Interview with : सविता भण्डारी बराल, आयुक्त, सूचना आयोग


काठमाण्डौ कार्तिक २९,

कानुनी वातावरणले सविता भण्डारी बराललाई वकिल बनायो । चर्चित वकिल कृष्णप्रसाद भण्डारीकी छोरी तथा पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायकी भान्जी हुन् सविता ।

उनलाई यसरी परिचय गराउँदा अन्याय हुन्छ किनभने उनी आपंैmमा सुपरिचित कानुन व्यवसायी हुन् । उनी सूचना आयोगकी आयुक्त हुन् । सूचना आयोगलाई स्थापित गर्न उनले खेलेको भूमिका महवपूर्ण रहेको बताइन्छ । यिनै सेरोफोरोमा सवितासँग गरेको कुराकानी ः

० के गर्छ सूचना आयोगले ?
– जनताप्रति उत्तरदायी र नागरिकप्रति जवाफदेही बन्न सरकारले सूचना आयोग गठन गरेको हो । राज्यले तोकेको केही कुराबाहेक यसले नागरिकलाई सूचनाको हक दिलाउने काम गर्छ ।

० कसरी प्राप्त गर्ने सूचना ?
– आपूmलाई चाहिएको सूचना सम्बन्धित निकायको सूचना अधिकारीले उपलब्ध गराएन भने निवेदन, पुनरावेदन तथा उजुरी हालेर प्राप्त गर्न सकिन्छ ।

० सूचना दिलाउने मात्र काम हो आयोगको ?
– जनतालाई सुसूचीत गर्न सरकारले सूचना आयोग पहिलोपटक गठन गरेको हो । यसको काम सूचना दिलाउने मात्र होइन, सूचना कसरी अध्यावद्यिक भइरहेको छ त्यसको पनि अनुगमन गर्छ । पछिल्लो समय ऐनको दफा ११ लाई प्रयोग गर्दै विभिन्न अन्तरक्रिया, तालिम र छलफल पनि चलाउन थालेका छौं ।

० कति सूचना दिलाउनु भो जनतालाई ?
– सयभन्दा बढी सूचना हामीले उपलब्ध गराइसकेका छौं । त्यसमध्ये आधा फछ्र्यौट हुन बाँकी होला ।

० सूचना दिलाउन सहज भयो ?
– मन्त्रालयको एउटा कोठाबाट हामीले सुरु गरेका हौं । कोठामा एउटा कुर्सी थियो, हामी आयुक्तहरू पालैपालो बस्थ्यौं । सुरुमा त ऐनकै समस्या भयो । एक्लै अनुगमनमा जान्थें, त्यसबेला धेरै समस्या आउँथ्यो । तर अहिले विस्तारै स्थापित हुँदैछ । अब नयाँ मानिसहरू आए पनि अप्ठ्यारो पर्दैन ।

० सुरुका अरु अप्ठ्यारा ?
– ०६५ सालमा आयोग स्थापना भयो । कर्मचारीको व्यवस्था गरिएको थिएन । परिपाटी आफैंले बसाल्नुपर्ने चुनौती हामीसँग थियो । सुरुसुरुमा केही अप्ठ्यारा महसुस गरे पनि अहिले धेरै सजिलो छ । कर्मचारीको अभावले काम अघि बढाउन अप्ठ्यारो परेको थियो । तर अहिले सचिव, उपसचिवलगायत ३०÷३५ जना कर्मचारी छन् ।

० आयुक्त कसरी बन्नुभयो ?
– म पेसाले कानुन व्यवसायी हुँ, नेपाल बारको कोषाध्यक्षसमेत भइसकेकी हुँ । आयोगमा एक महिला अनिवार्य थियो । त्यसैले आयुक्त बन्नका लागि मलाई सोधियो, मैले तत्कालीन सभामुखसँग परामर्श गरेपछि हुन्छ भनें ।

० आयोग सूचनामैत्री भएन रे नि हो ?
– होइन, पत्रकारका लागि विशेष ऐन बनेर आयोग गठन भएको होइन । तर यो आयोग गठनका लागि पत्रकार महासंघले खेलेको भूमिकाको कदर गर्न भुल्नु हुँदैन ।

० कसरी कानुन व्यवसायी बन्नुभयो ?
– बुबा कृष्णप्रसाद भण्डारी कानुन व्यवसायी हुनुहुन्थ्यो । दुईजना मामाले प्रधानन्यायाधीशबाट अवकाश लिनुभयो । एकजना मामा अझै पनि सर्वोच्चमा न्यायाधीश हुनुहुन्छ । त्यो वातावरणमा हुर्केकीले कानुनी व्यवसायी बनें ।

० कहाँको रैथाने ?
– यो कुरा अलिक जिक्ज्याक छ । हजुरबुबा लमजुङको हुनुहुन्थ्यो, बुबा रौतहटमा जन्मनुभयो । म राजविराजमा जन्में, तर काठमाडौैंमै बाल्यकाल बित्यो । यहीँ शिक्षा–दीक्षा आर्जन गरें ।

