आज छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
जनकपुर मङ्सिर ४,
तराईवासी नेपालीको महान् चाड छठ पर्व आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिई सम्पन्न गरिँदैछ । जनकपुरको ऐतिहासिक गङ्गासागर, धनुषसागर, अरगजासर लगायतको पोखरीहरुमा आधा रातिदेखि नै श्रद्धालुहरु आ–आफनो पूजाको सामग्री लिएर घाटमा आएका छन् ।
अर्घ दिन घाटमा आफनो ठाउँ सुरक्षित गर्नका लागि आधा रातिदेखि नै श्रद्धालुहरु पुजन सामग्री लिएर घाटमा आएका हुन् । स्थानिय युवा क्लबहरूले जनकपुरको पोखरीहरु बेहुली झैँ सजाएका छन् । पारिवारिक सुख शान्ति ,कल्याण र रोगबाट तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा तराईको विभिन्न नदी तलाउमा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ ।
छठ मनाइँदै गरिएको जनकपुरका दर्जनौँ पोखरीहरुमा बजाइएका छठका लोकगीतहरूले जनकपुरमा भक्तिमय वातावरण बनेको छ । आज पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, पिठोको सख्खरसहितको लड्डु विभिन्न प्रकारका फलफुल, उखु, नरिबल बेसारको बोट र मिष्ठान्नलाई बासलेले बनाएको ढाकी,नाग्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।
व्रतालुले पानीमा बसेर भक्तिपूर्वक पूजा गरि अस्ताएको सूर्यलाई अर्घ दिएर दर्शन गर्छन् । यस कार्यमा उपस्थित परिवारका सदस्यले पनि अर्घमा दुध र गंगाजल हालेर अर्घ दिन सघाउँछन । रातभरि भजन किर्तनसहित छठ माई पुजाआजा गरि भोलिपल्ट सप्तमी तिथिमा उदाउदो सूर्यलाई दोस्रो अर्घ दिएर यो पर्व समापन गरिन्छ । छठ पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।