महिला हिंसा बढ्दै

काठमाण्डौ पुष १४,

निर्मला शर्मा ; नेपाली समाजमा महिलामाथि हुने चरम अत्याचार बेलाबखत चर्चमा आएर सेलाउने विषय हो । मानवीय संवेदनाले छुँदासम्म यसलाई गम्भीर ठान्ने र त्यसपछि क्रमशः यसलाई सामान्य मान्दै जाने चलन हामीकहाँ छ । त्यसमा पनि दाइँजो र उपहार संस्कृतिका कारण नेपालका कतिपय क्षेत्रमा छोरीलाई आगो लगाउनु तत्कालको आँसु झार्ने विषयबाहेक केही हुने गरेको छैन । 

बर्दिया, गुलरियाकी शिवा हासमीको हत्या कसले, किन गर्‍यो, आधिकारिक जानकारी दिइएको छैन । जलाएको कुरूप अवस्थामा अन्तिम वाक्य बोल्दाबोल्दै उनले जीवन त्याग गरिन् । प्रहरीले अहिले पनि 'अनुसन्धान जारी रहेको' बाहेक केही बताएको छैन । बारा, प्रस्टोकामा ट्युसन पढ्न गएकी एउटी किशोरी विन्दु ठाकुरको शव भेटियो । त्यो पनि जलाइएकै अवस्थामा । पुस ११ गते बिहान एसएलसीको तयारी गर्न भनेर ट्युसन पढ्न निस्किएकी विन्दुलाई पनि किन मारिएको हो, कारण सार्वजनिक भएको छैन । 

धेरै उदेकलाग्दा पक्षहरू छन् । नेपाल प्रहरी समाजसँग धेरै घुलमिल भएको प्रभावकारी सरकारी संयन्त्र मानिन्छ । घना बस्तीबीचमा एउटी छोरीको आगो लगाएर हत्या भएको हप्तौं हँुदा पनि हत्या कसले गरेको हो, प्रहरीले यकिनका साथ भन्न सक्दैन । मुलुकमा भएका जटिल र ठूल्ठूलो महत्त्व राख्ने घटनाको अनुसन्धान गर्नसक्ने मानिएको प्रहरी प्रशासन शिवा हासमीको हत्यारा पत्ता लगाउन असफल छ । यतिमात्रै होइन, ट्युसन पढ्न गएकी किशोरी जलाइएको अवस्थामा गाउँमा फेला परेको घटनाका दोषीसमेत समातिएका छैनन् । 

बारा, पर्साको सीमाबाट हुने ठूल्ठूला तस्करी रोक्नमा नाम कमाएको प्रहरी गाउँमा मारिएकी एउटी युवतीको हत्यारा समाउन सकिरहेको छ्रैन । यसको निचोड के हो भने बारा र बर्दियामा भएका ज्यादतीको अनुसन्धानमा देखिएको सरकारी उदासीनता प्रहरी प्रशासनको सामान्य लापरबाहीमात्रै होइन । नेपालको प्रहरी, प्रशासनभित्र लैंगिक रूपमा संवेदनशील अधिकारीहरूको खडेरी छ । एउटा घटना छ, कुनै बेला दोलखाका प्रजिअले आमाका नामबाट आफ्नो नागरिकता बनाउन आउने महिलालाई तिम्रो बाबु को हो भनेर पटक-पटक प्रश्न गरेका थिए । ती महिलाले 'मलाई यो प्रश्न नसोध्नुस्, म आमाका नामबाट आफ्नो नागरिकता मागिरहेकी छु,' भनेपछि उनी रिसाएर 'तिमी आकाशबाट झरेकी हौ' भनेर हप्काएका थिए । महिलाको भावनाविरुद्ध सजिलै मजाक उडाइएको घटना थियो त्यो । 

बोक्सीको आरोप लगाएर समाजमा मलमूत्र खुवाइएकी एक महिलाले हालै सार्वजनिक कार्यक्रममा आफूले प्रहरीबाट न्याय नपाएको आक्रोश पोखेकी थिइन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गरियो, मलमूत्र खुवाइयो, समाजमा कोही बिरामी भए उनले जिम्मा लिनुपर्ने धम्की दिइयो । यो ज्यादतीविरुद्ध उनी प्रहरीसमक्ष गइन् । तर प्रहरीले यो गाउँघरको विवाद गाउँमै मिलाउनु भनेर फिर्ता पठाइदियो । यस्तो छ लैंगिक संवेदनशीलताका दृष्टिले हाम्रो प्रहरी । यस्तो उपेक्षा र व्यवहारले के स्पष्ट गर्छ भने नेपालको प्रहरी प्रशासनभित्र महिलाविरुद्धको ज्यादतीलाई कतिपय अवस्थामा अपराधै नठान्ने र ठानिहाले पनि सामान्य अपराध मान्ने मनोवृत्ति हावी छ । त्यसकारण बर्दिया र बारामा मारिएका दुई छोरीमाथिको जघन्य ज्यादतीबारे अहिले पनि प्रहरी प्रशासन पकेटमार खोज्ने शैलीमा परिचालन भएको बुझ्न कठिन छैन । 

