जिउंदालाई काठको घर मर्नेलाई इंट्टाको चिहान : By, Rajeshrumba Lama


चैतमासको घाम रनक्क रन्केको छ | जमिन भत् भत्ती तातेको छ | घर बाट यतै कतै निस्किन पनि बडो गारो |पसिनै पसिनाले लुछुरुक्क भिज्ने |शायद घर देश छाडी परदेश एसीको चिसोमा बस्ने बानीले होला यो ज्यानलाइ घरदेशमा घामपानी पनी लाग्ने| बल्ल बल्ल २ वर्षमा घर गाको ,२ महिना बिदा पाको त्यसै त्यो समयलाई घर्किन दिनुहुन्न भन्ने लागिरहेको थियो ।

 त्यसै समयमा भाई गाउँ बाट चितवन आइपुग्यो र "दाई जाउँ मेरो ससुरालीतिर घुम्न " भने पछि के खोज्छस् कानो आँखा भने जस्तो भो मलाई उसोर त घर बनाउनेको चपेटा त छदैंथ्यो । तर पनि बचेखुचेको केहि समयलाई सदुपयोग गर्ने मनसायले मैले "हुन्छ " भनिदिएँ ।आज जाने भोली फर्किने हिसाबले हामी चितवनबाट त्यस दिन ठिक १ बजे हेटौंडा हुँदै भाईको ससुराली बिरगंजतिर हुईक्यौं ।मैले आफूसंग भएको राम्रो मोबाईल सेट काठमाण्डौंमा भएको एउटा साहित्यिक कार्यक्रममा हराएकोले आफैले बुढीलाई ल्याईदिएको सेट ,डायरी ,कलम र क्यामरा ल्यापटप ब्यागमा बोकेको थिएं भने भाईले फेरफार गर्नु पर्छ भनेर केहि कपडा बोकेको थियो ।हामीले चितवनबाट पूर्व जाने अग्नी बस समात्यौं । 


हामी चढेको बसले अरु सवारी साधनहरुलाई उछिन्दैं अघि बढ्न थाल्यो ।बस चितवनको समथर भुभागलाई छाडेर मकवानपोरको मनहरी टेक्न पुग्यो । बसको झ्यालबाट झुलुक्क देखिएको मनहरी बजारलाई बसले छाडेर गए पनि मनले भने तत्कालै छाड्न सकेन । सम्झिएँ सानामा करिब दश बाह्र वर्ष अघि त्यो मनहरी खोलामा पौडिएको , बजारमा म:म खाएको । कति रमाईला थिए ती दिनहरु आज पनि ताजै छ यो मन अनि मस्तिष्कमा । गाडी भने एकनाशले हुईकिरह्यो । म भने मनको क्यामराले कुददै गरेका ती दृश्यहरुलाई हतार हतार कैद गर्दै मनकै डायरीमा हतार हतार लेख्दैथिएं । 

पर पर सम्म देखिएका मनमोहक दृस्य,डाँडा पखेरा अनि घना जंगल , सुकेका बगरहरू मेरो स्मृतीमा अनौठो आकृती बनाउँदै थियो । हामी चढेको बस पथलैयाबाट निजगट तर्फ लाग्ने हुदाँ हामीले हेटौडांमा ओर्लिएर सिधै बिरगंज जाने बस समात्ने निधो गर्यौं , बसको रफ्तार त्यति नै बढी थियो | बेला बेला भाइलाई केहि सोध्छु र केहि सल्लाह दिन्छु कान भाइ तिर तेर्साए पनि आँखा चाहिँ त्यसरी नै बाहिर तिर नै तन्केका थिए | कस्तो बिडम्बना ! ५,६ साल अघि जस्तो थियो सडकको गति अझै त्यस्तै थियो जहाँ तही भत्केर ग्राबेल छरपस्ट देखिन्थे भने गाडी त्यो माथि टेकेर दौड्नु पर्दा करनट लागे झैँ हुन्थ्यो भने धुलो उडेर बादल बन्थ्यो |सडक वरिपरिका बोट बिरुवा मासेर मानब बस्ति विस्तारले मकवानपुर जिल्लामा पनि गति लिएको रहेछ चितवनमा झैं भन्ने लागिरह्यो| दिनको ४ नबज्दै हामी हेटौडा आइपुगयौं र ओर्लियौं पनि हेटौडा बसपार्कमा । 

