धरौटी बुझाउन नसक्दा दुई भरिया डेढ महिनादेखि जेलमा

सिन्धुपाल्चोक, मंसिर ५

ध्रुव दंगाल - अदालतले तोकेको धरौटी बुझाउन नसक्दा रक्तचन्दन ओसारपसारमा संलग्न दुई भरिया डेढ महिनादेखि जेलमा छन्। साढे ६ लाख रुपैयाँ बुझाउन नसक्दा उनीहरूलाई जिल्ला कारागार चलान गरिएको हो।

 धरौटी रकम बुझाउन नसक्दा फुलपिङकट्टी-८ का ५३ वर्षीय प्रताप तामाङ र सोही गाविस-१ का बिर्खबहादुर श्रेष्ठ जेलमा परेका हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिगो बराबर जनही ६ लाख ६३ हजार ९० रुपैया" धरौटी बुझाएर तारखेमा रिहा गर्न आदेश दिएको थियो। रक्तचन्दनका मुढा बोकेर खासातिर ओसार्दै गर्दा उनीहरू भदौ अन्तिम साता रंगेहात पक्राउ गरेको थियो। विभागका उपसचिव महेश्वर ढकालको एकल इजालासले असोज २३ मा धरौटी राखेर तारेखमा मुक्त हुन आदेश दिएको थियो।

आदेशबमोजिम धरौटीबापत नगद वा जेथाजमानी राख्न नसकेपछि भरिया जेलमुक्त हुन सकेका छैनन्। प्रहरीले पहिचान गरे पनि रक्तचन्दन तस्करीका खास कारोबारी फरार छन्। आफूहरूले आर्थिक प्रलोभनमा चन्दन ओसारेकाले धरौटी रकम बुझाउने क्षमता नरहेको भरियाद्वयले बताउँदै आएका छन्। 'धरौटी राख्न नसकेपछि उनीहरूलाई निकुञ्जले जेलमा राख्ने पत्र दिएको हो,' जिल्ला कारागारका जेलर रमेश घिमिरेले भने। फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै भदौ ३० गते राति ५० भन्दा बढी भरियालाई बोकाएर रक्तचन्दन खासा लैजाँदै प्रहरी हस्तक्षेपका क्रममा उनीहरू पक्राउ परेका थिए।

अरु भरिया भने भाग्न सफल भएका थिए। रक्तचन्दन तस्करविरुद्धको अहिलेसम्मकै ठूलो यो प्रहरी कारबाहीमा परी हगाम-५ का २० वर्षीय बिवेक श्रेष्ठको ज्यान गएको थियो। तस्करले गोली प्रहार गर्दा प्रहरीले प्रतिरक्षामा नौ राउन्ड गोली चलाएको थियो। घटनास्थलबाट ७० मुढा रक्तचन्दन बरामद गरिएको थियो। रक्तचन्दनको परिमाण ६ टन थियो। बिर्खबहादुर कन्टेनर चालक हुन भने प्रताप मजदुर। ५ हजार रुपैयाँ दिने प्रलोभनमा आफूहरूले चन्दन ओसारेको भरियाद्वयले स्वीकारेका छन्। घटनामा प्रहरीमाथि गोली चलाएको अभियोगमा उनीहरूलाई हातहतियार तथा खरखजानामा मुद्दा पनि लगाएको छ। घटनामा तस्करले प्रहरीमाथि गोली प्रहार गरेका थिए।

गोलीका खोका बरामद गरेको थियो। तस्कर पक्राउ नपरेपछि प्रहरीले भरियालाई नै हातहतियार मुद्दा लगाएको हो। यो मुद्दाको फैसला हुन भने बाँकी नै छ। यो घटनाको मुद्दा दर्ता र हेर्ने काम गौरीशंकर संरक्षण क्षेत्रले हेरेको हो। मार्मिङ, फूल्पिङकट्टी, लिस्ति, घोर्थली, गुम्बा र तातोपानी गाविस गौरीशंकर भित्र पर्ने भएकाले यहाँ बरामद भएका वनस्पति र वन्यजन्तु सम्बन्धी मुद्दा हेर्ने अधिकार यसैलाई दिइएको छ। विभागले उपसचिव ढकाललाई अनुसन्धान अधिकृत तोकेर यो मुद्दा हेर्ने अधिकारी दिएको थियो। पौडेल धरौटीमा छुटे सोही घटनामा रक्तचन्दन तस्करको रुपमा मुछिएका फूल्पिङकट्टी गाविसका पूर्वअध्यक्ष ध्रुव पौडेल भने धरौटी बुझाएर रिहा भएका छन्।

पक्राउ परेको १५ दिनमै ३० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन्। चन्दन तस्करीमा पौडेलको पनि संलग्नता रहेको बयानपछि पौडेल पक्राउ परेका थिए। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई तीव्र राजनीतिक दबाब परेको थियो। दबाब थेग्न नसकेपछि प्रहरीले उनलाई खरखजना मुद्दा मात्र लगाएर धरौटीमा रिहा गरेको हो।

 'पक्राउ गर्दा पौडेललाई हातहतियार तथा खरखजनामा मुद्दा लगाउने तयारी थियो। राजनीतिक दबाब थेग्न नसकेपछि सरकारी वकिल कार्यालयले यसलाई परिवर्तन गरेर खरखजना मुद्दा मात्र चलायो,' प्रहरी स्रोतले बतायो। प्रहरी अनुसन्धानको क्रममा चन्दन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका उनले भदौ ३० मा भरिया-प्रहरी झडप हुँदा आफू घटनास्थलमै रहेको स्वीकारेका थिए। यो घटनापछि राजधानीमा लुक्दै आएका उनी कात्तिक १ गते हिन्दीस्थित घर फर्कने क्रममा अरनिको राजमार्गको बन्देउबाट पक्राउ परेका थिए। कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी त्यसै दिन रकम बुझाएर छुटेका थिए।

२०५४ मा एमालेबाट फुल्पिङकट्टी गाविसका अध्यक्ष जितेका पौडेलको नाम रक्तचन्दन, यार्सागुम्बाको तस्करी लगायत अपराधमा जोडिँदै आएको छ। यो घटनाको मुख्य तस्करको रुपमा पोलिएका ध्रुवका भाइ नारायण पौडेलसहित तीन जना भने अझै पक्राउ परेका छन्। नारायण रक्तचन्दनका पुराना तस्कर हुन्। उनीहरूलाई रक्तचन्दन तस्करीको 'मोस्ट वान्टेड' को सूचीमा राखेर खोजी गरिरहेको जिकिर प्रहरीले गरेको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com