पोखरा, आश्विन २१,
लालप्रसाद शर्मा :- विद्यालय गएर पढ्दै साथीभाइसँग खेल्ने उमेर । तर २ वर्षकै उमेरमा लडेर टाउकोमा चोट लागेपछि उनको भविष्य बर्बादमात्र भएन, अहिले आफन्तलाई समेत 'बोझ' बन्न पुगेकी छन् । न बाबुले हेर्छन् न त आमाको स्याहारसुसार । वृद्ध मावली हजुरबा उनको एउटै सहारा बनेका छन् । उनी हुन् १० वर्षीया दीपु गुरुङ । टाउकोको चोटको समयमै उपचार नभएपछि उनको मानसिक सन्तुलन बिग्रेको छ ।
त्यसैले त मावली हजुरबा लमजुङ पसगाउँ ४ का ६५ वर्षीय योगमान घलेले उनलाई आफू बाहिर जाँदा सुन्दासम्म सबैको आङ सिरिङ हुने गरी घाँटीमा फलामे साङ्लोले बाँध्ने गर्छन् । तर यो उनको रहर नभई बाध्यता बनेको छ । हाल पोखरा १०, रामबजार बस्ने दीपु जथाभावी दौडने, भाग्ने र फोहोर खाने भएकाले घलेले उनलाई आफू नहुँदा साङ्लोले बाँध्ने गरेका हुन् । 'गाईबस्तुलाई झैं बाँध्नुपर्दा दुःख लाग्छ,' घलेले भने, 'कहिलेकाहीँ आफ्नो दिसा आफैं खाने र भागेर बेपत्ता हुने भएकाले बाँध्नुको विकल्प छैन ।' उनलाई घरभेटीको गोठ तथा आफ्नो कोठा अगाडिको खम्बामा बाँध्ने गर्छन् ।
घलेका अनुसार ११ वर्षअघि पसगाउँमा चलचित्र सुटिङका लागि गएका गोरे गुरुङसँग जेठी छोरी शान्तिको अवैध यौन सम्पर्कबाट दीपुको जन्म भएको हो । विवाह गर्ने भन्दै छोरीसँग सम्पर्क गरे पनि नातिनी जन्मिएपछि बेवास्ता गरेकाले अहिले आफूले स्याहार्नुपरेको उनले बताए । आश्वासनमा आफ्नो कुमारित्व सुम्पिएकी शान्ति पनि पतिले नहेरेपछि ५ वर्षअघि कुवेत गएकी छन् । नियमित खर्च पठाइरहने शान्ति गत पुसमा आएर फर्किएपछि भने पहिलेको जस्तो वास्ता गर्न छाडेको उनले बताए ।
'ज्वाइँ भन्नेको आसै भएन, छोरी पनि उम्केर गई,' घलेले भने, 'तर मायाले दीपुलाई पालिरहेको छु । कुनै दिन उपचार भएर निको हुने विश्वासमा पनि छु ।' कुनै संघसंस्था वा व्यक्तिविशेषले सहयोग गरिदिए उपचार हुन्थ्यो कि भन्ने उनले आशा लिएका छन् । कसैले लैजान चाहे पनि दिने उनले बताए । लड्नासाथ क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याए पनि आर्थिक अभावले बीचैमा रोक्दा दीपुको यस्तो अवस्था आएको घलेले बताए ।
घलेका दुई श्रीमतीको मृत्यु भइसकेको छ ।
पोखरामै रहेका २ छोराले उनलाई हेर्दैनन् । त्यसैले दैनिक मजदुरी गरी आफू र दीपुको पेट पालिरहेका छन् । 'मेरो दुःख देख्दा कतिले दीपुलाई छाड्दे, जता जान्छे जान्छे भन्छन्,' भावविह्वल मुद्रामा घलेले भने, 'त्यसो गर्न मनले मानेन, सकुन्जेल पाल्छु भनेर बाँधेरै भए पनि राखेको छु ।' घलेले गोरे यति बेला बेलायत रहेको सुने पनि विस्तृत थाहा नभएको बताए ।इकान्तिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै