५५-बर्ष पछी संसार देखिन चमेलिले

हेटौंडा, आश्विन २० ,

प्रताप बिष्ट  :- ५५ वर्षपछि उनले पहिलोपटक आमाको अनुहार देखिन् । आमासँगै बसेर पनि उनले आमा कस्ती छिन् भनेर ठम्याउन सकेकी थिइनन् । हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरेपछि चमेलीदेवी पासवानले शुक्रबार बिहान आमा जानुकादेवीलाई पहिलोपटक देखेकी हुन् । शुक्रबारअघिसम्म उनले देख्न सक्दिन थिइन् । दुवै आँखाको बुधबार शल्यक्रिया गरेर पट्टी झिकेपछि उनले संसार देख्न पाइन् ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका निर्देशक तथा आँखा रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डाक्टर सन्दुक रुइतले हेटांैडामा उनको आँखाको शल्यक्रिया गरेका थिए । शुक्रबार बिहान चमेलीदेवीको आँखामा लगाएको पट्टी डाक्टर रुइतले झिकेका थिए । छोरीले आँखा देखेपछि आमा जानुका हषिर्त हुँदै डाक्टर रुइतको हात समातेर 'तिमी भगवान् रहेछौं' भन्दै धन्यवाद दिइन् ।

 ५५ वर्षसम्म दृष्टिविहीन बनेकी महिलाको आँखाको ज्योति फर्काउन सकेकोमा डाक्टर रुइत पनि खुसी भए । 'यसरी संसार देख्न पाउँछु भनेर कहिल्यै सोचेकीसम्म थिइनँ,' चमेलीदेवीले खुसी हुँदै भनिन्, 'भगवान्ले हामीलाई पनि हेर्दारहेछन् । सबैको साथ सहयोगले आज यो उमेरमा मैले पनि संसार देख्न पाएँ ।' आमा र डाक्टरभन्दा पनि बढी खुसी चमेलीदेवी थिइन् । दृष्टिविहीन र बोल्न पनि समस्या भएकाले विवाह गरेको भोलिपल्ट उनी घरबाट निकालिएकी थिइन् । साइकल, घडी र भाँडाकुँडा दाइजो दिएर उनको विवाह गरिएको थियो ।

'आँखा नदेख्ने र बोल्न पनि नसक्ने भनेर दाइजो राखेर घरबाट भोलिपल्ट छोरीलाई निकालिदिए,' जानुकाले भनिन्, 'अहिलेसम्म आफैंले पालेकी छु, अब आँखा देखेपछि सजिलो हुने भयो ।' सामुदायिक आँखा अस्पताल हेटौंडाले बाराको सिमरामा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराउन जानुकाले चमेलीदेवीलाई हात समाएर ल्याएकी थिइन् । आँखाको परीक्षणपश्चात् चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भनेर उनीसहित सयभन्दा बढीलाई हेटांैडा ल्याएका थिए ।

रुइत सहितको टोलीले निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरेको हो । रुइतको नेतृत्वमा बुधबारदेखि शुक्रबारसम्म २ सय ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । यहाँ शल्यक्रिया गर्दा खर्च लाग्दैन । कुरुवालाई समेत बस्न र खान दिइन्छ भने घरबाट ल्याउने र पुर्‍याउने गरिन्छ । रोटरी क्लब र तिलगंगा आँखा अस्पतालको संयुक्त प्रयासमा २०६५ सालमा हेटौंडामा स्थापना गरिएको उक्त आँखा अस्पतालले हालसम्म १० हजारभन्दा बढीको निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरेर गुमेको ज्योति फर्काउन सफल भएको छ । इकान्तिपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com