दशैं कि दसा , साधारणका लागि ढाड सेक्ने महंगी

काठमाडौ, आश्विन २७ ,

भरतपुर ब्युरो  :- सर्लाहीका स्थानीय ध्रुवकुमार श्रेष्ठले तोरीको तेलको मूल्य १२५ रुपैयाँ लिटर पुग्दा अत्तालिएर तरकारी उसिनेर खाने निर्णय गरे । उमेरले ६ दशक नाघेका औषधि व्यवसायी श्रेष्ठ चाडबाडसँगै बढ्ने महँगी ले सर्वसाधारणको ढाड सेक्ने बताउँछन् । 'चाडबाडले धेरैलाई ऋणमा डुबाएको छ,' उनले भने, 'दसैंले उमंग ल्याउँदैन । चाडबाड कसरी टार्ने भन्ने चिन्ता पर्छ ।' चाडबाडका लागि अतिरिक्त आम्दानी हुँदैन । 'किसानलाई चाडबाड समस्या हो,' वीरबहादुर तामाङले बताए । 

खसी, चिउरा, चिनी, तेललगायतका अत्यावश्यक बस्तुको मूल्य बढे पनि कृषि उत्पादनको भने भाउ नबढेको उनको गुनासो छ । '४ वर्षदेखि धानको मूल्य उही छ,' उनले भने, 'किसानका उत्पादनको मूल्य छैन ।' कामदार, मल, किटनाशकको भाउ बढेकाले किसानको आम्दानी दिनप्रतिदिन घट्दै गएको उनले सुनाए । कामका लागि विदेश जानेका, जागिरेका परिवार र व्यापारीका लागि दसैं राम्रै भए पनि विपन्नका लागि महँगी ले दसैं टार्न हम्मे परेको छ । सासापुरकी सुमित्र विकले महँगी ले गत वर्षको तुलनामा यसपालि दोब्बर खर्च हुने बताइन् । 

'पोहोर केटाकेटीलाई १ हजार ५ सयमा कपडा किनिदिएकी थिएँ,' उनले भनिन्, 'यस वर्ष कमसल कपडालाई २ हजार १ सय पर्‍यो ।' उनले महँगी का कारण दसैंमा हुने खानपान आधा घटेको बताइन् । उनका अनुसार गाउँमा पहिलेको तुलनामा कम मासु प्रयोग हुन थालेको छ । बाराको निजगढ ८ की ममता श्रेष्ठलाई दसैं खर्च जुटाउने चिन्ता छ । दसैं खर्च कसरी जुटाउने भन्नेबारे परिवारमा दिनमा एकपटक छलफल चलाउँछिन् । बजारमा सामानको मूल्य सुनेर होस उडेकी उनी जसोतसो दसैं बिताउने सोचमा छिन् । पहिले ३ वटा भाले चाहिन्थ्यो । अहिले एउटा किनेकी छन् । 

महँगी ले चिन्तित उनले भनिन्, 'कुखुराको भाउ सुनेर झसंग भएँ । दसैं खर्च जुटाउन चिन्ता लागेको छ ।' कलैया ५ का विकल श्रेष्ठ भन्छन्, 'सामानको मूल्य पोहोरभन्दा महँगो छ, कसरी मान्ने दसैं ? गरिब परिवारलाई झन मुस्किल पर्छ ।' गत सोमबार कलैया हाटबजार पुग्दा सामग्रीको भाउ अकासिएको सुन्दा झन्डै बेहोस भएनन् । 'गत वर्ष २० हजारमा दसंै सकियो । यसपालि ३० हजारभन्दा घटीमा हुँदैन होला,' उनले भने । बारामा गत वर्ष ३ सय ८० मा बिक्री भएको मासु यसपालि ४ सय ६० पुगेको छ । एक जोर परेवाको २ सय, एउटा हाँसको ४ सय, कुखुरा २ केजीको ४ सय रुपैयाँ पर्छ । 'यस वर्ष प्रत्येक सामानको भाउमा २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ,' एक व्यवसायीले भने, ' महँगी ले व्यापार ह्वात्तै घटेको छ ।' 

 महँगी ले भैरहवाका विपन्न परिवार खर्च छोट्याएर परम्परा मात्र धान्न दसैं मनाउने मनस्थितिमा छन् । अधिकांश कारखानाका मजदुर, रिक्सा चालक, सडक किनारामा ठेलामा सामान बिक्री गर्ने व्यवसायी लगायत सस्तो दसैं मनाउने मनस्थितिमा छन् । विगतको तुलनामा यसपटक खाद्यान्न, तरकारी, खाना पकाउने इन्धन, कपडा, मासुको मूल्य र यातायात भाडामा अत्यधिक मूल्य वृद्धि भएको दाबी उनीहरूको छ । 'यसपटक खर्च घटाउने मनस्थितिमा छु,' रिक्साचालक सोमबहादुर परियारले भने,' दसैं हामीलाई दसा पो हो ।' बजारमा चहलपहल दसैं नजिकिँदै जाँदा रौतहटका किराना र फेन्सी पसलमा भीडभाड देखिन थालेको छ । बजारमा भाउ अकासिने हुँदा उपभोक्ता बेलैमा सामान खरिद गरिरहेका छन् । यसपालिको दसैं महँगो छ । चाडपर्वलाई निरन्तरता दिने उपभोक्ताको भनाइ छ । 'सामान महँगा छन्,' स्थानीय निरु रानामगर भन्छिन्, 'पर्वलाई निरन्तरता दिनैपर्‍यो ।'

