टाढा भयौ तिमी I



तिमीलाई धेरै नै माया गरेर त हो नि ,
अफ्नोलागि केहिकुरा माग्नखोजें मैले l
सत्य,निष्कपट र निष्कलंकलेभरिएको ,
अन्जुलीभरिको मायाँ मागेकोथिएँ मैले l
हार्दिकता र आत्मीयताले सिंगारिएको ,
यौटा गहन बिश्वास मागेकोथिएँ मैले l
तर तिमीले केहिपनि दिन सकेनौ मलाई ,
बोल्दै नाबोलिकन तिमी मबाट टाढा भयौ l

मेरो अन्तरात्मा र सर्वस्व नै थियौ तिमी ,
त्यसैले मीठो आशा-भरोशा मागेकोथिएँ l
अत्यन्तै बोझिलो भैसकेकोथियो जीवन ,
त्यसैले एउटा बलिष्ठ सहारा मागेकोथिएँ l
तिमीमै पूर्णरूपमा आश्रित भैसकेकोथिएँ ,
स्नेह र प्रेमले रंगिएकोसंसार मागेकोथिएँ l
तर तिमीले केहि पनि दिन चाहेनौ मलाई ,
सुन्दै नसुनीकन तिमी म बाट टाढा भयौ l

तिम्रै सामू पटक पटक मरि रहेको थिएँ ,
त्यसैले त एकमुठ्ठी स्वास मागेको थिएँ l
पल-पलको संघर्षले थाकि सकेको थिएँ ,
गह्रौं भारी बिसाउने चौतारी मागेकोथिएँ l
शीत-ताप र भोक-प्यासले व्याकुल थिएँ ,
त्यसैले एकथोपाजीवनजल मागेकोथिएँ l
तर तिमी अत्यन्तै निष्ठुर भएछौ मसँग,
हेर्दै पनि नहेरिकन तिमी मबाट टाढाभयौ l

उजाड र उराठ्ताले जकडिएकोथियो जीवन,
त्यसैले अलिकति वसन्तऋतु मागेको थिएँ l
स्वार्थई स्वार्थले जीर्ण भैसकेको थियो शरीर ,
त्यसैले पनि निस्वार्थको टेको मागेको थिएँ l
तिरष्कार र अपमानले चिथडा भएको थिएँ,
त्यसैले थोरै भएपनि सद्भावना मागेकोथिएँ l
तर तिमी त अत्यन्तै कपटी भएछौ मसङ्ग ,
बुझ्दै पनि नबुझिकन तिमी मबाट टाढाभयौ l

धन्न मैले तिमीसंग आकाश माग्नखोजिन ,
नत्र त तिमी झन् झन् आत्तिने थियौ होला ?
अझ मैले तिमी सङ्ग धरती नै मागेको भए ,
निरन्तर बौलाएर बेसरी चिच्याउथ्यौ होला ?
एउटा सदप्रेमलेभरिएको बस्ती मागेको भए ,
तिमी त लाचारीले टकटकीएर लुक्थ्यौ होला?
इमान्दारीता र नैतिकताको देश मागेको भए,
देशै छोडेर विदेशतिर पलायन हुन्थ्यौ होला ?

त्यसैले अब तिमी निर्धक्कसङ्ग बसे हुन्छ ,
तिमी सङ्ग केहिपनि माग्ने रहर गर्ने छैन l
आनन्द सङ्ग मनमा लागेको कुरा गरेहुन्छ ,
बिर्सेर पनि तिमीलाई बिथोल्न आउने छैन l
अब कुनैकुराको पनि अभाव हुनेछैन मलाई ,
सिर्फ मुक्तिको चाहना मात्र बाँकि रहने छ ,
त्यसकोलागि कुनै वैभवताको खाँचोपर्नेछैन ,
एक चम्चा पवित्र गंगाजल नै पर्याप्त हुनेछ l

कोमल भट्ट,काठमाडौँ , (हाल:-न्यु योर्क )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com