भाई बिरगंज जाने बस खोज्न थाल्यो भने म चाँहि त्यहि वरिपरि नै टहलिएँ । मकवानपुरको सदरमुकाम हेटौडां बजार वास्तबमै सुन्दर देखें । उतरि मोडमा हरियो बस्त्रमा थुम्काहरु हेटौडा बजार तर्फ फर्केर मुस्कुराई रहेका थिए भने पश्चिमी मोड तर्फ राप्ती बगेको थियो | उसो त मध्यमानचलको क्षेत्रीय प्रसासन हुनाले पनि यहाँ चारै तिरका मान्छेहरु आइपुग्ने गर्छन | ब्यबसायिक हिसाबले नि यो बजार निक्कै फस्टाउदो छ|किन कि पहाड र तराईको संगम हुनले पहाडको तराई र तराइको पहाड मान्छे मात्रै नभए सरसामान पनि पुग्ने र आइपुग्ने गर्छन | तर मानब बस्ति बिस्तार संगै मानबको बृदिले होला अन्य शहर झैं यो शहर पनि फोहोर बाट अछुतो रहन सकेन छ | 

जता ततै ढल फुटेर दुर्गन्धित थियो | बसपार्क नजीकै पारिजात दिदीको सालिक निर टोलाउदै थिएँ "दाइ दाइ गाडी पाइयो तर १० मिनेट पछी मात्रै जान्छ रे "भन्दै भाइ आइपुग्यो |ठिक्कै छ टिकेट लिनु र ससुरालीलाइ कोसेली केहि फलफूल किन्नु भनेर एक हजार भाइलाई थम्याई दिएँ दाइ भएको हैसियतले | किन कि हाम्रो रितिरिवाज अनुसार हामीले सगुन रक्सि र मासुको थोग्सें अर्थात सिदन लानुपर्थ्यो जुन् हामीले बोकेका थिएनौ । किन कि हामीहरु जांड रक्सी (त्यस्तो संस्कार)को बिरोधी थियो,भाइ "हस " भनेर किनमेल गर्न तिर लाग्यो । म भने एकहोरो पारिजात दिदीको सालिक भएतिर हेरिरहें । यस्तै बेलुकाको ४ बजेतिर बस छुट्यो त्यहाँबाट । 

शहर अति राम्रो तर सडक भने हेर्न नहुने ।गण्ड्याङ् गुण्डुङ सडकमा बस गुडिरहदाँ बस भित्रको यात्रुहरु सबै धामी कामे जस्तै देखिन्थें सायद बसले उफारेर होला । तराईतिर हुईकिने बस भएकोले होला बस भित्र प्राय सबै तराईबासी देखिन्थें । सायद काठमान्डौं देखिको यात्रा थियो तिनीहरुको त्यसैले सबैको आँखा राता र सबै थकित मुद्रामा देखिन्थे । हेटौडां बजार जसै छाड्यौं हरियाली जंगल हामीले समात्यौं । मरुभूमिमा ४ वर्ष बिताएकोले होला बालुवै वालुवा देखेका यी आँखाहरु ती हरियालीसंग सम्भोग गरेर निकै आनन्दित हुदैंथिए । केहि बेरमा स्खलित पनि भयो । बसको झ्याल आधा आधी खोलिएको थियो । तिनै आधा आधी झ्यालबाट रुखका सुकेका पातहरु र स्वच्छ हावा मेरो अधर चुम्न आईरहन्थ्यो । 

