सयौं वर्ष पुरानो डुङ्गा भेटियो महोत्तरीमा I

गौशाला, भदौ १९,

महोत्तरीको मटिहानी-९ स्थित बिग्ही नदीको किनारमा मङ्गलबार सयौं वर्ष पुरानो डुङ्गा फेला परेको स्थानीयहरूले जनाएका छन्। फेला परेको सो पौराणिक डुङ्गा हेर्न आउनेहरूको भिड लागेको छ।

 माटो खन्नका लागि नदी पुगेका कामदारहरूले डुङ्गाको माथिल्लो भागको काठ देखेपछि काठलाई कोदालेले खन्दै जाँदा सो डुङ्गा फेला परेको हो। मटिहानीका स्थानीयहरूले सो डुङ्गालाई करिब चार घण्टाको अथक प्रयासबाट माटोमुनिबाट बाहिर निकालेका थिए।

मटिहानी धार्मिकस्थल रहेकाले सो डुङ्गालाई अहिले विशेष महत्वका साथ स्थानीयहरूले हेर्ने गरेका छन्।

करि ५ फिट चौडा र ३० फिट लम्बाइ रहेको सो नाउँमा "२०४ अर्घनाउ" उल्लेखित रहेकोले सो डुङ्गा धेरै पुरानो र पौराणिक हुन सक्ने मटिहानीका स्थानीयहरूको अनुमान रहेको छ।

भगवान सीता र रामको विवाहका लागि मटिहानीबाट नै माटो उत्खन्न गर्ने कार्य गरिएकाले सो ठाउँ धार्मिक स्थलको रुपमा जिल्लामा चर्चित रहेकाले डुङ्गा फेला परेपछि स्थानीय बुढापाकाहरूले सोही कथासँग गास्न थालेका छन्।

डुङ्गा नदीभित्र पानी र माटोमुनि रहे पनि सोको काठ भने अझै पनि सडेको छैन। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com