प्रधानमन्त्री स्वागतार्थ ब्याजमा ऋण छ हजार

महोत्तरी, आश्विन २९ ,

फुलकहा ६, मनहरवाका ६३ वर्षीय बिसुनी सदालाई असोज २७ गते अविस्मरणीय दिन रह्यो । त्यो दिन उनका लागि मात्र नभएर मनहरवा गाउँलगायत सम्पूर्ण मुसहर र दलित समुदायका लागि ऐतिहासिक हुन सक्छ किनभने पहिलोपटक प्रधानमन्त्री बाबुराम भट्टराई छोरी मानुषी र दलबलसहित आर्थिक, सामाजिक रूपले अति दयनीय बिसुनी सदाजस्ता मुसहरको घरमा बास बस्न पुगे । 

प्रधानमन्त्रीले मुसहर समुदायले खाने घुङी (शंखेकिरा) को तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार रमाइलो मानी खाइदिए । पर्याप्त थालसमेत नरहेको उनको घरमा केराको पातमा पस्केको भोजन आँगनमा बसेर प्रधानमन्त्रीले खुसीपूर्वक खाइदिँदा बिसुनी र उनका परिवार मात्र नभई सिंगो दलित समुदायले शिर ठाडो भएको अनुभूति सुनाए । यो दृश्यले बुढापाका रामायणकालीन सबरी र भगवान् रामबीचको जुठो बयरलाई सम्झिरेहका थिए भने युवा पुस्ता सामाजिक परिवर्तनको अनुभूति गरिरहेका थिए । 

प्रधानमन्त्रीको यो कदमले छुवाछूतविरुद्ध सन्देश दिएको स्थानीय बुद्धिजीवीको प्रतिक्रिया थियो । आफ्नो घरमा प्रधानमन्त्रीलाई स्वागत गर्दा गदगद बिसुनीको मन अर्को कुराले भने भतभत पोलिरहेको थियो । त्यो थियो— प्रधानमन्त्रीको स्वागत गर्न चर्को ब्याजमा लिएको ऋण कसरी तिर्ने भन्ने पिरलो 'प्रधानमन्त्री आउँदा खुसी त लागेको छ,' उनले भने, 'तर यसैका लागि मैले ब्याजमा ऋण लिनुपर्‍यो । यो ब्याज कसरी तिर्ने भन्ने चिन्ता पनि बढेको छ ।' उनले छिमेकी मगरथानाका साहु देवेन्द्र चौरसियासँग महँगो ब्याजमा ६ हजार ऋण लिएको बताए । 

ऋण काढेको पैसा प्रधानमन्त्रीलाई ख्वाउने सीधा सामल, तेल, मसला खरिद गर्न सबै खर्च भएको उनले सुनाए । 'देशकै प्रधानमन्त्री गरिबको घरमा आउने भएपछि ज्यान बेचेर भए पनि स्वागत त गर्नै पर्‍यो,' उनले भने, 'छोरा पन्जाव कमाउन गएका छन्, उनीहरूसँग माग्छु, बनिबुतो गरेर पनि ऋण त तिर्ने सोचेको छु ।' प्रधानमन्त्री आउने भएपछि कार्यकर्ता र हेर्न आउनेलाई बिसुनीको घरदेखि केही पर अर्को घरमा विशाल भोज थियो । त्यहाँका भान्से सुरज रायका अनुसार भोजमा ४ क्विन्टल चामल, ६० किलो दाल, ६ मन (२ सय ४० किलो) आलु, परबल र ४० किलो प्याजको तरकारी र अचारको भोज बनाइएको थियो । हजार जनाभन्दा बढीले त्यो खाएका थिए । त्यसको खर्चपर्च भने माओवादी कार्यकर्ताले व्यवस्था मिलाएका थिए । 

प्रधानमन्त्रीले बिसुनीको घरमा पाइला राख्नुअघि २ कक्षाभन्दा माथि नपढेका त्यहाँका १ सय ५० घर मुसहर समुदायको आयआर्जनका लागि २० लाख सहयोग दिने, सबैको घरमा शौचालय बनाइदिने र प्रतिपरिवार एक कम्बल र एक थान झुल दिने घोषणा गरेका थिए । 'जुन नेता आए पनि भाषणमा यो दिन्छु र ऊ दिन्छु भन्छन्,' स्थानीयहरूले भने, 'प्रधानमन्त्रीले पनि दिने कुरा त गरे तर नदिउन्जेल कसरी विश्वास गर्ने ?' उनीहरूका अनुसार सय वर्षभन्दा बढीदेखि बसोबास गर्दै आएका सबै मुसहरको २२ कठ्ठा १२ धुर जमिन ४२ वर्षअघि सोनफी राय नामक व्यक्तिले आफ्नो नाममा लालपुर्जा निकाली बेचबिखन गरी दिएकाले सबैभन्दा ठूलो समस्या थातथलोको छ । 

'प्रधानमन्त्रीले सबैभन्दा पहिले हाम्रा पुर्खादेखि बसोबास गर्दै आएको थलोको लालपुर्जा दिलाइदिऊन्,' उनीहरूले एकै स्वरमा भने, 'त्यसपछि अरू कुरो लिँदै गरुँला ।' 'मुसहर बस्तीको यथार्थ थाहा पाएनन्' महिनाको अन्तिम दिन गरिब बस्तीमा बिताउने कार्यक्रमअन्तर्गत महोत्तरीको फुलकहा ६, मनहरवास्थित बिसुनी सदा मुसहरको घरमा आएका प्रधानमन्त्रीले मुसहर समुदायको वास्तविक अनुभूति भने गर्न पाएनन् । मुसहर तराईको अति पिछडिएको समुदायमध्ये पर्छ । आधारभूत आवश्यकताबाट वञ्चित यो समुदायको बस्ती राति अन्धकारप्रायः रहन्छ । कसैका घरमा पनि सिरक, डस्ना हुँदैन । जीउमा लगाएको बाहेक लत्ताकपडा रहँदैन । यो गरिबी हेर्न प्रधानमन्त्रीले नपाएको स्थानीय कुटलीदेवी सदाले बताइन् । 

प्रधानमन्त्री छोरीका साथ पुग्दा उनलाई असुविधा नहोस् भनेर मुसहर बस्तीमा कार्यकर्ताले पहिलोपटक जेनेरेटर लगाएर झिलिमिली बत्ती बालिदिएका थिए । उनी पुगेको ठाउूमा ठूलाठूला पंखा जडान गरिएका थिए । टेन्ट हाउसबाट विस्तरा ल्याई झुलसहित तकिया र सुविधाजनक ओछ्याउने व्यवस्था गरिएको थियो । पिउने पानीका लागि मिनरल वाटर पनि थियो । 'हामी मुसहरको ओढ्ने भने पनि ओछ्याउने भने पनि एउटा चटाई (गुन्द्री) हो,' सुकमरिया सदाले प्रश्न गरिन्, 'मुसहरको छानोमुनि सुते पनि सुख सुविधा त धनीमानीको भन्दा कम भएन । प्रधानमन्त्रीले कसरी थाहा पाए होलान् र हाम्रो दुःख ?' रबिन्द्र उप्रेती ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com