नारी मातृदेवता हुन् । हाम्रो संस्कृतिले नारी जातिलाई माताका रूपमा स्थापित गरेर यो रहस्य उद्घाटन गरेको छ । नारीजाति पुरुषको कामोपभोगका वस्तु होइनन्, अपितु वन्दनीया एवं पूजनीया हुन् । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुणा र पिताभन्दा हजार गुणा बढी मानिएको छ ।
नारीलाई सदा अबध्या बताइएको छ, कुनै पनि वर्गकी, सम्प्रदायकी वा कुनै पनि प्रकारकी नारी सदैव पूजनीया हुन्छिन् किनकि नारीका अङ्गअङ्गमा देवताको बास हुने कुरा शास्त्रमा बताइएको छ ।
वैदिक कालमा नारीको स्थान उच्च थियो । पिताको सम्पत्तिमा पनि नारीको अधिकार रहन्थ्यो । छोराछोरीमा कुनै भेद थिएन भन्ने कुरा शास्त्रीय अध्ययनबाट थाहा हुन्छ । कुनै पनि समाजमा नारीको स्थान कस्तो थियो र छ भन्ने कुराले उक्त समाज कति सभ्य छ भन्ने कुराको जानकारी गराउँछ ।
वैदिक समयमा पुरुषकी सहधर्मिणी नारी मध्यकालमा आएर पुरुषको सम्पत्ति मानिन थालिएको पाइन्छ । यही कुरालाई अझ प्रखर रूपमा सामन्त कालमा अघि बढाइएको पाइन्छ । त्यसपछि उनीहरूको शक्ति पनि लुप्त हुँदै गएको हुनसक्छ । यति हुँदाहुँदै पनि बेलाबेलामा अदम्य साहस एवं सौर्ययुक्त नारीका अनेकौं गाथा बारम्बार चर्चामा आइरहेका छन् । हरेक क्षेत्रमा नारीलाई पछाडि पार्ने प्रयत्न हुँदाहुँदै पनि स्वाभाविक गुणका कारण नारी शक्ति लुकेर रहन सकेन ।
फलतः आधुनिक नारीहरू पुनः आपmनो शक्तिका साथ प्रकट हुने मार्गमा अग्रसर भैरहेको हामीले देखिरहेकै छौं । संकीर्ण विचारधारा त्यागेर आत्मविश्वासका साथ अघि बढेका आजका नारीहरू देख्दा शक्तिका अदम्य स्रोत नारी नै हुन् भन्ने कुरा बुझ्न कठिन हँुदैन । आज समाजमा कुनै यस्तो क्षेत्र छैन जहाँ प्रतिस्पर्धा नभएको होस्, ती सबैमा नारीको दबदबा हेर्न लायक छ, समाजका लगभग हरेक क्षेत्रमा नारीहरू पुरुषहरूभन्दा निकै बढी चुनौती पेस गरिरहेका छन् । यसरी नारीहरू शक्तिका प्रतीक बनेर चिनिन्थे, चिनिन्छन् र चिनिनेछन् तर कसरी ? विद्वान्-विदुषीहरूको मत ः
प्रा.डा. वीणा पौड्याल :
नारीलाई शक्तिका रूपमा पुजिनुको प्रमुख कारण उनीहरूमा भएको प्रजनन शक्ति नै हो । हुनत प्रजनन शक्ति नारी-पुरुष दुवैमा हुन्छ र एक-अर्काको सहयोगबिना प्रजनन सम्भव छैन तैपनि यो कार्यमा नारीको भूमिका बढी महत्त्वपूर्ण हुन्छ । नारीको भूमिकाका बारेमा कुरा गर्दा वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ । त्यतिबेला मानिसहरू अदृश्य शक्तिका रूपमा प्रकृतिका अग्नि, जल, वायु, पृथ्वी आदिको पूजा गर्थे ।
यसै क्रममा वेदको निर्माण हुँदा नारी देवता उषा, सविता, पृथ्वी आदिको स्तुतिगान त गरियो तर पुरुष शक्तिलाई बलशाली रूपमा प्रस्तुत गरिएन । पछि पौराणिक कालमा आएपछि असुर तथा सुर -देव) का बीच फाटो बढ्ने क्रममा काल्पनिक शक्तिका रूपमा अत्यन्त शक्तिशाली नारीको कल्पना देवहरूले गरे । आव्हान गरिएकी देवीलाई सबै देवका आयुधहरूद्वारा सुसज्जित बनाइसकेपछि देवताहरूले उनलाई असुरविरुद्ध युद्धमा पठाए ।
