साज सज्जाका साथ् विस्वभर विजय दशैंको उत्सव

काठमाडौ, आश्विन २७ ,

जितेन्द्र साह :- औपचारिक रूपमा वडा दसैं सुरु हुन केही दिन अघिदेखि हिन्दुहरू यसको तयारीमा जुटिसकेका छन् । विश्वभरि वैष्णवी देवी दुर्गा र अन्य देवीदेउताको पुजनको भव्य प्रतीक्षा भइरहेको छ । चाडपर्वको राज्य मानिने भारतको कर्नाटकको मैसुर र मादिकेरीको दसैंले त संसारमै ख्याति कमाएको छ । झिलीमिली बत्ती बालिएको ऐतिहासिक मैसुर दरबार र चामुण्डी पर्वतस्थित चामुण्डी मन्दिरमा पूजा हेर्न यतिबेला त्यहाँ पर्यटकहरू ओइरिन्छन् । त्यहाँ महानवमी र दशमीका दिन हात्ती, ऊँट र घोडा सहितको झाँकी निकालिन्छ । पूर्वशाही परिवारको यसमा विशेष सहभागिता हुन्छ ।

हिन्दुदेवी चामुण्डेश्वरीले राक्षस महिसासुरलाई सखाप पारेको खुसीयालीमा यो पर्व मनाइने धार्मिक मान्यता पनि छ । महिसासुरको नामबाट यो भारतीय सहरको नाम मैसुर भएको हो । त्यहाँको रूख र गल्लीको भव्य साजसज्जा गरिन्छ । संगीत, नृत्य, पुत्ला र फूल शो, कुस्ती, फुड र फिल्म फेस्टिभलको आयोजना हुन्छ । भारतकै अर्को राज्य तमिलनाडुमा दसैंमा लक्ष्मी, सरस्वती र शक्ति स्वरूपाको पूजा गरिन्छ । यस अवसरमा यहाँको कुलसेरा पटनममा १ लाख ५० हजार गाउँले पूजाका लागि भेला हुन्छन् ।

 संसारका कुनाकुनामा यो उत्सवको व्यग्रतासाथ पर्खाइ हुन्छ र माता दुर्गालाई असीम श्रद्धाका साथ पुजिन्छ । अब विश्वको कुनै कुनामा पुगिए पनि दसंै मनाउनेहरूले पीर मान्नुपर्ने स्थिति रहेन । बहुसंख्यक बंगाली हिन्दुको बसोबास भएको त्रिपुरा र पश्चिम बंगाल राज्यको यो सबभन्दा ठूलो चाड हो । यतिबेला पूरा सहर र गाउँमा ढोलकको संगीत गुन्जिरहेको हुन्छ । बंगालको कोलकाता, कोनागर, सिलिगुढी, कुचबिहार, चान्दुली, लातागुरी र जलपायगुढीमा दुर्गा पूजाको रमझम हुन्छ । पूरा साजसज्जा र शृंगारका साथ दुर्गा देवीको विभिन्न भोजन सामग्रीका साथ आराधना गरिन्छ । बंगाली समाजले यसलाई महत्त्वपूर्ण सामाजिक-सांस्कृतिक दिनका रूपमा मनाउँछ । दुर्गा पूजासँग जोडिएका थुप्रै बंगाली फिल्म, एल्बम र पुस्तक यस बेला सार्वजनिक गरिन्छन् । घर र रेस्टुरेन्टमा भेला 'अड्डा' को आयोजना गरी रमाइलो गरिन्छ ।

पण्डालमा पुजोर गान (पूजागीत) मा मित्र र परिवारजन मस्त हुन्छन् । उनीहरू रातै टीका र अबिरमा पोतिएर ढोलकको तालमा नाचिरहेका हुन्छन् । त्यहाँ पनि टीभी, रेडियो र पत्रपत्रिकाले यो पर्वलाई विशेष महत्त्व दिएर सामग्रीको प्रकाशन र प्रसारण गर्छ । यो समुदायमा छोरीचेलीलाई दुर्गा शक्तिको प्रतिनिधिको रूपमा मान्ने चलन छ । नारीलाई यस अवसरमा देवीको रूपमा पूजा र सम्मान गरिन्छ । भारतको दिल्ली, उत्तरप्रदेश, महाराष्ट्र, गोवा, गुजरात, पञ्जाब, कश्मिर, आन्ध्रप्रदेश, कर्नाटका र केरलामा पनि दसंैको धुम हुन्छ । उत्तरी भारतको धेरैजसो ठाउँ र महाराष्ट्रको केही भागमा विशेषगरी रामको सम्मानमा दशहरा मनाइन्छ । रामायणमा आधारित नाटक 'रामलीला,' परेड, मेला, र्‍याली र प्रदर्शनी गरिन्छ । दशहरापछि गर्मीको अन्त्य मानिने यो प्रदेशमा रावण र उनका सहयोगी भाइहरूको पुत्ला दहन गरिन्छ । हिमाचल प्रदेशको 'कुलु भ्याली' दशहराका लागि चर्चित छ ।

