धरान पर्यटकीय सम्भावना बोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगोलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरू साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरूले यसको पर्यटकीय सम्भावनाहरूलाई देखाउँछ ।
धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरू, बाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायका युवराज चार्ल्स चढेको पहाड चार्ल्स प्वाइन्ट (भेडेटार भ्यू टावर) तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरूले धरानलाई पर्यटकीय केन्द्रको रूपमा विकास हुन सहयोग पुर्याएका छन् ।
धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरू र त्यहाँ लाग्ने मेला वराहक्षेत्र, विष्णु पादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पर्याएका छन् । त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्याएको छ ।
धरानबाट पूर्वी पहाडी जिल्लाका रमणीय ठाउँहरू धनकुटा, ताप्लेजुङ, कुम्भकर्ण हिमाल, कन्चनजंगा हिमाल, मकालु वरुण राष्ट्रिय निकुञ्ज, अरुण उपत्यका, तिनजुरे, मिल्के (लालीगुराँस क्षेत्र), गुफा पोखरी, सभा पोखरी, ह्यात्रुंग झरना आदिको प्रवेश मार्ग भएकोले पनि यसको पर्यटकीय महत्व उच्च रहेको छ ।
धरानका विभिन्न जाति जनजातिहरूका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पुर्याएको छ । राई जातिको साकेला नाच (उँधौली उँभौली पूजा), लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ्ग जातिको शेलो, गुरुङ्ग जातिको रोदीधर तथा क्षेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान महत्वपूर्ण थलोको रुपमा रहेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै