नवौं दिन, आज महानवमी पर्व मनाइँदै

काठमान्दौं, कार्तिक ७,

दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ।

 यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ।

 पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजाा र निशानपूजा पनि गरिन्छ।

 महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ। काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोल्ने गरिएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com