विश्वव्यापी संकटको रुपमा-डिप्रेसन

काठमाडौ, आश्विन २४ ,

डा : अजय रिसाल :- विश्व स्वास्थ्य संगठनले 'मानसिक स्वास्थ्य' लाई 'पूर्ण स्वास्थ्य' का महत्त्वपूर्ण चार आयाममध्ये एक मान्दै आएको छ । सन् १९९२ देखि नै विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष अक्टोबर १० लाई 'विश्व मानसिक स्वास्थ्य दिवस' का रूपमा मनाउँदै आएको छ । हामीले पूर्ण रूपमा 'मानसिक स्वास्थ्य' को अपरिहार्यताको वकालत गर्न सक्ने जनमत तयार पार्न सकेका छैनौं, न त सम्बन्धित निकायहरू नै यसप्रति सचेत हुनसकेका छन् ।

विकसित देशहरूमा समेत मानसिक रोग र रोगीहरू सरकारी बजेटको पुछारमा सम्बोधित भइरहेको कुरा नियमित रूपमा विश्व स्वास्थ्य संगठनले प्रकाशित गर्ने बुलेटिनले प्रस्ट पारेको छ । वाषिर्क बजेटको ३५ प्रतिशतभन्दा कम स्वास्थ्य क्षेत्रमा लगानी हुने हाम्रो देशको त कुरै गर्न सकिन्न । सन् २०१२ मा 'विश्व मानसिक स्वास्थ्य दिवस' को नारा 'डिप्रेसन-विश्वव्यापी संकट' अत्यन्त सान्दर्भिक छ । विश्व स्वास्थ्य संगठनको हालसालकै विश्वव्यापी सर्भेक्षणले जनाएअनुसार अहिले विश्वको करिब ३५ करोड जनसंख्या डिप्रेसनको सिकारमा छ ।

बर्सेनि करिब १० लाख जना आत्महत्या गर्छन्, दैनिक सरदर ३००० जना । यसका दुष्परिणामलाई त आत्महत्याको बढ्दो आँकडाले नै छर्लग्याइसकेको छ । पुरुषहरूभन्दा महिलामा ५०५ नै ज्यादा देखा पर्ने डिप्रेसनले युवावर्गमा समेत लागू पदार्थ सेवन, नैराश्य अनि पलायनवादी सोचको विकास गरेको पाइन्छ । त्यस्तै गर्भवती एवं नवजात शिशुका आमाहरूमा देखा पर्ने डिपे्रसनले शिशुहरूको वृद्धि विकासमा गम्भीर असर पार्ने कुरा सन् २००८ को एक अध्ययनले देखाएको छ, त्यस्तो असर हाम्रो जस्तो अल्पविकसित मुलुकमा अझै बढी पाइएको छ ।

 सन् २००१ देेखिका विश्वव्यापी अध्ययनहरूले डिप्रेसनलाई नै स्वास्थ्यजन्य असमर्थताका प्रमुख कारकतत्त्व मानेका छन् । एउटा विश्व स्वास्थ्य संगठनको रिपोर्टले सन् २०२० सम्ममा यसले मुटुरोगपछिको दोस्रो स्थान ओगट्ने आँकडा प्रक्षेपण गरेको छ भने सन् २००८ को अर्को बुलेटिनले २०३० सम्ममा यो रोग विश्वभरकै स्वास्थ्य-समस्याको चापको प्रमुख हिस्सेदार बन्ने ठोकुवा नै गरेर यसको पहिचान र निराकरणका लागि अगाडि बढ्न सबै पक्षको ध्यान आकृष्ट गरेको छ ।

 हाम्रो लोकजिभ्रोमा नै डिप्रेसन कुनै मानसिक रोगलाई जनाउने पर्यायवाची श्ाब्दका रूपमा देखापरेको छ । मानसिक रोग विभागमा आउने जुनसुकै रोगका बिरामी पनि आफूलाई डिप्रेसन भएको भन्छन् । अध्ययनहरूले यसको आजीवन अनुपात ८-१२५ हुन सक्ने देखाएका छन् । यसका सम्भावित कारकतत्त्वहरूमा अनुवंशिकताजस्ता जैविक कारण मात्र नभई आर्थिक एवं सामाजिक दुरवस्था, घरेलु हिंसा, वैवाहिक जीवनमा आउने उतारचढाव, दीर्घरोग आदि सामाजिक एवं मनोवैज्ञानिक पक्षहरू प्ानि पर्छन् । सन् २००८ मा अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीले त्यहाँको डिप्रेसनको अनुपातलाई १६.९५ सम्म पुर्‍याएको छ अहिले ।

९० को दशकका प्रारम्भिक वर्षहरूमा तत्कालीन सोभियत संघ अनि पछिल्ला वर्षहरूमा जापान, हङकङ, कोरिया, चीन आदि एसियाली मुलुकहरूमा छाएका आर्थिक संकटले समेत डिपे्रसनलाई बढावा दिएको मानिएको छ । ऋण, गरिबी, बेरोजगारी एवं पारिवारिक समस्या डिप्रेसन बढाउन जिम्मेवार सामाजिक कारकतत्त्व हुन् । एउटा अचम्मलाग्दो तथ्य के छ भने विभिन्न मुलुकमा भएका अध्ययनअनुसार डिपे्रसनको उपचार त्यति सारो जटिल छैन ।

 युगान्डामा सन् २००३ मा भएको शोधकार्यले सामान्य परामर्श सेवा एवं इन्टरपर्सनल साइकोथेरापीले मात्र पनि डिप्रेसनमा उल्लेखनीय सुधार ल्याएको प्रस्ट पार्‍यो । त्यस्तै सन् २००६ मा चिलीमा भएको अध्ययन होस् या सन् २०१० मा भारतमा गरिएको सर्भेक्षण, दुवैले प्राथमिक स्वास्थ्य कार्यकर्तालाई दिइने सामान्य तालिमले मात्र पनि डिपे्रसनको न्यूनीकरण गर्न सहायता पुर्‍याउने स्पष्ट पारेका छन् । तर दुःखको कुरा, यति सहज उपचार हुने कुरा अध्ययनहरूले देखाउँदादेखाउँदै पनि कमैले मात्र यसको उपचार पाउन सकेका छन् । हाम्रो मुलुकमा त यस्ता अध्ययन भएकै छैनन् ।

गाउँघर र पहाडी एवं हिमाली क्षेत्रमा धामीझाँक्रीबाट उपचार गराउने अशिक्षित एवं गरिब जनताको हालत के होला ? त्यसमाथि मानसिक रोगलाई लुकाउने, ती रोगीलाई दाम्लाले बाँधेर या खोरमा थुनेर राख्ने पारिवारिक एवं सामाजिक अवस्थाका कारण कति जीवन आत्महत्याद्वारा नाश भए होलान् ? कति मद्यपान एवं लागू पदार्थको नशामा डुबिरहेका होलान् ? अतः यस रोगबाट बच्न चेतना फैलाउनु जरुरी छ ।लेखक धुलिखेल अस्पतालका मानसिक रोगविशेषज्ञ हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com