दक्षिण भारतमा चामुण्डेश्वरी (दुर्गा) र उसको सहयोगी देवीहरूको इन्द्रधनुषी पुत्लाको प्रदर्शन गरिन्छ । अन्य देवीहरूले दुर्गालाई शक्ति दिएर आफैं मूर्ति भएर बसेको हुनाले उनीहरूको सम्मान गरिन्छ । कर्नाटक, आन्ध्रप्रदेश र तमिलनाडुका घरघरमा यो पुत्ला हेर्न आउने महिलालाई प्रसाद, कुमकुम र सानो झोलामा उपहार दिइन्छ । यस बेला त्यहाँ शिक्षा लगायत नवीन कार्यको आरम्भ गरिन्छ । सन् २००४ देखि केरलाका चर्चहरूले पनि बालबालिकालाई कखरा सिकाउने दिनका रूपमा दसैंलाई रोज्न थालेका हुन् । तेलुगु परिवारमा दसैंले विशेष महत्त्व राख्छ । यो दिन तेलगांना क्षेत्रमा फूलको बोटको पात ठूलाबडालाई शुभकामनाको रूपमा दिएर आशीर्वाद लिने परम्परा छ । महाराष्ट्रमा एकअर्काको घरमा यतिबेला मिठाई बाँड्ने चलन छ । उनीहरूले कोइरालोको बोटलाई पूजा गर्छन् । यसको पातलाई सुन, उज्ज्वल र सफल भविष्यको प्रतीकको रूपमा अरूलाई दिइन्छ । उडिसामा पनि दस दिनसम्म दुर्गा र उनका सहयोगी देवीदेउताको पूजा गरिन्छ ।

देवीहरूलाई यतिखेर दही, भात, रोटी, मिठाई र तारेको माछा चढाइन्छ । देवीको प्रतिमा बिर्सजनपछि यहाँ रावणको पुत्ला दहन गरिन्छ । संसारभरि आफ्नो मुलुकको ऐतिहासिक र धार्मिक महत्त्वसँग जोडेर यो पर्व मनाइन्छ । भारतको स्वतन्त्रता संग्रामका बेला सुधारवादी हिन्दुहरूले दुर्गालाई भारत माताका रूपमा प्रस्तुत गरेपछि उनी स्वतन्त्रता आन्दोलनको 'आइकोन' बनेकी थिइन् । बंगलादेशमा देशभरि हजारौं पूजामण्डप तयार गरिन्छन् । विजया दशमीमा बंगलादेशमा राष्ट्रिय बिदा हुन्छ । ओमान, जर्मनी र सिंगापुर र मलेसियामा उत्तिकै उल्लासका साथ दशमीको स्वागत हुन्छ । अस्टे्रलियाको सिड्नी, मेलबर्न र पर्थमा यति बेला भव्य कार्यक्रम आयोजन गरिन्छ ।

साजसज्जा गरिएका पण्डालमा दुर्गाको कलात्मक प्रतिमा स्थापित गरेर शुभकामना आदानप्रदान गर्दै यो उत्सव मनाइन्छ । पश्चिम लन्डनको इअलिङ टाउन हलमा दुर्गा पूजाको भव्य आयोजना हुन्छ । यो उपमहाद्वीप बाहिर केही वर्षयता मात्र यसको विस्तार भएको हो । अमेरिकाको न्यू जर्सीको समरसेट, फिलाडेल्पिmया, डल्लास, फ्लोरिडा, भर्जिनियाको ग्रेटर रिचमन्ड, कोलोराडो, हस्टन, ग्रेटर सिटल, पिट्सवर्ग, मेडिसन, मिनेसोटा, वासिङ्टन डिसी, न्युयोर्क, अटलान्टा र सिकागोमा सामाजिक एवं धार्मिक संघसंस्थाले मौलिकताका साथ यो पर्वको आयोजना गर्छन् ।

भारतीय र नेपाली पारामै त्यहाँ भोजन, जातीय पहिरन, गहना, पुस्तक र म्युजिक डीभीडको स्टल सहित सांस्कृतिक कार्यक्रम हुन्छ । बेलायतको लन्डन, क्याम्बि्रज, कार्डिफ, वेल्स, म्यानचेस्टर, जर्मनीको कोलोन, बे्रइमन, स्टुटगार्ट, रुसको मस्को र प|mान्सको पेरिससम्म यसको विस्तार भएको छ । इन्टरनेटमा उपलब्ध विभिन्न अनलाइन सेवा र वेबसाइट मार्फत यी पुजनस्थलबारे जानकारी पाउन सकिन्छ । त्यहाँ नेपाली, भारतीय र बंगलादेशी लोकधुन, भजन र नृत्यमा झुम्दै दसैं मनाउँछन् । (एजेन्सीहरूको सहयोगमा)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com