काठमाडौ, आश्विन २५ ,
घनश्याम खड्गा :- बालिकाहरूका लागि आजको दिन ऐतिहासिक हुनेछ । किनभने तिनको उत्थानका लागि संयुक्त राष्ट्रसंघले आह्वान गरेको 'अन्तर्राष्ट्रिय बालिका दिवस' को यो पहिलो दिन हो । यो मनाउन विश्वभर विभिन्न कार्यक्रम हुँदै छ । त्यसमध्ये बालिकाहरूका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था प्लानले यसको उद्घाटनको दिन पारेर 'म बालिका भएकीले' भन्ने पाँच वर्षे विश्वव्यापी अभियानको पनि सुरुवात गर्दै छ । त्यसका लागि संसारका चार बालिका अमेरिकामा भेला भएका छन् ।
तिनकै हातबाट दिवसको औपचारिक सुरुवात हुँदै छ । तीमध्ये नेपालकी पनि परेकी छन् । गढुवा-६ मानपुर दाङकी उर्मिला चौधरी अहिले अमेरिकामा हुनुको मुख्य कारणै यही हो । गएको आइतबार अमेरिका उडेकी चौधरीले आफ्ना अनुभव महाशक्ति राष्ट्रमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राख्नेछिन् । उनलाई विश्वभरिका मिडियाले पछ्याउनेछन् । लेखपढ गर्ने र खेल्ने उमेरमा उनले भाँडा माझ्नुपर्यो, लुगा धुनुपर्यो र अनेकखाले घरेलु काम गर्नुपर्यो । २०६३ सालमा कमैया मुक्तिको आन्दोलन चक्र्यो । उर्मिलाले मालिक्नीको टेलिभिजनमा देखिन्, काठमाडौंमा कमैयाहरू अनशनमा बसेको ।
अनशनमा बस्नेको हुलमा उनले एउटा अनुहार पनि देखिन् । 'उनी मेरा दाइ थिए,' उर्मिला भन्छिन्, 'त्यो देख्नेबित्तिकै ममा अर्कै विचारहरू आउन थाले ।'
मालिक्नीसँग अनेक बिन्ती गरेर उनले दाजुलाई भेटिन् । १६ वर्षसम्म खोजखबर नहुँदा घरकाले त उर्मिलालाई मरिसकी भन्ने ठानेका रहेछन् । बहिनीलाई देखेर दाजुका आँखा रसाए, दाजुलाई देखेर बहिनीका । त्यसलगत्तै उर्मिला घर फर्किन् ।
गाउँमा कमलरी प्रथाविरुद्ध लहरै चलेको थियो । कमलरी बसेका थुप्रै बालिका उनीझैं घर फिरेका थिए । उर्मिलालाई स्कुल जान भनियो । कखरा केही नचिनेकी उनलाई प्लान नेपालले तीनमहिने बि्रज कोर्स गरायो । अनि एकैपटक उनी ५ कक्षामा भर्ना भइन् । धेरै पूर्वकमलरीहरू यसरी बि्रज कोर्स गरेर ५ मा भर्ना भएका थिए ।
पूरै विद्यालयका विद्यार्थीभन्दा कक्षा ५ का विद्यार्थी धेरै भए, ४ सय । ती सबलाई उछिनेर उर्मिला पहिलो भइन् । पहिलो वर्षमै उनले मारेको छलाङ अहिले पनि कायमै छ । उर्मिला अहिले १२ कक्षामा मुख्य विषय अंग्रेजी लिएर पढ्दै छिन् । एक जर्मन लेखिका नथाली स्विचभगरले उनका बारेमा हालै एक पुस्तक पनि लेखिन्, 'बेचिएकी केटी ।' निक्लेकै केही महिनामा १८ हजार प्रति बिकेको यो पुस्तक जर्मनीमा यो वर्षको सर्वाधिक बिक्री भएको पुस्तक ठहरियो । उर्मिलाले ५० हजार रोयल्टी पनि पाइन् । उनले आफ्नो कथा भन्दा अर्की किशोरी चासो दिएर सुनिरहेकी थिइन् ।
दाङबाटै आएकी उनको नाम थियो विष्णुकुमारी चौधरी । उर्मिलाझैं विष्णु पनि कुनै समय कमलरी थिइन् । उर्मिलाले झैं उनले पनि एकै पटक ५ कक्षाबाट शिक्षा सुरु गरिन् । उनी पनि अहिले उर्मिला पढ्ने उमाविमै मुख्य विषय अंग्रेजी लिएर ११ मा पढ्दै छिन् । विष्णुलाई चाहिँ प्लान स्पेनले 'बालिका भएकीले' अभियानको उद्घाटनका लागि बोलाएको छ ।
१ सय ४० देशमा फैलिएको प्लान इन्टरनेसनलले यी सबै देशहरूमा आफ्नो ५ वर्षे 'बालिका भएकीले' अभियानको उद्घाटन गर्दै छ । विष्णु स्पेनको अभियानमा जान चुनिएकी हुन् । उर्मिला चाहिँ अन्तर्राष्ट्रिय उद्घाटनमा अमेरिका जान छानिएकी हुन् । उस्तै भोगाइ र उस्तै जीवन बाँचेका शर्मिला र विष्णु दुवैका लागि अन्तर्राष्ट्रिय बालिका दिवस स्मरणीय हुनेछ । यी दुवैलाई संसारभरिका मानिसले सुन्नेछन् ।इकान्तिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै