सात महिला आरोही अफ्रिकाकै अग्लो हिमाल आरोहण गर्न जाने

काठमाडौं, कात्तिक २०,

 विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल सातजना 'समावेशी महिला आरोही' अफ्रिकाकै अग्लो हिमाल किलिमन्जरो आरोहण गर्न जाने भएका छन्। सन् २००८ मा सगरमाथा आरोहण गरेपछि उनीहरूले सात महादेशका सात उच्च शिखर पुग्ने लक्ष्य लिएका थिए।

 लक्ष्य पछ्याउँदै जाँदा उनीहरूले २०१० मा युरोप (रुसमा पर्ने) माउन्ट एल्ब्रस र अस्ट्रेलियाको उच्च शिखर २ हजार २ सय २८ मिटर अग्लो कोस्सिअस्ज्को हिमाल आरोहण गरेका थिए। आरोही शैली बस्नेतको संयोजनमा 'सेभेन समिट्स उमन टिम' नामको आरोहण दल आगामी फागुन १४ मा अफ्रिकातर्फ जाने छ।

किलिमन्जरो ५ हजार ८ सय ९५ मिटर अग्लो हिमाल हो। दलकी संयोजक बस्नेतले महिला शिक्षाबारे जनचेतना जगाउने उद्देश्यले आरोहणमा जान लागेको बताइन्। 'आउने फागुन १८ देखि २४ भित्र किलिमन्जरो आरोहण गर्ने कार्यक्रम बनाएका छौं,' उनले भनिन्, 'हामीसँग दक्षिण अफ्रिकाकी एक चलचित्र नायिका तथा तान्जानियाकी एक शिक्षिका र युवा अधिकारकर्मी पनि आरोहण गर्नेछन्। दुई महादेशका महिला मिलेर महिला शिक्षाबारे जनचेतना जगाउने उद्देश्यले आरोहणमा जान लागेका हौं।'

 दलमा बस्नेतसहित माया गुरुङ, पूजन आचार्य, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा र पेमाडिकी शेर्पा छन्। आरोहणका लागि ५० हजार अमेरिकी डलर खर्च लाग्ने टोलीले जनाएको छ। टोलीलाई गैरसरकारी संस्था चाइल्ड रिच, नर्थ फेस, विश्व खाद्य कार्यक्रमलगायत संघसंस्थाले सहयोग गरेका छन्। किलिमन्जरोपछि दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो एकोन्कागुआ आरोहण गर्ने उनीहरूले बताए।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com