जसले मलाई झनै बढि आनन्दित बनाईरहेकोथ्यो । यस्तो लाग्यो मानौ मलाई यि वन जंगल खोलानाला हरुले मौन स्वागत गरिरहेका छन् । आफू एक्लै यसरी हराईरहदाँ भाईलाई बोर लाग्ला भन्ठानेर उनिहरुको बिहे कसरी सम्भव भयो? कसरी त्यति टाढाको केटी दुलही पाईस भनेर सोध्न थालें । दाई जस्तोले सोधिसकेपछि भाईले अलिक लजाउँदै आफ्नो राम कहानी सुनाउन थाल्यो। म भने कान भाईतिर र आँखा भने बाहिरको सुन्दर दृश्यावलकन गर्दैथें ।यतिकैमा चुरिया माईको मन्दिर देखियो। अरुले के के सोचे अर्थात सम्झिए ,मैले भने बसमा सवार सम्पुर्ण यात्रीहरुको यात्रा सफल रहोस भनेर आँखा चिम्लेर कामना गरें ।अब भने बसले चुरियामाईलाई पछाडी छाडेर अगाडी हुईकिन शुरु गर्यो । 

अलिक अगाडी बढे पछि कता कता के के डढेको जस्तो भनुँ डढेलोले सखाप पारेको वनका दाउरा घाँसपातको गन्ध नाकमा ह्वास्स आयो । गर्मीको मौसम त्यसमाथि तराईको वन त्यस्ता डढेलो त गैरहने।सम्बन्धित निकायले डढेलो रोकथामको लागि योजना बनाएर कार्यक्रमहरु कार्वन्यनमा ल्याउने हो भने केहि हदसम्म भए पनि नेपालका सुन्दर वनहरु मासिन र डढ्नबाट रोक्न सकिन्थ्यो होला तर यहाँ त्यस्तो चलन नै छैन । बरु आगलागी भैहाल्यो भने पनि त्यसलाई नियन्त्रणमा लिने कुनै प्रविधी नै छैन होला सायद नत्र डढेलो लागेको घण्टौं हुदाँ पनि डढेलो नियन्त्रणमा न आएको खबरहरु किन संचारमाध्यमहरुमा आईरहन्थ्यो र? झन त्यसमाथि वनका काठ ,वन पैदावरहरु चोरी,फडाँनीले त मुटु नै च्वास्स घोच्ने। सम्झदाँ पनि मुटु भटभटी दुखेर आउने।अब मेरो मात्र मुटु दुखेर के नै हुने हो र?" 

हरियो वन नेपालको धन " भनेर हामीले सानामा पढेको किताबमै सिमित रहने डर त यथावत नै छ ।जेजे भए पनि हाम्रो यात्रा रोकिएन ।हामी बढ्दै गयौं ।केहि समय पछि पथलैया पुग्यौं । त्यहाँको स्थिति देख्दा त झन् मेरो मात्र हैन नेपाली जो कोहि को पनि मन् दुख्छ सायद। जंगलको धेरै जसो भाग फडाँनी गरेर मानव बस्ती पो बसालेका रहेछन् अझ कतिपयले त खनजोत गर्न खेत बारी नै पो बनाईसकेछन् वन मासेर ।यो भन्दा दु:ख लाग्दो दृश्य अरु के हुन सक्छ र? यस्तो लाग्यो म कुनै शरणार्थी शिविरमा छु । यि सब दृश्यहरुलाई मैले मस्तिष्कको डायरीमा कोरें र पुन: बससंगै अगाडी आँखाहरु सोझ्याएं ।साँझको ५:०० बज्नै आँटेको हुदोँ हो हामीले जितपुरलाई चुम्यौं । 

