काठमाडौं, आश्विन २६ ,
बलराम बानिया :- उच्च प्रशासकहरू आफन्तलाई निजामती सेवामा प्रवेश गराउन पद र पहुँचको कतिसम्म दुरुपयोग गर्छन् भन्ने उदाहरण बनेका छन्, पूर्वशिक्षा सचिव रामस्वरूप सिन्हा र शिक्षा मन्त्रालयका बहालवाला सहसचिव सूर्य गौतम । सिन्हाले छोरी अन्तिमाकुमारी र गौतमले पत्नी इन्दिरालाई लोकसेवाले हालै लिएको शाखा अधिकृत (विद्यालय निरीक्षक) पदको परीक्षाको कापी आफैंले जाँचेर उत्तीर्ण गराएको खुलासा भएको हो ।
गैरकानुनी रूपमा सिन्हा र गौतमले छोरी र पत्नीलाई उत्तीर्ण गराउन प्रश्नपत्र परिमार्जनमा बसेको र आफैंले उत्तरपुस्तिका जाँची उत्तीर्ण गराएको अनुसन्धानबाट खुलेपछि लोकसेवाले बिहीबार दुवै जनाको परीक्षा रद्द गरेको छ ।
लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका २०६७ को अनुसूची १९ को उत्तर पुस्तिका परीक्षण गरी पठाउने अनुरोधपत्रको बुँदा नं. ८ मा परीक्षणकर्ताको नातेदारले परीक्षा दिए सिलबन्दीरूपमा उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्ने प्रावधान छ ।
'त्यो थाहा हुँदाहुँदै सिन्हा र गौतमले कानुनले लगाएको बन्देजको उल्लंघन गर्दै छोरी र पत्नीलाई उत्तीर्ण गराउन आफैंले उत्तरपुस्तिका जाँचे,' लोकसेवाका एक अधिकारीले भने ।
उनका अनुसार सिन्हा र गौतम छोरी र पत्नीलाई उत्तीर्ण गराउन नियतवश प्रश्नपत्रको परिमार्जनमा समेत संलग्न थिए । गौतम त्यस्ता व्यक्ति हुन्, जसलाई परीक्षा नियन्त्रण कार्यालयको निर्देशक हुँदा एसएलसी परीक्षाको नतिजा प्रकाशन पद्धतिलाई व्यवस्थित गराएबापत सरकारले अघिल्लो वर्ष २ लाख रुपैयाँ राशिको सबभन्दा ठूलो निजामती पुरस्कारसमेत दिएको थियो ।
उनीहरूले 'नियतवश नै उत्तरपुस्तिका परीक्षण गरेको भन्ने अर्थ गर्न सकिने अवस्था रहेको र प्रश्नपत्र परिमार्जनमा समेत संलग्न रहेबाट नियत सफा नरहेको' भन्दै आयोगले सूचना जारी गरी अन्तिामाकुमारी र इन्दिराको परीक्षा रद्द गरिएको जनाएको हो । आयोगले पूर्वसचिव सिन्हा र सहसचिव गौतमलाई कारबाही गरी कालोसूचीमा राखेको लोकसेवाका सहप्रवक्ता रविलाल पन्तले जानकारी दिए ।इकातिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै