नजिकिँदो चाडपर्वमा बढ्यो लुट-पाट

राजेन्द्र नाथ :- केही दिनअघि भारतको जयपुरबाट मजदुरी गरी घर र्फकने क्रममा आधा दर्जन नेपाली बीच बाटोमै लुटिए। दैलेख बरा-९ का निर्मल शाही, मिलन शाही, देउली-५ का भूपराज विक, सुर्खेत छिन्चुका भरत सोनी, जाजरकोट थला-८ का विरात विक र दैलेख भैरवस्थानका गंगा नेपालीको दुई लाखभन्दा बढी भारतीय रुपियाँ लुटिएको नेपाल प्रहरीको भनाइ छ। 

चाडपर्व नजिकिँदै जाँदा नेपालीलाई विश्वासमा पारेर नशालु पदार्थ खुवाई लुट्ने घटना बढ्न थालेका छन्। अहिले नेपालगन्ज नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली स्वदेश फिर्ने प्रहरीको अनुमान छ। बाँके प्रहरीले भारतीय सुरक्षा अधिकारीहरूसँगको समन्वयमा रूपैडिहा रेलवे स्टेसनमा निगरानी गर्दै आएको जनाए पनि त्यस्ता घटनामा खासै कमी आएको छैन। कामका लागि भारतका विभिन्न ठाउँ पुगेका नेपाली स्वदेश फर्किंदा नशालु पदार्थ खुवाएर सीमा नाकामा लुटिनु सामान्य भइसकेको छ। 

गत वर्ष दसैँ सुरु भएपछि नेपालगन्जको रूपैडिहा नाकामा मात्र त्यस्ता दुई दर्जनभन्दा बढी घटना भए। सुदूरपश्चिमका वनवासा र गौरीफन्टा नाकामा पनि यस्तै घटना दोहोरिने गरेका छन्। रूपैडिहा, गौरीफन्टा र वनवासा पश्चिम नेपालका भारत जाने प्रमुख नाका हुन्। लुटपाटका घटना पनि यिनै नाकामा बढ्दो छ। सीमामा नेपाली यात्रुमाथि भारतीय प्रहरीले सुरक्षा जाँचका नाममा गर्ने ज्यादती पनि उत्तिकै बढेको छ। काम गरेर फर्किरहेकाहरूको झोला खोलेर अनेक बहानामा पैसा झार्ने गरिएको छ। वनवासाबाट गड्डाचौकी पुग्दासम्म प्रहरी र भन्सारका पाँचवटा ब्यारयिल पार गरेर आउनुपर्छ। 

सबै ठाउँमा विभिन्न बहानामा रकम असुलिने र कमाएको पैसा तिर्दैमा सकिने गरेको यात्रुको अनुभव छ। रूपैडिहा नाकाबाट स्वदेश फिर्दा पनि त्यस्तै ब्यारयिल पार गर्नुपर्छ। मौसमी रूपमा भारत जाने नेपाली कामदारको क्षेत्रमा कार्यरत नेपालको प्रवासी सहयोग कार्यक्रमका निरीक्षक रमेशराज रेग्मीका अनुसार त्यस्ता ब्यारयिलमा सुरक्षाकर्मी पैसा झार्न ढुकेर बसिरहेका हुन्छन्। भन्छन्, "नेपाली यात्रुहरूको मानसिकता पनि अलिकति दिएर त्यस्ता झन्झटबाट पन्छिने खालको हुँदै छ। यस्तो मानसिकताले शोषण झनै बढेको छ।" मजदुरी गरेर घर फर्किनेहरूमाथि विभिन्न किसिमले लुटपाट हुने गरेका छन्। 

पहिलो त उनीहरू भारतीय परविहन निगमकै बसमा नशालु पदार्थ सँुघाएर लुटिन्छन्। २४ भदौमा दाङ, बिजौरीका खुमबहादुर थापा त्यस्तै हालतमा फेला परे। बाँकेस्थित सीमा प्रहरी चौकी जमुनाहाका इन्चार्ज महेन्द्र राना भन्छन्, "खबर पाएपछि हामीले रक्िसामा हालेर उपचारका लागि अस्पताल पुर्‍याउने गरेका छौँ।" त्यसबाहेक नेपाल प्रवेश गर्दा भारतीय भन्सार तथा प्रहरी पोस्टहरूले पनि अनावश्यक दुःख दिँदै पैसा झार्ने गरेको गुनासो नेपाली यात्रुको छ। बस, रिक्सा तथा टाँगाहरूले पनि तोकिएको भाडादरभन्दा बढी पैसा असुल्छन्। 

नेपाल प्रवेश गरेपछि पनि लुटपाटको शृंखला जारी रहन्छ। "भारतीय नाकामा जबरजस्ती लुट्छन् तर नेपाली नाकाका होटल तथा बस व्यवसायीहरूले नजानिने गरेर माया देखाउँदै लुट्ने गरेका छन्," सुर्खेत, रानीबासका हस्तबहादुर खड्का भन्छन्। यात्रु लुटपाटमा विभिन्न गिरोह सक्रिय छन्। तर, भारतीय प्रहरीबाट अपेक्षित सहयोग नपाउँदा घटना नियन्त्रण हुन नसकेको नेपाल प्रहरीको भनाइ छ। कतिपय घटनामा नेपालीहरू नै संलग्न भएको पनि पाइएको छ। यात्रुको भेषमा सँगैको सिटमा बसेर नक्कली माया र अपनत्व देखाउँदै नेपालीहरूले नै लुटेका घटना पनि धेरै भएको प्रहरीको भनाइ छ। 

दसैँमा घर फर्किंदा र तिहारपछि भारत जाँदाको पिक सिजनमा रूपैडिहा र वनवासा नाकामा मात्र लुटिएका र विभिन्न बहानामा शोषणमा परेका कम्तीमा पनि १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म नेपाली यात्रु प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्कमा आउने गरेको प्रवासी कामदारको क्षेत्रमा कार्यरत आईएनएफ नेपालले जनाएको छ। केही वर्षयता आईएनएफले लुटिएका नेपाली कामदारलाई उपचार र घर फर्किन टिकट काटेर सहयोग गर्दै आएको छ। "कानुनी जटिलताका कारण उद्धारका लागि हामी तत्काल भारतीय बजारमा पुग्न सक्दैनौँ," प्रवासी सहयोग कार्यक्रममा निरीक्षक रेग्मी भन्छन्, "सम्पर्कमा आएकालाई सहयोग गर्दै आएका छौँ।"नेपाल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com