१३ करोड लगानीको विवास्मै लामो जीप पोखरामा .

 पोखरा, असोज २३ ,

सन्तोष पोखरेल :- साहसिक पर्यटकका लागि पोखरामा अर्को नयाँ 'प्रोडक्ट' भित्रिएको छ। व्यावसायिक घरानाको लगानीमा साहसिक जिप फ्लायर (फलामे तारमा झुन्डिएको ट्रलीमा चिप्लने साहसिक यात्रा) यहाँ सुरु गरिएको हो। फ्लायरको सोमबार औपचारिक सुरुवात गरियो। गोल्छा अर्गनाइजेसन र मंगलम ग्रुपको संयुक्त लगानीमा पोखरासँगै जोडिएको सराङकोट र हेम्जा गाविसलाई जोड्ने गरी जिप फ्लायर बनाइएको छ।

सराङकोटबाट झोला आकारको सिट (ट्रली)मा बसेर फलामे तारमा झुन्डिँदै हेम्जामा ओर्लन सकिने जिप फ्लायरले साहसिक पर्यटकलाई आकर्षित गर्ने सञ्चालक संस्था हाइग्राउन्ड एडभेन्चर्सका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए। उनका अनुसार यो जिप फ्लायर विश्वमै सबैभन्दा साहसिक र ठूलो आकारको छ। अमेरिकाको अलास्कामा १ हजार ६ सय मिटर लामो जिप फ्लायर सञ्चालन गरिएको भए पनि पोखराको यो १ हजार ८ सय ६० मिटर लामो छ। युरोपेली मुलुकमा छोटो र कम साहसिक ठाउँमा जिप फ्लायर सञ्चालन गरेको भए पनि पोखराको यो नै अहिलेसम्मकै विश्वकै सबैभन्दा ठूलो र बढी साहसिक भएको उनले दाबी गरे।

उनका अनुसार पोखराको यो जिप फ्लायरबाट १८ सय ६० मिटर दुरी डेढ मिनेटमा पार गर्न सकिन्छ। दुईवटा पोलको भरमा मात्र यो जिप फ्लायर झुन्डिएको छ। 'अन्नपूर्ण र माछापुच्छे्रे हिमशृंखला अवलोकन गर्दै यात्रा गर्न पाइने भएकाले यो झनै रोमाञ्चक छ,' चुरिवालले भने, 'हावामा उडेजस्तो अनुभव हुन्छ। जिप फ्लायरमा यात्रा गर्दा एक सय ४० किलोमिटर प्रति घन्टाको गतिमा माथिबाट तल झर्न सकिन्छ।' यसमा यात्रा गर्ने यात्रुको तौलको आधारमा पनि ओर्लने समय निर्भर हुने उनले बताए। जिप फ्लायरमा गोल्छा समूहका तर्फबाट शरद र भरत गोल्छा तथा मंगलम गु्रपका चुरिवालले लगानी गरेका हुन्।

करिब १३ करोड रुपैयाँ यसमा लगानी गरिएको चुरिवालले बताए। अर्का लगानीकर्ता भरत गोल्छाका अनुसार जिपफ्लायरका दुईवटा बलिया फलामे तारमा जडित ट्रलिमा बसेर एकपटकमा दुईजनाले यात्रा गर्न सक्छन्। माथिबाट झरेका यात्रु तल पुगेपछि भिन्दै तारमार्फत ट्रलीलाई फेरि माथि पुर्‍याउन सकिन्छ। 'एक घन्टामा १६ जनाले यात्रा गर्न सक्छन्, एक/एकजनाको दरले दुईवटा तारमा जडित ट्रलीमा झुन्डिँदै यात्रा गर्न मिल्छ,' गोल्छाले भने, 'भिन्दाभिन्दै तारमा जडित झोला आकारका ट्रलीमा झुन्डिएर तल झरेपछि उक्त ट्रलीलाई विद्युतीय स्विचमार्फत माथि पुर्‍याएर पुनः पर्यटकलाई तल झार्ने हो।' दुईवर्ष अघिदेखि निर्माण थालिएको जिप फ्लायर गत जुनमा पूरा भएको थियो।

यसमा अहिलेसम्म करिब ५ सय पर्यटकले यात्रा गरिसकेका छन्। गोल्छाका अनुसार जिप फ्लायरमा जडित फलामे तार निकै बलियो छ। यसको आयु कम्तीमा २५ वर्ष रहेको उनले बताए। 'म्याग्नेटिङ ब्रेकिङ सिस्टम' जडान गरेर माथिबाट हुत्तिँदै आएका पर्यटक विस्तारै रोकिन मिल्ने प्रविधि यसमा जडान गरिएको अर्का प्रवर्द्धक शरद गोल्छाले बताए। 'जिप फ्लायरलाई सुरक्षित बनाउन हामीले कतै पनि सम्झौता गरेका छैनौं,' उनले भने, 'ज्यादै भरपर्दो, बलियो र टिकाउ प्रविधि यसमा जडान गरेर सुरक्षित बनाएका छौँ।' जिप फ्लायर चढ्ने नेपालीलाई ३ हजार ८ सय ९० र विदेशी पर्यटकका लागि ५ हजार ८ सय ९० रुपैयाँ शुल्क तोकिएको छ।

पोखराबाट गाडीमा सराङकोट पुर्‍याएर जिपफ्लायरमार्फत हेम्जा ओरालेर मोटरबाट पुन लेकसाइडसम्मको यात्राको शुल्क यसैमा समावेश गरिएको छ। १४ वर्षमाथिका व्यक्तिले यसमा यात्रा गर्न सक्ने उनले बताए। पर्यटकीय क्षेत्रमा नौलो प्रोडक्टको रुपमा रहेको जिपफ्लायरले वर्षमा करिब १० हजार विदेशी पर्यटकलाई चढाउने लक्ष्य लिएको उनीहरुको भनाई छ। जिप फ्लायरका दुवै स्टेसनमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ। त्यसबाहेक पोखरा आउने साहसिक पर्यटकलाई लक्ष्य गरेर यही क्षेत्रमा बञ्जिजम्पिङ पनि सञ्चालन गर्ने उनीहरुले लक्ष्य सुनाए।नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com