 गत वर्ष ६० रुपैयाँ किलो चिनी यसपालि ८० नाघेको छ । लत्ताकपडाको मूल्य छुनै नसक्ने गरी बढेको उनले सुनाइन् । गत वर्ष ५ देखि ७ सयमा पाइने जिन्सका पाइन्ट यसपटक १ हजारभन्दा माथि मूल्य पर्ने स्थानीय रिक्की थापाले बताए । 'यसपालि केही सामान छोइसक्नु छैन,' थापाले भने, 'कपडा महँगो भए पनि दसैंका लागि किन्नैपर्‍यो ।' 'पोहोर दसैंमा कपडा बिक्री भएन,' चन्द्रनिगाहपुर स्थित मामाभान्जा फेन्सीका प्रोपाइटर सूर्य सापकोटाले भने, 'यसपालि निकै अघि चहलपहल देखिएको छ ।' कपडा महँगो भएको ग्राहकको गुनासोप्रति सापकोटा भन्छन्, 'राजधानीबाट आउने सबै फेन्सी आइटमका सामानमा उतै मूल्य बढाएर पठाउने हुनाले थोरै नाफा लिँदा ग्राहकले महँगो महसुस गरेका हुन् ।'

 बैंकबाट ऋण लिएर भए पनि दसैं पर्व मनाउन लागेको स्थानीय सुब्बा गुरुङले बताए । उनले एक निजी बैंकबाट दसंैका लागि भनेर अन्य शीर्षक राखेर ३० हजार ऋण लिन लागेको बताए । महँगी ले उग्ररूप लिएका बेला थोरै रकमले दसैं मानिएलाजस्तो छैन,' गुरुङले भने, 'यसपालि त हरेक सामानको भाउ बढेको छ ।' वीरगन्जमा दसैं बजार पर्सा- दसैं लक्षित गरी वीरगन्ज उद्योग वाणिज्य संघले दसैं बजार सञ्चालन गर्ने भएको छ । विगतमाझैं यस वर्ष संघले दसैं उपलक्ष्यमा सर्वसाधारणका लागि सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको सस्तो बजारको आयोजना गर्न लागेको महासचिव सुबोधकुमार गुप्ताले बताए । 

दसैंको घटस्थापनादेखि फूलपातीको दिनसम्म संघको परिसरभित्रै यो बजार लगाउने निर्णय बुधबार सम्पन्न सरोकारवालाको बैठकले गरेको उनले बताए । संघका अध्यक्ष अशोक कुमार टेमानी, सहायक प्रजिअ लुकबहादुर क्षेत्री, उपभोक्ता मञ्च नेपाल जिल्ला अध्यक्ष दिनानाथ गुप्ता, साल्ट ट्रेडिङ तथा किराना व्यवसायी संघका प्रतिनिधिलगायत स्थानीय उद्योगी व्यापारीको उपस्थितिमा बडा दसैं सस्तो बजार आयोजना सम्बन्धमा सम्पन्न बैठकबाट यस्तो निर्णय गरिएको गुप्ताले बताए । उक्त बजारमा पाउने उपभोग्य वस्तुको मूल्य निर्धारण संघले गर्नेछ । 

बजारमा चिनीदेखि तेलसम्म उपभोग्य बस्तु उपलब्ध हुनेछ । बन्दीले दसैं नमान्ने आर्थिक अभावले मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीका बन्दीले दसैं मान्न नपाउने भएका छन् । बजेट अभावले जेल प्रशासनले बन्दीलाई दसंैमा नगद सिदा र दसैं खर्च नदिने भएकाले उनीहरूले दसैं मान्न नपाउने भएका हुन् । कारागार विभागले जेल प्रशासन बजेट निकासा नगरेकाले असोज १५ गतेदेखि कारागारका बन्दीले नगद सिदा पाएका छैनन् । 

खाद्य संस्थान वीरगन्जबाट चामल उधारोमा ल्याएर खुवाउने गरिएको छ । खाद्य संस्थानलाई क्षेत्रीय कारागार भीमफेदीले २० लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । 'रकमको अभावले गर्दा बन्दीलाई सरकारले उपलब्ध गराउँदै आएको दसैं खर्च र नगद सिदा दिन सक्ने अवस्थामा छैनौं ।' क्षेत्रीय कारागार भीमफेदीका जेलर चिरञ्जीवी थापाले भने ।इकान्तिपुर 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com