ती देवीले असुरहरूमाथि विजय प्राप्त गरिन् । त्यसपछि जबजब दानव वा असुरहरूले दुःख दिन्थे, देवताहरू देवीको आह्वाहन गरी उनीमार्फत असुरहरूलाई परास्त गराउँथे । पौराणिक साहित्यहरूमा वर्णन गरिएअनुसार पनि राम, कृष्ण आदिले शक्ति प्राप्त गर्न देवीकै आराधना गरेका थिए । यसका साथै मातृशक्तिका रूपमा पुजिने देवीहरूको पनि कल्पना गरियो वा ती त्यतिबेला मातृसत्तात्मक परिवार रहेका बेलाका शक्तिशाली लोकमाताहरू थिए ।
यसरी कल्पना गरिएका देवीहरू पनि मातृत्व, र्ऊवरता वा सिर्जनशीलताका कारण पुजिएका थिए । र्ऊवरा शक्ति एवं धैर्य, सहनशीलताजस्ता स्वभावका कारण नारीलाई पृथ्वीसित तुलना गरिएको छ । यस्ता विविध कारण केलाउँदा के प्रस्ट हुन्छ भने नारीहरूको सिर्जनशीलता वा प्रजनन शक्तिकै कारण उनीहरूप्रति पुरुषले सम्मान देखाएका हुन् । नत्र त मानव जातिको आजसम्मको इतिहास हेर्दा नारीहरू पुरुष जातिको स्वार्थसिद्धिका साधनका रूपमा देखापर्छन् । सम्भवतः त्यसैले शक्तिस्वरूपा भगवतीका रूपमा नारी शक्तिको पूजा गरिएको तथा नारीलाई शक्तिको प्रतीक मानिएको हो ।
प्रा.डा. मुकुन्दराज अर्याल
नारी शक्तिको सामाजिक, दार्शनिक, धार्मिक, वैदिक, पौराणिक एवं तान्त्रिक आदि विविध प्रकारले व्याख्या भएको पाइन्छ । पौराणिक एवं तान्त्रिक मतअनुसार शक्ति शब्द नै स्त्री वा नारीको पर्याय हो । स्त्रीतत्त्वलाई हामी शक्ति भनेर पुकाछौर्ं ।
'या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता' भनेर पुराणले नारीको महिमा गान गरेको छ । यही शक्ति छउन्जेलसम्म कुनै पनि प्राणी जीवित रहन सक्छ ।
शक्ति हटेपछि प्राणधारीहरू मात्र होइन, निर्जीव पदार्थको अस्तित्व पनि लोप हुन्छ किनभने ब्रह्माण्डका सारा कुरा शक्तिमै अडेका छन् । शक्तिको अंग्रेजी अर्थ हुन्छ इनर्जी न कि पावर, पावरले शक्तिको अर्थ बोध गराउने सामथ्र्य राख्दैन । सृष्टिको सुरुमा निराकार परब्रह्म थियो, ऊ अण्ड रूपमा थियो । जब उक्त निराकार परब्रह्मले साकार रूप लिन खोज्यो त्यतिबेला त्यो अण्ड फुट्यो र दुई भागमा विभक्त भयो । जसले षट्कोणको रूप लियो ।
माथि फर्किएको त्रिकोणले ब्रह्मा, विष्णु र महेश्वरलाई बुझाउँछ भने तलतिर फर्किएको त्रिकोणले महाकाली, महालक्ष्मी र महासरस्वतीलाई बुझाउँछ । जसरी अण्डामा सेतो र पहेंलो भाग हुन्छ त्यसरी नै षट्कोणमा माथिपट्ट िफर्किएको त्रिकोण सेतो हुन्छ भने तल फर्किर्एको त्रिकोण रातो हुन्छ । सृष्टि, स्थिति र प्रलयका देवताहरूले शक्तिबिना कुनै काम गर्न नसक्ने हुनाले ती-ती देवताका लागि सम्बन्धित शक्तिहरू साथ लागेको बताइन्छ । शक्तिकै कारणले सबै कुरा सम्भव हुन्छ । हामी सबैजना अहिले जीवित छौं, बोलचाल, हिँडडुल गर्न सक्छौं ती सबै शक्तिकै कारण सम्भव भएका हुन् ।
शक्ति गएपछि हाम्रो शरीर उही रहे पनि हामी केही गर्न नसक्ने हुन्छौं, केही समयपछि त शरीर कुहिन थाल्छ । शक्तिविहीन भएपछि हाम्रा आँखाले देख्दैनन्, कानले सुन्न सक्दैनन्, छालाले स्पर्श थाहा पाउन सक्दैन अर्थात् सबै इन्दि्रयहरू बेकम्मा हुन्छन् त्यसैले शक्तिबिना जीवन सम्भव छैन । यसैगरी ॐ शब्दभित्र अ, उ र म गरी तीन अक्षर छन् जसले ब्रह्मा, विष्णु र महेशलाई चिनाउँछन् । यसले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनलाई पनि चिनाउँछ ।