केहि वर्ष अगाडी बिरगंज जादाँ हामीले दहि चिउरा खाएको बजार अहिले बजार भन्दा पनि बढि डम्पिङ साईट भए जस्तो पो देखें ।बजार पहिले जस्तो थिएन ।पुरै सुकुम्बासी टोलले ढाकेको जस्तो देखें । फोहरको त के कुरा गर्नु अझ ।गर्मी उस्तै। नेपालमा भए पनि यस्तो लाग्यो त्याहाँको रहनसहन र हावापानी मानौ म कतारमै छु न कि नेपालको कुनै भुभागमा । बसको यात्रा पनि यहि सम्मै मात्रै थियो । बिहानको खाना बाहेक पेटमा अरु केहि नहालेकोले पेटमा मुसाहरु दौडदै आन्दोलन गर्न थालिसकेको थियो । तिनिहरुलाई समयमै सम्बोधन गर्न सकिएन भने ग्यास्ट्रिक भन्ने समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै हामी दुवै दाजुभाई नजिकैको होटलमा पस्यौं र भुट्न र चिउराको साथमा एक एक् रेडबुल पियौं ।केहि राहत महशुस गर्योए पेटले ।

अब हामीले टाँगा पक्डिनु थियो भाईको ससुराली तिर लाग्न । त्यहाँबाट करिब २१ किलोमिटर पश्चिम (पर्सा जिल्लाको बनियार गाबिस) जानु पर्ने भएकोले हामी दुई भाई नजिकैको फोहर र हाँसको क्य्राङ् क्य्राङ सुघ्दैं ,सुन्दै टाँगा पर्खिन थाल्यौं । केहि बेरमा टाँगा पाईयो तर टाँगाको नियम अनुसार तीन जना यात्री नभैइ नजाने भएकोले अर्को एक्जना यात्रुको पर्खाईमा केहि बेर त्यो बजार नियालिरह्यौं । छिट्टै नै अर्को यात्री पनि पाईएकोमा हामी खुसी थियौं । मेरो आमाको घरको खोरमा भएको बोका जत्रो सानो गधालाई टाँगाको रुपमा प्रयोग गरिएको देख्दा मन कस्तो कस्तो भएर आयो ।असाध्यै माया लागेर आयो त्यो गधाको ।

जे जस्तो भए पनि आफ्नो गन्तव्यमा पुग्नुथियो त्यसैले मन् बुझाएँ ।घाम कतै खोल्सा भित्र पसेकोले अध्याँरोले आफ्नो साम्राज्य फैलाउन शुरु गरेको थियो भने बाटो पनि खाल्डाखुल्डीले भरिएकोले होला हामी उफ्रदैंथियौं टाँगामा। हाम्रो देशको हाईवेको स्थिति त दयनिय अवस्थाको छ भने त्यो त विचरा टाँगा कुद्ने बाटो न थियो धुलै धुलोले हामीलाई अबिर छरे जसरी स्वागत गर्दैथियो । हुन त त्यो गाँउ नै थियो यदयपी पक्की घर र बिजुली बत्तीले रौनकता थपेको थियो । यति खेरसम्म ब्यागमा भएको क्यामरा मौन बसेको महशुस गरें र हत न पत्त झिकेर उधोँ गैरहेको टाँगाको तस्वीर खिचिंहालें । जति जति भाईको ससुराली नजिक पुग्न थाल्यौं उति उति मेरो मनमा कौतुहलताले बास गर्दै गयो । 

आफूलाई त ससुराली भने पछि त्यसै त अनौठो लाग्ने त्यसमाथि भाईको ससुराली अझ त्यसमाथि हाम्रो सन्तानमै कसैको पनि आफन्त नभएको ठाउँको केटी दुलहीको रुपमा भाईले कसरी भेटाएछ भन्ने लाग्यो | सामान्य जानकारी पहिले नै भए पनि भाइलाई बुहारी संग सम्पर्क हुन कसरि सम्भब भयो ?भन्ने प्रश्न राखें | उसको भनाइ अनुसार रेडियो बिरगंज सुन्ने क्रम्मा र त्यहाँ केहि रचनाहरु सुनाउने क्रम्मा गीत फर्फाइस गर्न पाउथ्यो रे त्यहि बेला देखि रेडियो बिरगंज बाट एक अर्कालाई चिनेर नाम ठेगाना एक अर्काको पाएर पत्रमित्रता बाट सुरु भएको पछी बिबाहमा परिणत भएको रे | सुन्दा बडो रमाइलो कुनै फिलिमको कथा झैं लाग्थ्यो|आखिर मायाको अगाडी कसको के लाग्छ र चिन्दै नचिनेको मान्छे पत्रको भरमा एक अर्का हेटौंडामा भेट घाट गरि बुहारीले भाइलाई यही बाटो हिडाएर राता रात ल्याएको रे | 

