काठमाडौ, आश्विन २४,
प्रजातान्त्रिक आन्दोलनका योद्धा रामहरि शर्माको बुधबार ९७ वर्षको उमेरमा निधन भएको छ । एकतन्त्रीय राणाशासनविरुद्ध प्रजा परिषद् पार्टी स्थापना गरेर संघर्षमा होमिएका शर्मा जिउँदा सहिदका रूपमा चिनिन्थे ।
वि.सं. १९९३ जेठ ३० गते काठमाडौंको झोन्छेस्थित सहिद धर्मभक्तको घरमा गोप्यरूपले शर्मा, टंकप्रसाद आचार्य र दशरथ चन्दले प्रजापरिषद् स्थापना गरेका थिए । त्यसमा आचार्य सभापति, चन्द उपभासभापति र शर्मा महामन्त्री थिए ।
प्रजापरिषद् गठनबारे राणाहरूलाई धेरैपछि मात्र थाहा भएको थियो । परिषद्ले भूमिगत रूपमा राणशासन विरुद्ध र प्रजातन्त्रका पक्षमा जागरण अभियान सुरु गरेपछि १९९७ कात्तिक २ गतेदेखि धरपकड सुरु गरिएको थियो ।
त्यसै क्रममा चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, आचार्य र शर्मा पक्राउ परे । पक्राउ परेकामध्ये दशरथ, शुक्रराज, धर्मभक्त र गंगालाललाई १९९७ माघ ६ गते मृत्युदण्ड सुनाइयो । माघ १० देखि १६ गतेसम्म राजधानीका विभिन्न स्थानमा लगेर मृत्युदण्ड दिइयो ।
आचार्य र शर्मालाई भने ब्राह्मण भएकाले राणाले मृत्यदण्ड दिएका थिएनन् । उनीहरुलाई चारपाटा मुडेर जात च्युत गरी आजिबन काराबास सजाय दिईएको थियो ।
परिषदको त्यो आन्दोलनलाई वीपी कोइरालाले समेत साथ दिएका थिए । गणेशमान सिंह परिषदका सदस्यसमेत थिए । सिंह, चुडाप्रसाद लगायत दर्जनौलाई त्यतिबेला आजिवन कारावासको सजाय र केहीलाई १२ बर्षको सजाय दिईएको थियो । त्यतिबेलै आजिवन काराबासको सजाय पाएका सिंह २००१ सालमा जेल तोडेर भागेका थिए । आचार्य, शर्मालगायत धेरै जना २००७ सालको जनक्रान्ति सफल भएपछि मात्र १० वर्षको कठोर सजायपछि रिहा भएका थिए । त्यसपछि पनि शर्माले देशमा प्रजातन्त्रको संस्थागत विकासमा संघर्ष गरेका थिए ।
कांग्रेस नेता कुलवहादुर गुरुङ र भिमबहादुर तामाङले शर्मा राणा शासनबिरुद्ध लड्ने क्रान्तिकारी नेता रहेको बताए । 'वीपी पनि उहाँहरुकै प्रेरणाबाट प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो', गुरुङले भने, 'प्रजातान्त्रिक आन्दोलनको उत्सकर्ष नेताका रुपमा उहाँ रहनुभएको छ ।' तामाङले ००७ सालको आन्दोलन र त्यसपछिका सघर्षमा समेत शर्माको उल्लेखनीय योगदान रहेको बताए । 'शर्माको इतिहास पंचायत प्रवेशगरेपछि छायामा परेको हो', तामाङले भने, 'राणशासनविरुद्ध क्रान्तिकारी आन्दोलनमा उहाूको अतुलनीय योगदान थियो ।'
उनको बुधबारै पशुपति आर्यघाटमा दाहासंस्कार गरियो । उनको पार्थिव शरीरमा छोराहरु अजय र रञ्जन शर्मा नेपालले दागवत्ती दिएका थिए ।
श्रद्धाञ्जलीका लागि माओवादी, कांग्रेस, एमालेसहितका नेताहरु आर्यघाट पुगेका थिए । मंगलबारसम्म स्वास्थ्यस्थित राम्रो रहेका शर्मा साझ अचानक विरामी भएपछि त्रिपुरेश्वरस्थित ब्लूकर्स अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालमै निधन भएको हो । उनका ५ छोरी, दुई छोरा छन् ।
यसैबीच कांग्रेस सभापति सुशिल कोइरालाले शर्माको निधन ले आफू दुःखी भएको जनाउदै समवेदना प्रकट गरेका छन । 'नेपालका जेठा राजनीतिज्ञ एवं जिउूदा शहीद शर्माको निधन ले मलाई स्तब्ध र दुखित बनाएको छ', कोइरालाले भनेका छन्, 'प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका संघर्षमा उहाँले निर्वाह गरेको भूमिका इतिहासमा सदा स्मरणीय रहनेछ ।स्रोत-इकान्तिपुर