भबिष्य खोज्दै पार्लरमा I

काठमाडौं भदौ २३,

नवीन अर्याल/सन्तोष न्यौपाने :- प्रतिमा कार्की, २३। पेसाले ब्युटिसियन। दुई वर्षअघि दोलखाको गौरीशंकर स्कुलमा अध्यापनका लागि जाँदा उनलाई त्यो पेसाले खासै आकर्षण गर्न सकेन। फेरि काठमाडौं फर्किइन्।


भर्खरै ताहाचलको महेन्द्ररत्न क्याम्पसबाट बिएड सकेकी यिनको सानैदेखिको सपना थियो- भविष्यमा 'टप' ब्युटिसियन बन्ने। अहिले उनी आफ्नो सपना पूरा गर्न दत्तचित्त भएर लागेकी छिन्। भन्छिन्, 'नेपालमै ठूलो पार्लर खोल्ने इच्छा छ।'

प्रतिमा एक्ली युवती होइनन्, जो यो पेसाबाट नाम र दाम दुवै कमाउन उद्वेलित छन्। उनीजस्तै ८ वर्षअघि विराटनगरबाट काठमाडौं पसेकी भगवती कार्की पनि यही पेसामा भविष्य खोजिरहेकी छिन्। विराटनगरबाट 'प्लस टु' सकेपछि उच्च शिक्षाका लागि काठमाडौं छिरेकी भगवतीलेे साथीको सल्लाहमा गंगबुस्थित आइटिसीबाट ब्युटिसियन कोर्स गरेकी थिइन्। हाल बिबिएस तेस्रो वर्षको अध्ययन सिध्याएर बसेकी भगवती काठमाडौं मलस्थित 'दि हियर स्टोरी एन्ड ब्युटी सैलुन' मा कार्यरत छिन्। उनको पनि योजना छ- 'पर्फेक्ट ब्युटिसियन बन्ने।'

विगतमा पार्लरमा काम गर्ने व्यक्तिप्रति समाजको धारणा राम्रो थिएन। अहिले कामलाई सम्मान गर्ने सामाजिक धारणामा आएको परिवर्तनस"गै कामकाजी महिलामात्र होइन, ठूलो युवापंक्ति यो पेसामा आकर्षित हुन थालेको छ। नेपालमा हाल करिब एक लाख हाराहारीमा युवायुवती पार्लरमा कार्यरत छन्। ४ वर्षअघिको तथ्यांक मान्ने हो भने नेपालमा १० हजार ४ सयभन्दा बढी सैलुन खुलिसकेका छन्। 'ब्युटिसियन भएबापत कसैले होच्याएको अनुभव मलाई छैन, अझ घरपरिवारको बिहेमा जाँदा राम्रो बनाइदेऊ भनेर झुम्मिन आउँछन्', बैकर परिवारकी प्रतिमा भन्छिन्।

नेपालमा झन्डै सय वर्षअघि पहिलो सैलुन खुलेको थियो। भीमसेन थापा प्रधानमन्त्री हुँदा गणेश ठाकुरका पिताले सुन्धाराको दक्षिणपट्टि सैलुन स्थापना गरेका थिए। यो सैलुन अहिले पनि सुन्धारामा छ।
उनको परिवारका धेरै सदस्य अहिले अन्य पेसामा मोडिसकेका छन्। तर, विदेशमा छिट्टै जागिर पाइने र नेपालीमा बढ्दो 'ब्युटी कन्सस' का कारण यो पेसामा मध्य-आय भएका परिवारमात्र होइन, अभिजात वर्गको उपस्थिति पनि उत्साहपूर्ण ढंगले बढेको छ।

'कपाल काट्ने पुस्तैनी पेसाबाट हामी ठाकुर बरु अन्य पेसातर्फ मोडिएका छौं, हिजोआज बाहुन-क्षेत्रीहरू कपाल काट्ने र ब्युटीसम्बन्धी तालिम लिन आउ"छन्,' नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरको अनुभव छ। अहिले नेपाली ब्युटिसियनको विदेशमा माग उच्च छ। त्यसैले होला, छोटो समयको तालिममै पनि थुप्रै नेपाली विदेशमा काम गर्न जाने गरेका छन्। नागरिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com