अपरचित केटा ल्याई मध्ये रातमा छोरी आएको देखि सी सासु ससुराले भित्रै पस्न नदिएको कुराले मलाई झन फिलिम झैं लाग्यो | भनिन्छ नि छोराले आँटे बर्षदिन छोरीले आँटे एकैछिन'हो,त्यसै भएछ| "म् मरे नि छाड्दिन यो केटालाई म् बरु अहिले नै जान्छु मेरो कपडा दिउ "भन्दै बुहारी रोइ कराए पछी ससुरा बा रुँदै त्यसो नभन छोरी बरु आउ भित्रै लिएर भन्नु भएकोरे अनि राता रात आ आफै मासु भात बनाई खाइ बसेको रे | अनि सासु चाहिं अझै बोल्नु भएको थिएन रे | गफै गफमा हामीले ससुराली टोलमा पाईला टेकिसकेछौं । त्यो टोलको पहिलो +२ गरेकी तामाङकी छोरी भएकीले सबैले बुहारीलाई कुमारी लामा भनेर चिन्दा रहेछन् र त मधुर प्रकाशमा नि "उ कुमारीको लोग्ने आईपुगेछ" भनेर गुनुगुन गर्दैथे । त्यतिनै खेर एकजना अधबैशें लोग्नेमान्छे आंगनमा देखा पर्योह । 

भाईली ससुरा बा भनेर चिनाए पछि हाम्रो संस्कार अनुसार हामीले उहाँलाई ढोग्यौं र घरभित्र पस्यौं । घरमा १० वर्षको साला र १५ वर्षकी साली आमा बाबा मात्रै हुन्हुदों रहेछभने अरु २ जना सालाहरु म जस्तै वैदेशिक रोजगारीमा जानुभएको रहेछ । दिनभरिको बसको यात्रा त्यसमाथि टाँगाको घच्याक घुचुकले जिउ खुबै गलिरहेथ्यो । त्यसैले छिट्टै खाना खाईवरी हामी ओछ्यानमा पल्टियौं तर सुतेनौं । खासमा म त्यहाँ घुम्नकोलागि मात्रै गएको थिएन ।त्यहाँको तामाङहरुको स्थिती ,विगत र वर्तमान स्बै जान्नु थियो मलाई किनकी मलाई आफ्नो वशंजको बारेमा खोज अनुसन्धान गर्न र नयाँ कुराहरु पत्ता लगाउन खुब मज्जा लाग्छ ।त्यसैले नजिकै पल्टिरहनुभएको सासुससुरासंग म त गफिन पो थालें भाई भने निदाउन थाल्यो । 

उनिहरुले पनि विदेश बसेर आएको लाहुरे नै सम्झिए मलाइ र खुरु ख्रु आफ्नो वृतान्त सुनाउन थाल्नुभयो । उहाँहरुको भनाई अनुसार उहाँहरु २०३४ सालतिर सिन्धुपाल्चोकबाट त्यतातिर झर्नुभाको रहेछ ।उतिबेला जंगल फडानी गरेर जति सक्दो आफ्नो जमिन बनाउन पाउने रहेछ ।कतिले ती जमिनहरु आफ्नो नाममा पास् गरे भने कतिले त्यसै भोग चलन मात्रै गर्दै आईरहेका रहेछन् ।पासै नगरेको जमिनहरु पनि गठ्ठाको ४,५ लाखमा हारालुछ गरेर बिक्री हुदों रहेछ। लामो सुस्केरा हालेर "ज्वाँइ साब यति दु:ख गर्यौम कि भनेर के साध्य? तर यति दु:ख गरेर जोरेको आफ्नो भूमिमा शान्तले बस्न पाए नि सन्तोष हुन्थ्यो "भनेर उहाँले भनिरहनुहुदाँ कता कता मन फाटिएर आयो । प्राय जसो सीमा पारिका( भारतियाले)हरुले आएर खुबै दु:ख दिने गरेको पनि बताउनु भयो । 