माथिल्लोपट्ट िरहेको जुन अर्धचन्द्राकार धर्को छ त्यसले शक्तिलाई बुझाउँछ भने सबैभन्दा माथि रहेको बिन्दुले निर्गुण ब्रह्म वा परमेश्वरलाई जनाउँछ । सरस्वतीको ज्ञानशक्ति, लक्ष्मीको पालनशक्ति तथा कालीको संहारशक्तिकै कारण सृष्टि, स्थिति र प्रलय हुने गरेको कुरा विभिन्न शास्त्रहरूमा बताइएको छ । कालीलाई कतिपयले कालो वर्ण भनेर बुभmदै आएका छन् तर वास्तविकता त काललाई वशमा पार्ने भएर उनलाई काली भनिएको हो । शक्ति सदैव अगाडि रहन्छ त्यसैले हामी गौरीशंकर भन्छौं, राधाकृष्ण भन्छौं, सीताराम भन्छौं र लौकिक व्यवहारमा पनि मातापिता भन्छौं अर्थात् माताको स्थान सदैव अगाडि आउँछ जुन शक्तिप्रतिको सम्मान पनि हो ।
नारीलाई अबला भनेर चिनाइन्छ जसको अर्थ केही विद्वान्हरूले बलहीन वा कमजोर भन्ने लगाएका छन् तर वास्तविकता त्यसो होइन । अबलाको अर्थ हो-'अथाह बला इति अबला' अर्थात् जोसित अथाह बल छ, शक्ति छ ऊ अबला हो । यसलाई सबैले मनन गर्नु आवश्यक छ । लोक व्यवहारमा पनि जति काम नारीले गरिरहेका हुन्छन् ती काम पुरुषले गर्न सकेका हुँदैनन् यो हामी सबैले अनुभूत गर्ने कुरा हो । आत्मविश्वास, धैर्य, सहनशीलताजस्ता गुणले नारीहरू धेरै बलवान् छन् । स्त्री अर्थात् नारीभित्र शक्तिको बास हुन्छ किनभने उनीहरू शक्तिकै अंशरूप हुन् । यी विविध कारणले गर्दा नारीलाई शक्तिकी प्रतीक भनिएको हो ।
प्रा.डा. मोतीलाल पराजुली :
नारीहरू शक्तिका स्वरूप हुन् । पुराणमा वणिर्त त्रिगुणात्मिका भगवतीहरू महाकाली, महालक्ष्मी एवं महासरस्वतीकै अंश हुन्-नारीहरू । यी देवीहरूलाई स्थानैपिच्छे विभिन्न नामले पुकारिएको पाइन्छ । देवीका मालिका, कालिका, विन्ध्यवासिनी, ब्रह्मायणी, गुह्येश्वरी, कुमारी आदि हजारौं नाम छन् । ती हरेक नामसँग उनीहरूका शक्तिका अनेकौं किस्सा गाँसिएका छन् । ती कथाहरूमा नारी शक्तिको खुलेर प्रशंसा गरिएको पाइन्छ फलतः समाज शक्तिका अगाडि निहुरिन बाध्य हुन्छ ।
हामीकहाँ जीवित देवीका रूपमा कुमारीको पूजा गर्ने चलन अद्यावधि छँदैछ जसले नारी शक्तिको महिमा प्रकट गर्छ । यसैगरी हरेक शुभकार्य गर्दा कन्या पुज्ने तथा दसैंका बेलामा नवदुर्गा भवानीको प्रतीक मानेर नवदेवीको पूजा गर्ने परम्परा छ । हामीकहाँ पञ्चकन्या, सप्तकन्या, नवकन्या, सप्तमातृका, अष्टमातृका तथा नवमातृकाको पूजा गर्ने सामाजिक प्रचलनले पनि शक्ति कुनै बेला नारीको हातमा रहेको नभए पनि नारी शक्तिबिना पुरुष अधूरो हुने गरेको कुरा प्रमाणित हुन्छ । त्यसैगरी मनुस्मृतिकै 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' भन्ने भनाइले पनि नारी सम्मानलाई बढावा दिएको पाइन्छ ।
लोकसमाजतिरै दृष्टि दिने हो भने पनि कुनै घर बिग्रनु र सप्रनुमा नारीकै हात रहेको देखिन्छ । नारीहरूले संरक्षण गरिदिँदा पुरुष समृद्ध हुने तथा नगरिदिँदा कंगाल हुने कुरा लोकव्यवहारबाटै पुष्टि भएका वा हुने कुरा हुन् । नारीले आँटे एकैछिन, पुरुषले आँटे वर्ष दिन भन्ने उखान त्यसै चलेको होइन । पुरुषहरू शारीरिक रूपमा जतिसुकै बलिया भए पनि एउटी नारीको इसारामा चल्छन् किन त भन्ने कुराको जवाफ पनि नारी शक्तिकै कारण हो भन्ने आउँछ । यस्ता विविध प्रसङ्गमा विचार पुर्याउँदा यो सिद्ध हुन्छ कि नारीहरू शक्तिका प्रतीक हुन् ।
प्रस्तुति ः दीपक प्रसाद दाहाल. नारी