० कहाँ अध्ययन गर्नुभयो ?
– कलेज ल क्याम्पसमा पढें, स्कुल चाहिँ थापाथलीमा रहेको महेन्द्र आदर्श र पछि नक्सालको महेन्द्र भवनबाट एसएलसी गरें ।

० छोराछोरी कतिजना हुनुहुन्थ्यो ?
– जम्मा पाँचजना हौं, दुई दिदीबहिनी छौं ।

० बहिनी पनि कानुन व्यवसायी नै हुनुहुन्छ ?
– होइन, उसको आप्mनै व्यापार व्यवसाय छ ।

० तपाईं चाहिँ कानुन पढ्न कसरी पे्ररित हुनुभयो ?
– यो मेरा अभिभावकको प्रोएक्टिभ सोच हो भन्ने लाग्छ । डाक्टर, इन्जिनियर बन्न पनि सकिन्थ्यो, तर बुबाले चार छोरापछि जन्मेकी छोरी भएकाले यसलाई वकिल नै बनाउँछु भन्नुहुन्थ्यो, म पनि त्यही एरियामा गएर अध्ययन गर्न थालें ।

० छोरीलाई कस्तो व्यवहार भयो ?
– केही कुरामा विभेद भएन, छोराछोरीलाई समान अंश दिइयो ।

० पढाइ कस्तो थियो ?
– औसतमा ठीकै हो । सानामा राम्रो नतिजा ल्याउँथे, कलेजमा पढ्न अल्छी लाग्थ्यो ।

० कलेजको पढाइ ?
– पुतलीसडकमा घर थियो, ल क्याम्पस नजिक भएकाले सरासर जाने, अध्ययन गर्ने र घर फर्किइन्थ्यो । कलेजमा धेरै बोल्दिनथें । सुवास नेम्वाङ, भरत उपे्रती, प्रकाश वस्तीलगायतका सरहरूले पढाउनु हुन्थ्यो । तर कलेज सक्न नपाउँदै विवाह भयो ।

० पे्रम विवाह हो ?
– होइन, मागी विवाह हो । विवाह भएको भोलिपल्ट मात्रै उहाँलाई राम्ररी हेरेकी थिएँ ।

० कसरी सम्भव भयो विवाह ?
– बाहुनको जेलिएको नाताबाट चिनापर्ची भयो । त्यसैको आधारमा हाम्रो विवाह भएको थियो ।

० त्यसबेला उहाँ के गर्नुहुन्थ्यो ?
– उहाँ मेडिकल डाक्टर हुनुहुन्थ्यो, तर अहिले उहाँ हुनुहुन्न ।

० के भयो ?
– क्यान्सरले बित्नुभयो । क्यान्सरको उपचार गरेर चार वर्षजति बाँच्नुभयो । त्यसपछि उहाँलाई बचाउन सकिएन ।

० छोराछोरी ?
– एक छोरा, एक छोरी छन् । छोरा अमेरिकामा इन्जिनियरिङ सकेर काम गर्दैछ । छोरी फिलिपिन्समा मेडिकल साइन्स पढ्दैछिन् ।

० कस्ता चुनौती आइलागे ?
– चुनौतीको त पहाडै आइलाग्यो । कमजोरी भनेर दयाको पात्र बन्न नपरोस् भन्ने कुरामा म संकल्पित थिएँ । तर माइती र घरको दरिलो साथ पाएपछि चुनौतीलाई पाखा लगाएँ ।

० छोराछोरीले बाबुको अभाव महसुस गरेनन् ?
– छोराले एसएलसी दिइसकेको थियो, छोरी ५–७ कक्षामा पढ्दै थिइन् । धापासीमा हाम्रो घर बन्दै थियो, आर्थिक अभावले गाँजेको थियो । यो अवस्थामा छोरीले बाबाको अभाव महसुस गरिन् । जसले गर्दा उनको पढाइमा असर परेको थियो । विस्तारै परिस्थिति सम्हालियो ।

० समाजले विभेद गरेन ?
– त्यसका लागि आपूmलाई भाग्यमानी ठान्छु । विभेदको महसुस मैले कुनै ठाउँमा गर्नुपरेको छैन । बुबाकै ल फर्ममा कानुनी अभ्यास गर्न पाएँ । यो अवस्था निर्माण गर्न मेहनत चाहिँ धेरै गर्नुप¥यो ।

० वकालतमा रोजिएको विषय के हो ?
– वकिल भएपछि रोजिएको विषय हुँदैन । वकिलका लागि सबै मुद्दा बराबर हुन् ।

० के हुने लक्ष्य राख्नुभएको छ ?
– न्यायाधीश बन्ने अफर आयो भने पनि नजान सक्छु । म वकालत पेसामै रमाउन चाहन्छु ।(नेपालब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com