कहिले त लुटपाट नै गर्ने रे । त्यो भन्दा नि ठूलो कुरा त २०६०, ६१ सालतिर यि पहाडेहरुलाई यहाँ बस्न दिन्हुन्न ,लखेट्नुपर्छ भनेर भाला ,लाठी लिएर आएको घटनाले अहिले पनि उहाँभित्र डर त्रास देखें ।त्यतिखेर आफ्नो भएको अन्न बाली, गाइबस्तु घर सबै छाडेर ज्यान जोगाउन भागेको अहिले जस्तै लाग्छ भन्दै हुनुहुन्थ्यो ।ज्यान जोगाउने क्रममै कहिले सैनिक ब्यारेक कहिले पहाड त कहिले जंगलमा रात बिताएर पछि घटना साम्य भएपछि घर फर्कदाँ कसैको के छैन कसैको के छैन रे । कतिले ज्यान गुमाए ,यस्तो कुराहरु सुनिरहदाँ मलाई म कुनै फिल्म हेरिराकोछु जस्तो लाग्यो । कति पीडा कति दु:ख कति वेदना त्यो आँखामा त्यो मनमा त्यो तनमा । म अवाक! रहें ।सुन्दा पनि आँखाहरु अनियन्त्रित भएर आँशुका ढिक्काहरु बगेर गएछ्न् ।

म मा अब त्यो भन्दा बढी सुन्न सक्ने क्षमता थिएन अथवा भनुँ त्यो भन्दा पछाडी गएर अतितलाई बल्झाएर म उहाँलाइ दुखाउन वा रुवाउन चाहन्नथें त्यसैले "अब सुतौं रात नि निकै वितिसकेछ।" भनें र ओछ्यानमा घुप्लुक्क पल्टें । त्यतिखेर रातको १ बजिसकेको थियो । पल्टिन त पल्टें तर आँखामा निदं परेको हैन । पटक पटक त्यो अघि भर्खर सुनेको कुनै फिल्मी कहानी झै लाग्ने यथार्थ घटना आँखामा कुनै काल्पनिक कथाबस्तु झै नाच्न थाल्यो ।कति कोशिस गरें निदाउन तर अहं पटक्कै निद्रा लागेन ।सायद नयाँ ठाउँ र ओछ्यान भएर पनि होला । आँखा भने चिम्मै पारिराखें । केहि बेर सुस्ताएं जस्तो लागेको थियो आँखा खोल्दा त सानी साली नानी हातमा चियाको गिलास बोकेर लजाउँदै उभिरहेकी रहिछिन्। म चियाको पारखी नपरेकोले "सरी नानी म मुख नधोई चिया पिउन्न ।" भनेर फर्काईदिएं । त्यस पछि उठें र मुख धुन थालें ।भाई त पहिल्यै उठेर मुखै नधोई हावा खादैं रहेछ । 

सानो साला बाबु भने हाम्रो लागि भनेर सकि नसकी नजिकैको निमको हाँगा भाँच्दै रहेछ दाँत माझ्नलाई । आफू त विदेशमा बस्दा पनि निम खुब मन् पराएर पानीमा उमालेर पिउने मान्छे खुब खुसी भएं । बिहानको नास्ता गरिवरि हामी दाजुभाई र साला केटा गाउँघरको भौगोलिक अवस्था बुझ्न हिडयौंसाथमा डायरी,कलम र ल्यापटप क्यामरा बोकेर । प्राय नेवारी र तामाङ र अन्य केहि जातीको बस्ती रहेछ भन्ने थाहापाएं केहि बेर डुलिसकेपछि ।सम्म परेको भुभागले गर्दा ट्याक्टर खेत खेतमै पुग्ने हुनाले सबैको खेतमा मकैका घोगा टिमुर सरी फलेका देखें ।

