धर्मशास्त्रको अपव्याख्या By Rudraprasad Pathak

असत्यमाथि सत्यको विजयको रूपमा होस् कि राक्षशी प्रवृत्ति विरुद्ध दैवीय प्रवृत्तिको जितको प्रसंगलाई जोडेर होस्, हिन्दुहरूले दसैंलाई परापूर्वकालदेखि नै महाकाली, महासरस्वती तथा महालक्ष्मीको पूजाआराधना गरी मनाउँदै आइरहेका छन् ।

हिन्दु धर्मावलम्बीले वेद, उपनिषद, पुराण, गीता, स्मृतिलाई अति नै श्रद्धा एवं विश्वासका साथ हेर्छन्, आदर गर्छन् । धर्मशास्त्रले भनेको विधिविधान अनुरुप आफ्ना व्यवहार संस्कार चलाउँछन् । तर कतिपय व्यवहार, संस्कार तथा संस्कृति भने हिन्दु धर्मशास्त्रले बताएको मान्यता एवं, धर्मशास्त्रको शाश्वत मान्यताभन्दा ठीक उल्टो रूपमा हिन्दु धर्मशास्त्रको गूढ रहस्य विपरीत हाम्रा व्यवहार, संस्कार तथा संस्कृति चलनचल्तीमा छन् ।

जुन व्यवहार, संस्कार तथा संस्कृतिले हाम्रो धर्मशास्त्रीय शाश्वत परम्परा, संस्कार र संस्कृतिमाथि प्रहारमात्र गरेको छैन, हिन्दु धर्मशास्त्रको गुदार्थ नबुझी बाहिरी अर्थ, स्वार्थ तथा अज्ञानताको पछि लाग्दा सामाजिक मूल्य-मान्यता, मानवता र हाम्रा धर्मग्रन्थमाथि नै प्रहार गरेका छन् । त्यसै मध्येको एक चलन पशुबलि पनि हो । हाम्रो धर्मशास्त्रले अहिंसाः परमो धर्मः माः हिंसा सर्वाणी मर्याणीः भनेर हिंसालाई अधर्म र अहिंसालाई धर्मको रूपमा व्याख्या गरेको पाइन्छ ।

हिन्दु धर्मशास्त्रको मूलग्रन्थ वेदको यस्तो वचन हुँदाहुँदै पनि हाम्रो चलन व्यवहारमा पशुबलिको नाममा प्राणी हिंसालाई धर्म मानी ईश्वरले सृष्टि गरेका लाटासिधा प्राणीलाई धर्म हुन्छ भन्ने नाममा होस् कि कामना पूर्ति गर्ने नाममा होस्, माता भगवतीले रगत भोग मनपराउनु हुन्छ भन्ने नाममा होस्, उनै माता भगवतीको मठमन्दिर, पीठ लगायत आआफ्नो घर-घरमा समेत पशुबलि दिइन्छ । जुन कुरा नै हिन्दु धर्मशास्त्रले बताएको पशुबलिको तथा विजयादशमीको गूढ रहस्यभन्दा भिन्न छ । अन्धविश्वास, रुढीवादी एवं सोचाइले हाम्रो धर्मशास्त्रीय वचनको घोर उल्लंघन भएको छ ।

 याः देवीः सर्वभुतेषुः मातृरुपेण संस्थिताः भनेर हामी उनै माता भगवतीलाई प्रार्थना आराधना गर्छौं । माता भगवती सम्पूर्ण चराचर जगत कि जननी हुन्, सम्पूर्ण प्राणीकी मातृवात्सल्य आमा हुन् भनेर आराधना गर्छौ । तर तिनै जननीका सन्तानलाई पशुबलिको नाममा तिनै देवीको मठमन्दिर, पीठ लगायत घर-घरमा हत्या गर्छौ, जुन कुरा नै हिन्दु धर्मशास्त्र विपरीत समाजले हाम्रो परम्पराले बोकेको विकृतिपूर्ण मूर्खतापूर्ण सोचाइको प्रतिफल हो । संसारमा रहेका अन्य प्राणीहरूमध्ये मानीस यस्तो प्राणी हो, जसमा अन्य प्राणीभन्दा भिन्न बुद्धि-विवेक र धर्म हुन्छ । जसको कारणले नै ऊ अन्यभन्दा फरक र सर्वोत्कृष्ट प्राणी ठहरिएको हो । यस्तो महत्वपूर्ण विशेषता भएको प्राणीबाट नै सबैप्रति दया, माया, स्नेह, परोपकार राख्नुको सट्टा देवी भगवतीले रगत भोग मनपराउनु हुन्छ, कामना पूरा गर्नु हुन्छ, धर्म हुन्छ भन्ने नाममा जुन निर्दोष पशुप्राणीको हत्या गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने कामना हुन्छ ।

पवित्र स्वच्छ र निर्मल मठमन्दिर कसाहीखानामा परिणत हुन्छन्, त्यसबारे नै वास्तवमा हिन्दुत्व बचाउन तथा हिन्दु धर्मशास्त्रले बताएको शाश्वत मान्यताको रक्षा गर्न, संस्कृतिभित्रका विकृति हटाउन एवं संस्कृतिको वास्तविक संरक्षण गर्न हरेक सचेत नागरिकले बोल्नैपर्ने बेला आएको छ । को धर्मोः दयायः विनाः वशुदैव कुटुम्बकम् भनेर मानिसलाई देवत्वको एक स्वरुपको रूपमा स्वीकारी उसबाट दैवीय कार्यहरू मानवता, सहिष्णुता, दया र प्रेमको अपेक्षा राखेको छ । जसले ब्रह्मतत्त्व बुझ्ने क्षमता पाएको छ, तिनै मानवले ईश्वरले पशुपन्क्षीलाई खानुहुन्छ, उनीहरूको रगत खोज्नुहुन्छ, हाम्रो कामना पूर्ति गरिदिन्छन् भन्ने नाममा पशुहत्या गर्नु व्यर्थ छ । जसले संसारका सम्पूर्ण चराचर जगतको रचना गरेको छ, जुन प्राणीको सृष्टि पालना र प्रलय गर्छन्, तिनै ईश्वरले पशुपन्क्षी खानुहुन्छ, उनीहरूको रगत खोज्नुहुन्छ भन्ने तर्क गलत हो ।

