काठमाडौँ, मङ्सिर ४ ,
राष्ट्रपति डा. रामवरण यादवले सूर्य देवता र छठी माताको उपासना गरी मनाइने महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
नेपालको विभिन्न जातजातिद्वारा मनाइने विभिन्न पर्वहरु नै समग्र नेपालको सांस्कृतिक पहिचान हुन् भन्दै उनले शुभकामना सन्देशमा यस्ता पर्वहरुले विभिन्न जात, धर्म तथा सम्प्रदायबीच आपसी मेलमिलाप र भाइचारा वृद्धि गर्दै आएको उल्लेख गरेका छन्।
धार्मिक सहिष्णुता र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुर्याइ आएको सन्दर्भमा राष्ट्रिय पर्वको रुपमा मनाइने छठ पर्व सांस्कृतिक रुपमा नेपालको परिचय बन्न सकोस् भन्ने कामना उनले गरेका छन्।
यसैगरी, प्रधानमन्त्री बाबुराम भट्टराईले पनि छठ पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा प्रधानमन्त्री भट्टराईले नेपालीहरूको मौलिक पर्वको रुपमा रहेको छठ पर्वले सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने बताउँदै यस्ता पर्वले सम्पूर्ण जात, धर्म तथा सम्प्रदायबीच आपसी मेलमिलाप र भाइचारा वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय सहमति र सहकार्य नै आजको अपरिहार्य आवश्यकता भएको भन्दै उनले यसबाट नै हाल राजनीतिक क्षेत्रमा देखिएको गतिरोधको अन्त्य भई देशले निकास पाउन सक्ने र नेपाली जनताको शान्ति र समृद्धिको चाहना परिपूर्ति हुनसक्ने विश्वास व्यक्त गरेका छन्।
यसैगरी, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश प्रकाशित गरी नेपालको सांस्कृतिक पहिचानको रुपमा रहेको छठ पर्वले विभिन्न जात, धर्म तथा सम्प्रदायबीच आपसी मेलमिलाप र भाइचारा वृद्धि गर्न सहयोग पुर्याउने उल्लेख गरे।
उनले सन्देशमा देशमा जारी विद्यमान राजनीतिक सङ्कटको समाधान गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्ष जिम्मेवारीपूर्वक लाग्न आग्रह गरेका छन्।
यसैगरी, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले छठको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनता र विशेष गरेर तराइमा बसोबास गर्ने सबै वर्ग, तह, समुदाय र जातिका जनताप्रति सुख, शान्ति, आपसी एकता, सद्भाव र समृद्धिको शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले सङ्क्रमणकालको जटिल मोडमा उभिएको हाम्रो देशमा संविधानसभाको अवसानपछि उत्पन्न राजनीतिक सङ्कटको समाधान नहुँदा राजनीतिक निकास र संविधान निर्माणमा गम्भीर जटिलताहरु उत्पन्न भएका छन् र राष्ट्रिय सहमतिको निर्माण गर्दै विद्यमान सङ्कटको समाधानतर्फ अगाडि बढ्नुको कुनै विकल्प नभएको बताएका छन्।
यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले जसरी छठमा निष्ठापूर्वक प्रकृति एवम् सूर्यको पूजा गरिन्छ, त्यसरी नै निष्ठापूर्वक निःस्वार्थ रुपमा राष्ट्र एवम् जनताको पक्षमा निर्णय गर्ने क्षमता नेपालका सम्पूर्ण राजनीतिक दल तथा नागरिकलाई छठ पर्वले प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
"व्यक्तिगत तथा पार्टीगत स्वार्थका कारण सिङ्गो राष्ट्र नै कठिन एवम् अन्यौलपूर्ण अवस्थाबाट गुजि्ररहेको सन्दर्भमा पारस्परिक एकता एवम् सहकार्य गरी प्राकृतिक महत्वका सार्वजनिक स्थलमा सामूहिक रुपमा मनाइने छठ पर्वले आपसी विश्वास, सद्भाव, सामूहिकता, एकता तथा निष्ठाजस्ता विषयमा महत्वपूर्ण सन्देश प्रवाहित गर्न सक्छ" उनले सन्देशमा उल्लेख गरेका छन्।
यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालीहरुको प्रेम पर्व भनी चिनिने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।
सन्देशमा उनले विशेष गरी तराइमा मनाइने छठ पर्वले हामी सबैलाई एकताबद्ध बनाउँछ र विविध धर्म, संस्कृति, चाडपर्व हाम्रा चिनारी हुन्, यसमा हामी गौरव गर्नु पर्दछ भनेका छन्। रासस