किशोर किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने

काठमाडौं, असोज २३,

राष्ट्रिय योजना आयोगले किशोर किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहकार्यमा आयोगले किशोर किशोरीको समग्र आर्थिक, सामाजिक विकास गर्न कार्ययोजना बनाउन लागेको हो।

आयोगले निर्माण गरिरहेको अगामी १३ औँ योजनामा सो कार्ययोजना समावेश गरिने छ। किशोर किशोरी भन्नाले १० देखि १९ वर्ष समूहलाई जनाउँछ। मिडिया एड्भोकेसी ग्रुपद्वारा "किशोर किशोरीका कुराः सञ्चार माध्यको भूमिका" विषयक आज यहाँ आयोजित कार्यक्रममा आयोगले किशोर किशोरीलाई सम्बोधन गरी पहिलोपटक सो कार्ययोजना बनाउन लागेको जानकारी दिइयो।

 नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत किशोर तथा किशोरी रहेका छन्। आयोगका सदस्यसचिव युवराज भुसालले आगामी योजनामा किशोर किशोरीसम्बन्धी कार्ययोजना समावेश हुने जानकारी दिए। सूचना तथा सञ्चार मन्त्रालयका सचिव सूर्य सिल्वालले 'किशोर किशोरीसम्बन्धी गोष्ठी आयोजना हुँदा यो विषय स्थापित हुने तर गोष्ठी सकिएपछि यो विषय विस्थापित हुने पुरानो परम्परा अन्त्य होस्', भने।

उनले सरकारले छ हजार पत्रपत्रिका, ६४० एफएम, ३९ टेलिभिजन च्यानललाई अनुमति दिएको भए पनि ती सञ्चार माध्यममा राजनीतिले प्राथमिकता पाउने तर सामाजिक मुद्दा ओझेलमा पर्ने गरेको बताए। ग्रुपका अध्यक्ष बबिता बस्नेतले सञ्चार माध्यममा किशोर किशोरीका कुरा ओझेलमा परिरहेको चर्चा गर्नुभयो। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com