फर्जी बिद्यार्थी ४८-हजार भन्दा बढी - सिरहामा

सिरहा, असोज २८,

मिथिलेश यादव :- ग्रामीण क्षेत्रमा मात्रै होइन, सदरमुकामकै विद्यालयले पनि विद्यार्थीको फर्जी तथ्यांक बुझाएर वर्षौंदेखि सरकारी सेवासुविधा दुरुपयोग गरिरहेका छन्। जसले गर्दा कतिपय विद्यालय विद्यार्थी र शिक्षाको संख्या बराबरी भएको पाइएको छ। सिरहा-८ को प्राथमिक विद्यालय, महिसोथामा शुक्रबार पुग्दा विद्यार्थी सात जना मात्र थिए। यो विद्यालयमा शिक्षक पनि सात जना छन्। स्कुलको अभिलेखअनुसार भने एक सय ६ विद्यार्थी पढ्छन्।

'यो महिना नै यस्तै हो, विद्यार्थी नै आउँदैनन्,' कक्षा चार लेखिएको कोठामा कक्षा १, २ र ३ का विद्यार्थीलाई राखेर पढाइरहेकी शिक्षिका विमला देवीले भनिन्। विद्यार्थीको संख्या भने सयभन्दा बढी रहेको दाबी गर्दै उनले रजिस्टर देखाइन्। विद्यार्थीहरूका अनुसार यो एउटा कोठाबाहेक अन्य कहिलेकाहीं मात्र खुल्छन्। 'दुई घन्टी भयो, एउटै मिसले पढाउनु भएको,' कक्षा तीनकी अजिता दसले भनिन्, 'सधैं यसरी नै पठाउनुहुन्छ।' अर्की शिक्षिका सावना खातुन भने चौरमा बसेर गफिइरहेकी थिइन्। सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने भएको बाहिर गफ गरेर बसेको उनले बताइन्।

 विद्यालयको पढाइ खस्कन थालेपछि नजिकै घर भएकाहरू पनि अन्य विद्यालय जान थालेका छन्। 'यो स्कुल पहिला यस्तो थिएन,' बालमन्दिरमा कक्षा तीनमा पढ्ने रोहितकुमार यादव भन्छन्, 'पछि यहाँ पढाइ हुन छाडेपछि टोलका सबै विद्यार्थी बालमन्दिर, चमावि र निजी स्कुलमा भर्ना भए।' टोलका करिब ३० विद्यार्थी बालमन्दिरमा, २० जना चमाविमा र त्यतिकै संख्या निजी स्कुलमा पढ्ने गरेको स्थानीय बताउँछन्। 'अन्त गइसकेकाको नामसमेत रजिस्टरमा छ,' प्रावि महिसोथाका एक विद्यार्थीले भने।

प्रधानाध्यापक केदार यादवले भने स्थानीयको असहयोगले बेथिति आएको दाबी गर्छन्। 'अहिलेको जमाना निजी स्कुलको हो, सरकारीको होइन्,' उनी भन्छन्, 'विस्तारै सुधार हुन्छ।' रजिस्टरमा भएको भन्दा विद्यार्थी संख्या कम रहेको उनी स्वीकार्छन्। यो प्राविमा दरबन्दीका चार, अस्थायी दुई र पिसिएफका दुई कर्मचारी छन्। जिल्ला शिक्षा कार्यालय फर्जी विद्यार्थीको समस्या जिल्लाका धेरै विद्यालयमा रहेको जनाएको छ। 'कैयौं स्कुल छन्, जहाँ फर्जी विद्यार्थी देखाएर विद्यार्थीभन्दा बढी शिक्षक बसिरहेका छन्,' जिल्ला शिक्षा अधिकारी हरि वस्ती भन्छन्, 'यस्ता स्कुललाई तह लगाउन आवश्यक कदम चालिसकिएको छ।' उनका अनुसार विद्यार्थीको 'हेड काउन्ट'का आधारमा शिक्षक दरबन्दी मिलान गरिने छ।

जिल्लाभर गरिएको 'हेड काउन्ट'मा ४८ हजार ४७ विद्यार्थी उपस्थित थिएनन्। 'वार्षिक परीक्षाको समयमा हेडकाउन्ट गर्दा यति धेरै विद्यार्थी नभएको देखियो। विद्यालयले रिपोर्टमा बढाइचढाइ विद्यार्थीको नाम भरेर पठाउने चलनै बसेको छ,' वस्तीले भने, 'यस्तो रिपोर्टका आधारमा सेवा सुविधा पाउने भएकाले सारा नाम हालेर पठाउने गरेका छन्।' यस्तो प्रवृत्तिले विद्यार्थीको राष्ट्रिय तथ्यांकमासमेत असर पुगेकाले वास्तविक विद्यार्थी पत्ता लगाउन हेडकाउन्ट गरिएको उनले बताए। विद्यार्थी संख्या कम भएका विद्यालयलाई अर्कोमा गाभ्ने, शिक्षक दरबन्दी कटौती गर्ने, कोटा र सुविधा कटौती गरिने उनले जिशिअ वस्तीले बताए। नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com