यसको नतिजा पनि विगतका झैं हुनेछन् अर्थात् परिवार र समाजले न्याय पाउने छैन । रोजगारीका लागि साउदी अरब गएकी भोजपुरकी एक युवती मंसिर ६ गते काठमाडौं र्फकने क्रममा त्रिभुवन विमानस्थलका कर्मचारीबाट बलात्कृत भइन् । जहाजबाट उत्रनासाथ विमानस्थलका कर्मचारीले उनलाई केरकार गरे । उनको गल्ती भनेको अर्कैको पासपोर्टमा दिल्ली हुँदै कतार जानु थियो । यसपछि उनीमाथि मनलाग्दी गरियो । पैसा लुटे, एउटा गेस्ट हाउसमा लगेर बलात्कार गरे । आज उनी बलात्कारीको भ्रूण बोकेर न्याय खोज्ने यात्रामा छिन् । पुस १२ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय त गरेको छ तर घटना अनुसन्धान गर्न विशेष जागरुकता देखाएको छैन । 

प्रचण्ड, सुशील कोइराला वा झलनाथ खनालले झापड खाँदा छानबिन आयोग बनाउने पुरुषवादी चिन्तनले ग्रस्त सरकार शिवा हासमी र विन्दु ठाकुरलाई आगो लगाएर हत्या गर्दा अनि भोजपुरे युवतीको इज्जत लुटिँदा कुनै समिति बनाउनसमेत आवश्यक ठान्दैन । यो नेपालको समग्र कर्मचारी प्रशासनमाथि लागेको कालो दाग हो । प्रहरी र अध्यागमनका केही कर्मचारीले त्यस दिन एउटी अनपढ महिलामाथि जस्तो ज्यादती गरे, त्यसले समग्र प्रहरी संगठन र नेपालका निजामती भनिने सरकारी कर्मचारीलाई लज्जित बनाएको हुनुपर्छ । वषौर्ंसम्म विदेशमा बसेर केही पैसा कमाएर नेपाल फर्किएकी एउटी चेलीलाई पैसा लुटेर बलात्कार गर्नुभन्दा गम्भीर अर्को अपराध के हुनसक्छ ? तर दल-दलमा विभाजित कर्मचारी संघ-संगठन मौन बसेर लाज छोप्न खोजिरहेका छन् । 

बलात्कारको अभियोग लागेका प्रहरी पर्शुराम बस्नेत पक्राउ परे पनि नायब सुब्बा सोमनाथ खनाल फरार रहेको सरकारी भनाइ छ । भारतको नयाँदिल्लीमा भएको सामूहिक बलात्कार काण्डविरुद्ध दिल्लीवासीले हालै गरेको विद्रोह, त्यसमा महिला-पुरुष सबै प्रतिकारमा सडकमा निस्किए । टेलिभिजनमा एक जना पुरुष भन्दै थिए, 'यो पशुवत व्यवहारलाई मृत्युदण्ड नदिने हो भने हिन्दुस्तानको सभ्यता सकियो । हामी हाम्रा छोरीहरू जोगाउन सडकमा आएका हौं ।' नेपालमा नागरिक समाज र अधिकारकर्मीहरूले जागरुकता देखाउन ढिला भइसक्यो । 

महिला मारिँदैछन्, बलात्कृत हुँदैछन् तर हामी चुप छौं । प्रहरी प्रशासनका लागि यो नियमित 'ड्युटी' को विषयबाहेक केही भइरहेको छैन । दलका युवा र महिला संघ-संगठनहरू, पेसाकर्मीहरूले बेलैमा यसको प्रतिवाद नगर्ने हो भने दिल्ली विद्रोहका एक सहभागीले भनेझैं हामीलाई पनि हाम्रा छोरीहरू जोगाउन मुस्किल पर्नेछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com