कार्तिक ५,
अर्जुनधारा (झापा) :- झापाको शनिश्चरे/अर्जुनधारा गाउँ साहित्यिक सर्जकका लागि ऊर्वरभूमि भन्दा फरक पर्दैन । मदन पुरस्कार विजेता कृष्ण धरावासीदेखि कृष्ण बरालसम्मका चलेका साहित्यिक नाम यसै गाउँका उत्पादन हुन् ।
तीमध्ये छुटाउनै नहुने अर्को नाम हो- नरबहादुर योङहाङ अर्थात् ७२ वर्षीय नवल फाइवाली ।
मोरङको सिंहदेवी गाविसमा जन्मिए पनि झापालाई कर्मक्षेत्र बनाएका फाइवाली विगत चार दशकदेखि साहित्यिक सिर्जनामा सक्रिय छन् । विशेषगरी किराँत, भाषा र साहित्यको विकासमा यिनको कमल सक्रिय रूपमा चलिरहेको छ ।
'अहिले किराँत भाषा संकटग्रस्त बनेको छ,' अर्जुनधारा-४ स्थित निवासी उनले भने, 'त्यसको पुनर्उत्थानका लागि लागिरहेको छु ।'
तीनताका एउटा लिम्बुको छोराको पहिलो रोजाइ भनेको सेनाको जागिर हुन्थ्यो । तर, उनले त्यसप्रति कहिल्यै रुचि देखाएनन् । घरमा बुवाआमाको सपना पनि छोरो लाहुरे होस् भन्ने नै थियो । तर, उनले आमाबुवाको सपनामाथि पनि तुसारपात गरिदिए । स्कुले जीवनदेखि कविता कोर्ने उनले साहित्यलाई आफ्नो ठाने । भन्छन्, 'संगतले मलाई साहित्यकार बनायो ।'
आधुनिक पुस्ताले किराँत भाषालाई विस्तारै बेवास्ता गरिरहँदा फाइवालीले भने वृद्ध जोस र जाँगरलाई यसैको उत्थानमा खर्चिएका छन् ।
'हाम्रो भाषा नाजुक बन्दै गएको छ,' उनले भने, 'युवापुस्ताले भाषा बिर्सन थालेका छन् ।' उनको व्यक्तिगत विश्लेषणलाई आधार मान्ने हो भने किराँत र लिम्बु भाषा अचेल बूढा पाकाहरूमा मात्रै सीमित बन्दै गएको छ । 'यसको संरक्षण ज्यादै चुनौतीपूर्ण छ,' उनले भने ।
फाइवालीले 'अन्यायको हार' कृति २०३६ सालतिरै छापेका थिए । त्यसपछि संक्षिप्त खस लिम्बु शब्दकोष -२०४९), किराँत ऐतिहासिक सवाइ -२०५०), मुक्पान सुम् -लिम्बु उखान (२०६१) लगायत करिब दर्जन कृति प्रकाशित भइसकेका छन् । लिम्बु भाषामा लेखिएको उनको पछिल्लो उपन्यास प्रकाशन क्रममा छ ।
'नेपाली पुस्तकका पाठक पाउन धौधौ हुन्छ,' लिम्बु भाषा साहित्य प्रतिष्ठानका निवर्तमान उपकुलपति समेत रहेका फाइवाली गुनासो गर्छन्, 'लिम्बु भाषाका पाठक पाउन त सिलो नै खोज्नुपर्ने अवस्था छ ।' उनको अनुभवमा कृति प्रकाशित गरेपछि पढिदिनुपर्यो भन्दै हिँड्नुपर्ने बाध्यता छ ।
२०५८ सालको जनगणनालाई आधार मान्दा देशभर लिम्बु जातिको संख्या ३ लाख ५९ हजार ३ सय ७९ थियो । झापामा मात्रै ३७ हजार ९ सय २८ लिम्बु छन् । जसमा लिम्बु भाषा बोल्ने निक्कै थोरै छन् । लेख्ने त्योभन्दा कम । 'युवापुस्ता बाहेक ७५ प्रतिशतले लिम्बु भाषा बोल्छन्,' फाइवाली भन्छन्, '४० प्रतिशत जतिले मरितरि लेख्छन् ।'
सरकारले लिम्बु भाषालाई ५ कक्षासम्म अनिवार्य अध्यापन गराइनुपर्ने बताए पनि त्यो हालसम्म लागू हुन सकेको छैन ।
झापाको सुरुंगास्थित दहीझोडामा लिम्बु भाषामा अध्यापन गराउने गरिए पनि हाल बन्द हुने अवस्थामा छ । फाइवालीले अनिवार्य लिम्बु भाषा अध्यापन कार्यक्रमलाई सरकारले प्रोत्साहनको सट्टा उपेक्षा गरेको बताए । कुनै समय लिम्बु भाषा र साहित्यको विकासका लागि लिम्बुहरूले अनिवार्य मातृभाषा बोल्नुपर्ने अभियानको समेत नेतृत्व गरेको फाइवाली राज्यको असहयोगका कारण सफल बन्न नसकेको बताए ।
२०३४ सालमा लोक सेवा पास गरेर सरकारी सेवा गरेका फाइवाली २८ वर्षे जागिरे जीवनबाट केही वर्ष अघि रिटायर्ड भएका हुन् । उनले आफ्नो सम्पूर्ण रिटायर्ड जीवन किराँत भाषा र साहित्यको उत्थानमा बिताउने सोच बनाएका छन् । 'अब सम्पूर्ण जीवन यसैमा खर्चिन्छु,' उनी भन्छन् । इकान्तिपुर