प्राय घरहरु भने सालका काठबाट बनेका रहेछन्। त्यस् गाउँको अलिक् पर बाक्लो सालघारी रहेछ भने त्यहि साल घारी पुग्दा नपुग्दै बौद्ध धर्मालम्बीको गुम्बा रहेछ । अलि माथि तिर हिन्दुहरुको दुइ वट्टा मन्दिर थियो|   गुम्बा नजिकै भने ईटाँका थुप्रा थिए । किन यतिका ईटाँ भन्ने प्रश्न मन्मा खेलिरह्य्यो तर सोधिन। हामी अघि बढ्दै गयौं । सायद गाउँलाई छाडेर जंगलको विचतिर नै पुग्यौं । त्यहाँ मैले अचम्म देखें। त्यहाँ ईटै ईटाँले बनेको माने( मान्छेको चिहान देखें । अचम्म यस अर्थमा लाग्यो कि त्यहाँका अधिकांश तमाङहरुको घर चाँहि काठको थियो तर चिहान भने ईटाँको बनेको थियो । मैले सोचें धनीहरुको चिहान होला ती भनेर तर साला केटा निकै बाठा रहेछन् ।

उन्ले भनिहाल्यो यहाँ मान्छे मरे पछि हरेक घरले रु १००० को दरले मर्नेको घरमा बुझाउनु पर्ने रहेछ ।हो त्यहि पैसाले ईटाँ खरिद गरेर माने बनाउँदा रहेछन् । अनि मलाई प्रस्ट भो त्यो गुम्बा नजिकै थुपारी राखेको इंट्टा यस्तै चिहानको लागि रहेछ भन्ने कुरा |हामी मन्दिर र गुम्बालाई पुन:एकपक दर्शन गरेर फर्कियौं ।फर्किदैं गर्दा हामीले एकजना वृदालाई बाटामा भेट्यौं ।उहाँ गाउँमा बैठक बस्ने भएको र त्यस्को सूचना दिन घर घरै हिड्नुभएको रहेछ। झन अचम्म लाग्यो यस्तो प्रविधिको युग छ सबको हात हातमा मोबाईल छ र पनि उहि २१ सयौं सताब्दिमा जंगबहादुरकैपालामा जसरी घरघरै उर्दी लगाउँदै हिडेको देखेर । मैले कौतुहलतालाइ रोक्न नसकेर सोधिहालें"बाजे किन यसरी बोलाउँदै हिड्नुभाको?" भनेर । 

बाजेले भन्नुभयो" यो काम गरे वापत मासिक १२० पाउँछु ,त्यसैले हिडेको।" भनेर् । मुखको दाँया पट्टी सुर्ती खाँदेर "लौ बाबु हतार भो अन्त नि जानु छ बोलाउन ।" भन्दै बुढा बाजे कुदिहाल्नुभो । हामी पनि भोक लागिसकेकोले हतार हतार ससुरालीतिर दौडियौं ।घाम चरक्क चर्किसकेको थियि त्यतिन्जेल सम्म।दिउँसोको २ बजिसकेको रहेछ खाना खाईवरी आराम गर्दा । घुम्नुपर्ने र बुझ्नुपर्ने जति बुझिसकेकोले हामीले त्यहाँबाट त्यहि दिन घर निस्कने निधो गर्यौं र विदावारी भयौं । दिउँसोको समय भएकोले ट्याक्टर,टाँगा केहि देखेनौं । केहि नदेखे पछि त्यो २१ किलो मिटर को यात्रा हामीले पैदल गर्यौं ।

जितपुर आईपुग्दा बेलुकाको ४ बजिसकेको थियो । त्यहाँ पुगेर खाजा खाएर एक किलो अंगुरकिनेर नारायणगढ जाने बसमा चढ्यौं र हुईकियौं पुन: हिजोकै प्राकृतिक मनोरम छटाँहरु हेर्दै ।गोधुलीमा घामलाई डाँडाले ननिल्दै हामी चितवनको आफ्नो घरमा पुगिसकेका थियौं । 

 राजेश रुम्बा लामा'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com