काठमाडौ, आश्विन २७ ,
उनले आफ्नो एक्काइस बर्षको जोवन सम्झे । द्वन्द्वकालमा सिपाहीको जागिरे टीका बमजन नगरकोटमा एउटा मुठभेठबाट फर्किंदै गर्दा चिप्लिएर लडे, करेन्ट सहितको ब्यारेकको तारमा अल्झेर उनको दुवै हात काट्नुपर्ने भयो । त्यतिन्जेल उनी गीत लेख्ने, गाउने र संगीत गर्ने भइसकेका थिए ।
'अस्पतालमा हात काटिएको बेला मैले जीवनको अति महत्त्वपूर्ण गहना गुमाएको पीडाबोध गरें,' हालैको बिहान भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एभरेस्ट वल्र्ड रेकर्ड लगायत तीनवटा अवार्ड थापिरहेको बेला तिनै टीकाले भने, 'तर हरेश खाइनँ, हातको सट्टा मुख चलाउन थालें ।
'
हो, दुवै हात गुमाएपछि उनले मुखबाटै अनगिन्ती गीत लेखे । सर्लाहीका टीकाले आफंैले संगीत पनि गरे अनि गाए, निकाले पाँचवटा एल्बम । पहिलो आधुनिक नेपाली गीति एल्बममा उनले आफ्नै मनको बह पनि पोखाएर लेखे र नाम राखे- 'कस्तो भाग्य' । त्यसपछि लगातार 'प्रेमिका', 'बिँडी चर्को छ' -लोकगीति एल्बम), 'सस्तो माया' र राष्ट्रिय भावका गीत समेटेर 'पर्यटन वर्ष २००२' एल्बम निकाले ।
सिर्जनालाई कुनै पनि बाधाले छेक्दैन भन्ने उनीबाट पुष्टि हुन्छ ।
हात गुमाएपछि उनी मुखमा कलम च्यापेर लेख्छन् । मुखले लेखेर रचना कर्म गरेबापत मंगलबार उनलाई एभरेस्ट वल्र्ड रेकर्डसँगै भारतबाट युनिक वल्र्ड रेकर्ड र मिराकल वल्र्ड रेकर्ड दिइएको हो । अनौठो तरिकाबाट प्रतिभा प्रदर्शन गरेबापत उनलाई यी रेकर्ड प्रदान गरिएको हो । यी सबै रेकर्ड जापानका लागि पूर्वनेपाली राजदूत डा. गणेश योञ्जनले उनलाई हस्तान्तरण गरे ।
'जस्तोसुकै बाधा अड्चनमा पनि प्रतिभा हराउन सक्दैन भन्ने उत्कृष्ट नमुना हुन् टीका,' योञ्जनले भने, 'टीकाको साहसबाट सबैले सिक्नुपर्छ ।'
उनलाई हौसला दिन तामाङ कलाकार संघले अवार्ड वितरण कार्यक्रम गरेको थियो, संगीतकार प्रदीप बमजन, चन्द्रकुमार मोक्तान लगायतले उनलाई गिनिज बुक रेकर्डका लागि अघि बढ्न हौस्याए । 'पाँचवटा एल्बम निकालेर पनि उनी चर्चाको पछिल्तिर दौडेका छैनन्,' संघका अध्यक्ष समेत रहेका संगीतकार चन्द्रकुमार दोङले भने, 'आफ्नै तरिकाले निरन्तर अघि बढिरहेका प्रतिभालाई उत्साह दिन खोजेका हौं ।' उनलाई वितरण गरिएका अवार्डहरू भने उनको प्रतिभाको प्रशंसा गर्दै आयोजकहरूले अनलाइनबाट पठाएका हुन् ।
कार्यक्रममा टीकाले सञ्चारकर्मी र दर्शकहरूकै बीच मुखबाट गीत लेखेर देखाएका थिए- 'देशलाई माया गर्नुपर्छ, माटोले माग्दैन आफैंले दिनुपर्छ...।'
गीतमा उनले माटोप्रेम, राष्ट्रियता र मुलुकप्रतिको चिन्तालाई पोखेका थिए । हाल हनुमान ढोका प्रहरी परिसरमा कार्यरत टीकाले कार्यक्रममा देशभक्तिपूर्ण गीत समेत गाएर सुनाए । उनलाई हौस्याउन उनकै गीतलाई सन्तोष लामाले पनि गाए । 'आज मलाई पछुतो हैन खुसी लागिरहेको छ,' एक छोरा र एक छोरीकी बाबु टीकाले गम्भीर भावमा भने, 'किनभने हात नभए पनि मसँग गीत लेख्ने हृदय छ, अनि थुप्रै शुभचिन्तकहरू छन्. स्रोत-इकान्तिपुर