दशैं गरीबलाई - दसा

ओखलढुङ्गा, कात्तिक ५ ,

"दसैँमा मासु खाने भनेर बालबच्चाले हैरान बनाए, कोदो बेचेर मासु किन्ने योजना छ।",- यो ज्यामिरे गाविसकी ६५ वर्षीया इन्दिरा बानियाँको दसैँ मनाउने योजना हो। सदरमुकाममा लाग्ने दसैँको अन्तिम शनिबारे बजारमा कोदो बेचेर उनले दसैँका लागि चामल र मसला किन्ने बताइन्। "गाउँमा अन्य आयस्रोत छैन, अन्नपात, तरकारी बेचेरै दसैँ खर्च जटाउनुपर्छ," उनले भनिन्। 

दसैँमा हुने खानेहरूका लागि हर्षोल्लास भए पनि हुँदा खानेहरूका लागि दशा नै बनेर आएको बानियाँले गुनासो गरिन्। दसैँलाई सम्पन्न परिवारका सदस्यले मोजमस्ती गर्ने अवसरका रूपमा लिने गरे पनि गरिब नागरिकका लागि दसैँले आउँदा खुसीयाली र जाँदा ऋणको भारी बोकाएर जाने गरेको बिगुटारकी टीकामाया भुजेल बताउँछिन्। "गरिब समुदायका लागि दशैँ साँच्चिकै नआइदिए हुन्थ्योजस्तो लाग्छ, हरेक वर्ष ऋण थपिन्छ" गला अवरुद्ध पार्दै उनले भनिन्। रुम्जाटार-८ का ५८ वर्षीय भक्तबहादुर दर्जीलाई पनि यसपालिको दसैँ दशा बनेर आएको छ। 

दर्जीलाई छजना आफ्ना केटाकेटीको आङ छोप्न र मिठो खाना खुवाउन कहाँ गएर के जुटाउने भन्ने चिन्ताले पिरोलेको छ। 'यसो गरे पिर उसो गरे पिर, मलाई त बढी पैसाकै पिर छ हजुर, 'के गर्ने, मलाई वर्ष दिनमा आएको चाड मनाउन र केटाकेटीलाई एकसरो लाउन खान समेत कहाँ गएर माग्ने भन्ने चिन्ता छ।' दर्जीले आफ्नो व्यथा यसरी पोखे। "हुनेखानेहरूका लागि त दसैँ राम्रै आएको होला तर हामीजस्ता गरिबका लागि दसैँ नै दशा बनेको छ," उनले गुनासो गरे। "केटाकेटीलाई दसैँ आएको छ, तर व्यवहार धान्नेहरूका लागि के दसैँ के तिहार, केही चाडपर्व पनि नआइदिए हुन्थ्यो जस्तो लाग्छ।' 

दर्जीले भने रुम्जाटारका भक्तबहादुर मात्र होइन वेतिनी गाविस वडा नं २ का ६८ वर्षीय नारदमुनि धमलालाई पनि दसैँको पीडा कम छैन। नौवर्षे नातिलाई सात पाथी कोदोको भारी बोकाएर ओखलढुङ्गाको शनिबारे बजारमा दसैँको सामग्री किनमेल गर्न आएका धमला कोदो बेचेर आलु र चिनी किन्ने बताउँछन्। धमलालाई घरदेखि ल्याइएको सात पाथी कोदो बेचेर दसैँ खर्च टार्नु छ। 'हुने खानेले घरमै खसी काट्छन्, मेरो त दसैँ आलु र स्कुसको तरकारीले टार्नुपर्छ' धमलाले भने। 

बजार महंँगिएको छ, किसानको त भाउ नै छैन। किसानले धेरै मेहनत गरेर उत्पादन गरेको एक पाथी कोदो जम्मा ७० रूपैयाँमा बेच्नुपर्छ, बजारमा चिनी ९० रूपैयाँ किलो छ , के गर्ने, किसानको समस्या यस्तै छ,' उनले दुखेसो पोखे। दशैँमा अरूको देखासिखीले आफ्नो परिवारमा समेत कतिको नकारात्मक प्रभाव पारेको उदाहरण प्रशस्तै छन्। 

कतिलाई ऋण काढेर दसैँ मनाएको भोलिपल्ट ऋण तिर्न बिदेसिनुपर्ने बाध्यता छ। यसरी आडम्बरी नभई आफ्नो क्षमताअनुसार साधारण तरिकाले मनाउनुपर्ने स्थानीय शिक्षिका मैयाँदेवी दाहालले बताइन्। दसैँको ऋणले कतिपयले घर खेत बेच्नुपर्ने अवस्था आउने भएकाले घरमा जे छ त्यही परिकार खाएर आनन्दसाथ दसैँ मनाउनुपर्ने शिक्षिका दाहालको सुझाव छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com