अजय फुयाल :- दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी नयना शाक्यले आइतबार पौडीबाट सन्यास लिएकी छन्। सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफ खेलकुदमा ४ गुणा १ सय मिटर मिड्ले रिलेबाट नेपालले ऐतिहासिक स्वर्ण जित्दा नयना टोलीकी महत्वपूर्ण सदस्य थिइन्। उनीसँगै नेपाललाई स्वर्ण जिताउनेमा रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंह थिए।
कान र ढाडको समस्याबाट लामो समयदेखि पीडित 'जलपरी' नयनाले त्यही समस्यालाई जित्न नसक्दा पौडीबाट बिदा लिनुपरेको बताइन्। 'पौडीमा लागेर मैले धेरै समर्थकको माया पाएकी छु। देशका लागि खेल्ने र पदक जित्ने अवसर पाएँ। ती मेरालागि जीवनभर मीठो स्मरणमा रहनेछन्,' २००४ को ग्रिस ओलम्पिक खेलेकी उनले भनिन्, 'अहिले आफ्नै स्वास्थ्यका कारण सबैभन्दा प्रिय खेलबाट बिदा हुनुपरेको छ। निकै दुःख लागेको छ।'
आठौं, नवौं, दसौं र ११औं सागमा लगातार सहभागिता जनाएकी उनले प्रतियोगितामा सहभागी भएर संन्यास लिने योजना सफल नभएकोमा दुखेसो गरिन्। 'मलाई अन्त्यमा खेलेरै संन्यास लिने इच्छा थियो, तर कानको समस्याले पानीमा जान दिएन। यसैगरी ढाडको समस्याका कारण डाइभिङ हान्न मिलेन। संन्यास लिँदा खेल्न नपाएकोमा चाहिँ निकै दुःख लागेको छ,' २८ वर्षीया उनले एक वर्षपछि फेरि प्रशिक्षक भएर पौडीमै सक्रिय हुने योजना सुनाउँदै भनिन्।
दुई वर्षदेखि कान र ढाडको समस्याका कारण पौडीपोखरीमा डाइभ गर्न नसकेकी उनको नाममा अझैसम्म दुई राष्ट्रिय कीर्तिमान छन्।
कुनै बेला सात राष्ट्रिय कीर्तिमान जोडेकी नयनाको नाममा अहिले भने २ सय मिटर बटरफ्लाई र २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमान छ। बटरफ्लाईमा ३ मिनेट ९.९५ सेकेन्ड र व्यक्तिगत मिडलेमा २ मिनेट ५८.३१ सेकेन्डको कीर्तिमान उनीसँग छ। उनको नाममा रहेका १ सय मिटर ब्रेस्टस्ट्रोक, २ सय मिटर ब्रेस्टस्ट्रोक, १ सय मिटर बटरफ्लाई, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्रेस्टस्ट्रोकका कीर्तिमान भने तोडिइसकेको छ।
२०५५ सालमा नेपालगन्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदको पौडीमा ९ स्वर्ण पदक जितेर तहल्का मच्चाएकी नयना बास्केटबलकी पनि राष्ट्रिय खेलाडी हुन्। २०४९ मा दशरथ रंगशालामा हुने साप्ताहिक पौडी प्रतियोगिताबाट प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेकी उनले संयोगवश बास्केटबलमा प्रवेश गरेको बताइन्। २००४ देखि नै फाट्टफुट्ट बास्केटबल खेल्न थालेकी उनी पछिल्लो दुई वर्षदेखि भने बास्केटबलमा बढी सक्रिय छिन्।
'कान र ढाडको समस्याले पौडीबाट टाढा हुनुपर्दा पुनरागमन जनाउन आवश्यक फिटनेसका लागि मैले बास्केटबल खेल्न थालेकी हुँ,' उनले भनिन्, 'बास्केटबल मलाई सानैदेखि मनपर्ने खेल भए पनि मेरो पहिलो रोजाइ पौडी नै हो। फिटनेसलाई बास्केटबल खेल्दाखेल्दै राष्ट्रिय टोलीसम्म पुगियो। पछि पौडीमै पुनरागमन जनाउन खोज्दा फेरि कान र ढाडको समस्याले दिएन।'
गत वर्ष बास्केटबलको राष्ट्रिय टोलीमा परेकी उनले पहिलो दक्षिण एसियाली बिच खेलकुदमा नेपाली टोलीको कप्तानी गरेकी थिइन्।
'दुई वर्षदेखि नै मैले संन्यास लिन खोजेको हुँ तर संघमा विवाद रहँदा अवसर जुरिरहेको थिएन, अहिले संघ मिलेको मौकामा संन्यास घोषणा गरेकी हुँ,' उनले भनिन्, 'मलाई पौडीमा निरन्तर लाग्न प्रेरित गर्ने परिवार र समर्थकलाई धन्यवाद दिन चाहन्छु।'नागरिक