समयअनुसार महिलाहरू परिष्कृत

समयअनुसार महिलाहरू निकै परिष्कृत भैसकेका छन् । उनीहरूले आफ्नो परिचयलाई विस्तृत बनाइरहेका छन् । उनीहरू अहिले सबैतिर छाइरहेका छन् र महिलाको परिभाषामै परिवर्तन ल्याइदिएका छन् । पुरुषहरूको वर्चश्वलाई विस्तारै कम गर्दैछन् । 

बल, बुद्धि एवं विवेकले कुनै पनि कामको समाधान खोज्न उनीहरू सबल बन्दै गएका छन् । महिलाहरूले आफ्नो पाइला सगरमाथासम्म पुर्‍याइसकेका छन् । त्यसैले पुरातन समाजले व्याख्या गरेको आनीबानी अब महिलाहरूमा लागू हुँदैन । एक ममतामयी आमा युद्धको अगुवाइ गर्न सक्छिन् । एक कर्मनिष्ठ श्रीमती फेसन शोको र्‍याम्पमा उत्रन सक्छिन् भन्ने कुरा उनीहरूले साबित गरिसकेका छन् । 

महिलाहरूले पनि पुरुषहरूले गर्न सक्ने सबैजसो काम गर्न सक्छन् । उनीहरू समयअनुसार चल्न थालेका छन् । अब उनीहरूलाई इच्छानुसारका सामान खरिद गर्न कसैले रोक्न सक्दैन । आफ्नै आर्जनले उनीहरू घर तथा गाडी खरिद गरेर कुद्न सक्छन् । आर्थिक रूपमा सम्पन्न महिलाहरूले आफ्नो जीवन धान्न कसैसँग हात थाप्नु पर्दैन । उनीहरू शिक्षित, सबल तथा विलक्षण प्रतिभाका धनी छन् । गृहिणीहरूले पनि घरमै बसेर स्वरोजगारको बाटो अपनाइरहेका छन् । 

प्रविधिसँग पनि उनीहरूको घनिष्ट सम्बन्ध छ । अधिकांश महिला कम्प्युटर चलाएर तथा हातमा मोबाइल घुमाएर संसारलाई आफै वरिपरि राख्न सक्षम छन् । मनोरञ्जनका लागि उनीहरू आफै कार्यक्रम बनाउँछन् । उनीहरूले आफ्ना लागि पनि स्पेस दिन थालेका छन् । समय व्यवस्थापन गर्दै उनीहरू आफ्नो ग्रुमिङका लागि पार्लर, क्लब, बुटिक तथा फेसन हाउस धाउन थालेका छन् । उनीहरू विविध प्रकारका व्यावसायिक तालिम लिन्छन् । 

समयसँगै मनमा लागेका कुरा तथा आफ्नो रहरलाई खुलस्त भन्न्ा सक्ने भएका छन् । बिस्तारै पारिवारिक कुसंस्कारलाई तोडेर स्वतन्त्र वातावरणमा सास लिन थालेका छन् । त्यसैले अहिलेका महिलाहरूको नामका पछाडि बी फाइभ जोडिन थालेको छ । धेरैजसो महिला बी फाइभ सर्वनामका लागि उपयुक्त छन् । आफ्नै अदम्य साहसले उनीहरूले आफ्नो छविलाई यसरी परिवर्तन गर्न सकेका हुन् । बी फाइभमा ब्युटिफुल, बि्रलियन्ट, बोल्ड, बिहेभियर तथा ब्रेभ समाहित छन् । 

यी पाँचै तत्व महिलामा अन्तर्निहित छन् । यिनै तत्वहरूले महिलाहरूको अस्तित्वमा परिवर्तन ल्याएको छ । सबैले महिलाहरूमा यिनै पाँच तत्व हेर्ने गरेका छन् । अहिले यिनै गुण भएकाहरूलाई पूर्ण महिलाको दर्जा दिइन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com