ईश्वर हामीबाट सद्भाव विश्वास, सहिष्णुता र भक्ति खोज्नुहुन्छ । सात्विकता तथा सत्कर्म खोज्नुहुन्छ नकि हिंसा, बरु हामीबाट हिंसक स्वभाव, काम, क्रोध, लोभ, घमन्ड, अहंकार, मोहको बलि खोज्नुहुन्छ अर्थात पशुत्वभावको बलि खोजेर आफ्नै स्वरुपमा ग्रहण गर्न चाहनुहुन्छ, नकि पशुप्राणीको हत्या । यसकारण के भन्न सकिन्छ भने हिन्दु घर्मशास्त्रले व्यक्त गरेको पशुबलिको मान्यता विपरीतको परम्परा हामी पशुबलिको नाममा मनाउन लागिरहेका छौ । जुन कुराको धर्मशास्त्रीय चिरफार सत्यतथ्य शाश्वत संस्कृतिका लागि सबैले चिन्तन-मनन गर्नुपर्ने आवश्यकता पर्न गएको हो । अहंकार बलं दर्पःकामं क्रोधः परिग्रहम्ः विमच्यः निर्मल शान्तो ब्रह्म भूयायः कल्पतेः । इहैव तैर्जितः सर्गो चेपां साम्ये स्थितंमनः निर्दोष हि सम ब्रह्मः तस्माद ब्रह्माणी ते स्थिताः।। देवी भगवतीले हाम्रो आकांक्षा पूरा गरिदिन्छन् भन्ने अज्ञानतापूर्ण तर्क गरेर हामी हिन्दु धर्मशास्त्रको मान्यता विपरीत झन् अन्धकारतर्फ धकेलिरहेका छौ । हिन्दु धर्मशास्त्रले मानवजीवन स्वयम्मा कर्मभूमि भएको र वासनामुक्त रहित भएर सत्कर्मले भरिपूर्ण हुने र त्यसैबाट मोक्ष प्राप्त हुने जीवन हो भनेको पाइन्छ ।

हाम्रो शाश्वत मान्यता भनेको नै निस्काम भावले सत्कर्मतिर अभिप्रेरित हुने हो । तर हामी देवी भगवतीसित भाकल गरेर मनोकांक्षा पूरा गरिदेउ भनी राँगा, बोका, हाँस, कुखुरा लगायतको हिंसा गरिरहेका छौ । यो अज्ञानतापूर्ण तथा विकृत संस्कृतिको घोतक हो । मनले चिताउने बित्तिकै कुनै कुरा प्राप्त हँुदै जाने र त्यो प्राप्त भएपछि पशु हिंसा गर्नुपर्ने भए यो संसार कर्म विनाको शून्यको अवस्थामा पुग्थ्यो । हिन्दु धर्मशास्त्रले निर्देश गरेको कर्मयोगको कुरा, धर्म, अर्थ, काम र मोक्षको कुरा नै उठ्दैनथ्यो ।

साधना तप र योगद्वारा मनुष्य जीवनलाई पापरहित, विकाररहित एवं शुद्ध निर्मल बनाउनु नै हिन्दु धर्मशास्त्रको गूढ रहस्य हो र पशुबलि पनि यसैसित सान्निध्यता राख्छ, नकि पशु हिंसासित । यसकारण पशुहिंसा गरेर पशुबलि हुन्छ भन्नु पशुबलिको ठीक उल्टो कुरा हो । हिन दुषयतेः यस्तु सर्वेहिन्दुरिति स्मृतः हिन्दु धर्मशास्त्रले मनको निग्रहबाट ज्ञान प्राप्त गरी ब्रह्मतत्त्व प्राप्त गरी सत्कर्म र सिर्जनशीलता गर्ने कुरा बताएको छ । हीन कर्मलाई वर्जित गरेको छ, नकि मनको आग्रह अनुरुपको कुराबाट मनोकांक्षा पूरा गर्ने । यसकारण भाकल गरेर मनोकांक्षा पूरा गर्ने कुरा पनि हिन्दु धर्मशास्त्र विपरीत छ । जसको परिवर्तन नै आजको आवश्यकता हो ।

मानवकल्याण, आत्मकल्याण तथा विश्व कल्याणको प्रवेशद्वार मनुस्य जीवन स्वयम् नै भएकाले यस भित्रको पशुत्वभाव हटाउन पशुबलि गर्ने धर्मशास्त्रीय वचन हो । यसकारण हामीमा भएको पशुत्वभावको कलेवर अर्थात काम, क्रोध, लोभ, घमन्ड, अहंकार हटाई आफूमाथि आफ्नै विजय गराई आफ्नो शाश्वत स्वरुपको दर्शन गर्नु नै पशुबलि अर्थात विजयादशमी र दुर्गामाताको सही पूजा हो ।इकान्तिपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com