेरै काँधमा आएकाले सीप सिके कमाएर खान सक्छु भन्ने लागेको छ,” उनले भनिन् ।
फूलबारीकी यमकुमारी भुजेल उमेरले ३४ वर्ष पुगिन् ।
उनका १४ वर्षका छोरा र एक सानी छोरी छन् । श्रीमान् घरमै मिल चलाएर बसेका छन् । यो उमेरमा पनि जोस र जाँगरका साथ तालिममा बसेकी छन् उनी । “घरपरिवारको पनि हौसला छ,” उनले भनिन्, “सीप सिकेर पछि यसलाई नै पेसा बनाउँछु ।”
सीतामाया र यमकुमारी मात्रै होइनन्, स्थानीय हनुमान उच्च माविबाट कक्षा १२ उतीर्ण पात्लेखेतकी दीपिका तिवारी पनि ड्राइभिङलाई नै मुख्य पेसा बनाउने सोचमा छिन् । स्नातकमा भर्ना हुने तयारीमा रहेकी उनी यो पेसाप्रतिको नकारात्मक सोच हटाउन पनि आफू लाग्ने बताउँछिन् ।
“यो आम्दानीका हिसाबले पनि राम्रो पेसा हो,” उनले भनिन्, “बिहे गरेपछि पनि म श्रीमान्लाई सम्झाउँछु ।”
लक्ष्मी प्रतिष्ठानले पहिलो चरणमा ६८ महिलालाई ‘सेफ ड्राइभिङ तालिम’ दिइरहेको छ । चार वर्ष अवधिमा काभ्रेका ३ सय, सिन्धुपाल्चोकका १ सय ५०, नुवाकोट १ सय ५० र काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका ४ सय गरी १ हजार महिलालाई दक्ष चालक बनाउने लक्ष्य संस्थाको छ । प्रतिव्यक्ति ३० हजारका दरले तालिमभर ३ करोड खर्चको अनुमान गरिएको छ ।
सडक दुर्घटनामा मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको स्मृति बाबु विष्णु र आमा लक्ष्मी गौतमले लक्ष्मी प्रतिष्ठान गठन गरेका हुन् । २०६६ मा स्थापित प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निर्माण, युवा रोजगारीलगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।
दक्ष महिला चालक उत्पादन गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष गौतमले बताए । “चालककै कारण धेरै दुर्घटना हुने गरेका छन्, चालक दक्ष भए भने दुर्घटनामा कमी ल्याउन सकिन्छ,” उनले भने, “महिलाहरू इमान्दार र सजग हुन्छन्, त्यसैले दुर्घटना न्यून गर्न सकियोस् भनेर आफ्नै खर्चमा तालिम चलाएका हौं ।”
तालिमअन्तर्गत मार्सल आटर््स, अटो मेकानिक, ट्राफिक जानकारी, अंग्रेजी भाषाको समेत तालिम दिने गरिएको छ । “नेपालमा धेरै पर्यटक आउँछन्, चालकले अंग्रेजी भाषा नजान्दा धेरै समस्या हुने गरेको छ, त्यसैले यसको समेत कक्षा दिने गरेका छौं,” गौतमले भने ।
चालकका लागि छुट्टै पोसाकको व्यवस्थासमेत गरिएको छ । २०६९ फागनु २४ देखि उनीहरू ‘पर्फेक्ट’ भएर सडकमा देखिनेछन् । तालिमपश्चात् आत्मनिर्भर बन्ने उनीहरूले मासिक २५ हजारसम्म कमाउन सक्ने गौतमले बताए ।
सम्पत्ति बेच्दै सामाजिक कार्य :
Name : अध्यक्ष विष्णु गौतम
लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले आफ्नो सम्पत्ति बेच्दै सामाजिक काम गर्दै आएका छन् । सडक दुर्घटनामा परेर मृत्यु भएका दुई छोरोको स्मृतिमा स्थापित प्रतिष्ठानले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निर्माण, युवा रोजगारीलगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।
“अहिलेसम्म पाँचखालनजिकै अनेकोटको १४ रोपनी जग्गा बेचें,” उनले भने, “धेरै ठाउँमा प्रयास गरें तर कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग पाइनँ ।
अनेकोट गाविसको कार्यालयले मात्रै १ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।”
गौतमले सबैजसो सरकारी निकायमा सहयोगका लागि अपिल गरिसकेका छन् । गैरआवासीय नेपाली संघले उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उनले सहयोग रकम जुटाइरहेका छन् ।
अहिले जारी महिला ड्राइभिङ तालिमका लागि मात्रै ३ करोड लाग्ने अनुमान छ । यसैका लागि उनले ४ रोपनी जग्गा बेचेका छन् ।
“सहयोगका लागि धेरै निकाय पुग्यौं, हाम्रो अभियान र काम देखेर प्रशंसा गर्छन् तर सहयोग गर्दैनन्,” उनले दुखेसो पोखे ।
आफ्ना योजनाका फाइल बोकेर उनी राष्ट्रिय योजना आयोगदेखि सबै मन्त्रालय पुगेका छन् तर सबैतिरबाट रित्तो हात फर्किनुपरेको छ । “नेपालमा काम गर्नेले होइन, कागज तयार गर्नेेले पैसा पाउने रहेछन्,” उनले भने ।
नेपाली सेनाको २६ नम्बर बाहिनीले अटोमेकानिक तालिमका लागि प्राविधिक सहयोग गरेको उनले बताए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै