म कमेडियनका रूपमा चिनिन्छु। यद्यपि मैले सिरियस रोलबाट आफ्नो करियर सुरु गरें भन्ने कुरा धेरैलाई थाहा छैन। २१ वर्षअघि विराटनगरबाट काठमाडौं संघर्ष गर्न आउँदा महिलाहरूले हास्यव्यङ्ग्य गर्न सक्छन् भन्ने कल्पना पनि गरिदैनथ्यो।
महिलाको भागमा रोना-धोना नै बढी पर्थंे। २०४८ सालमा मैले 'कजरी' टेलिशृंखलामा काम गरेकी थिएँ। २० भागको यो टेलिशृंखलामा चुलबुले कजरी समयसँग गम्भीर बन्दै जान्छे र विवाह भएपछि व्यावहारिक महिला हुन्छे। यद्यपि अचानक उसको श्रीमान् मर्छ र ऊ सहाराविहीन हुन पुग्छे। टेलिशृंखला सकिँदा समाजसँग कसरी लड्छे होला भन्ने चिन्ता गर्दागर्दै त्यो शृंखलाको अन्त्य हुन्छ। यसमा एक वा दुई शृंखलाबाहेक कतै पनि हास्यरस छैन, मैले पहिलो पटक नै उक्त भूमिका निर्वाह गरेकी थिएँ।
दोस्रो पटक 'समय रोइरहे छ' नामको शृंखला गरें। उक्त शृंखलामा साहूको ऋण तिर्न नसकेका आमा-बुवाले ऋण तिर्न छोरीलाई साहूको जिम्मा लगाएको दुःखद् कथा छ। आमा-बुवाका लागि मन नपरेको बूढो साहूसँग एउटी भर्खरकी युवती कसरी विवाह गर्न राजी हुन्छे भन्ने कथा साह्रै पीडादायी छ। संयोग कस्तो हुन्छ भने जुन दिन उसले मन नलागि-नलागी साहूसँग विवाह गर्छे, त्यही राति साहूको मृत्यु हुन्छ। एउटी कुमारी युवती अचानक विधवा हुनुपरेको अर्को पीडादायी कथा यसमा छ।
सानो पर्दामा मात्र होइन, ठूलो पर्दामा पनि मेरो भागमा साहूको अन्याय सहन बाध्य युवतीको भूमिका पर्यो।
ती टेलिशृंखलाले राम्रो चर्चा पाएपछि ठूलो पर्दाको 'चाँदनी' मा मलाई पहिलो पटक नायिकाका रूपमा लिइएको थियो। त्यसको कथा पनि हुनेखाने वर्गले महिलामाथि गर्ने व्यवहारमै केन्दि्रत थियो। उक्त चलचित्रमा चाँदनीलाई साहूको छोराले जवरजस्ती गर्छ र गर्भ रहन्छ। गरिब आमा-बुवाले त्यही केटोसँग विवाह गरिदिन्छन्। मन नपरेको केटीसँग विवाह गर्न बाध्य भएको साहूको छोरोले चाँदनीमाथि कुटपिट गर्न थाल्छ र बच्चा खेर जान्छ। यस्ती असहाय युवतीको भूमिका मैले कसरी गरें हुँला अहिले सम्झँदा अचम्म लाग्छ।
अर्को चलचित्र 'घरसंसार' मा मैले बाँझी महिलाको भूमिमा निर्वाह गरेकी थिएँ। नेपाली सामाजमा बाँझी महिलाप्रति गर्ने व्यवहार र त्यसको प्रतिकार गर्न अपनाएको उपाय उक्त चलचित्रमा थियो।
ठूलो पर्दामा मात्र होइन, रेडियो नेपालका नाट्य कथाहरूमा पनि मैले एउटी थारु महिला धनियाँको भूमिका निर्वाह गरे पनि त्यसका विषयवस्तु गम्भीर हुन्थे। रमाइलो गर्दागर्दै श्रोतालाई गम्भीर बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हुन्थ्यो।
अहिले तीतो सत्यमा पनि हास्यरसभित्र हामीले धेरै गम्भीर विषय थाहै नपाई घुसाउनुपर्छ।
अहिले म हास्यकलाकारका रूपमा चर्चित छु। सुरुका दिनमा सिरियस रोल गरेरै म आजको स्थानमा पुगेकी हुँ। मेरो विचारमा कलाकारलाई हास्य वा रोदन भनेर छुट्याउन मिल्दैन। उ केवल कलाकार मात्र हो। दर्शकको मागअनुसार कहिले हास्य र कहिले सिरियस भूमिका निर्वाह गर्नुपर्छ। एउटा लेबल लगाइदिँदा उमाथि अन्याय हुन्छ कि ?साप्ताहिक
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै