जिज्ञासाएउटा फेसबुक वालमा, राखियो सोधेर,
प्यारो र डरलाग्ने कुरा एकएक शब्दमा के भनेर !!
जीवन हो प्यारो, मृत्यु हो डरलाग्दो, भने धेरैले,
मानिस प्यारो मानिस नै डरलाग्दो, भने कसैले !!
भनियो पृय बस्तु केही हुन्न अरु, सिवाय माया,
मृत्यु ठूलो होइना डरलाग्दो त, गरीविको छाँयाँ !!
मृत्यु थाहै छ सबलाई, जीवनको अन्तिम गमन,
स्वतन्त्रता नै प्यारो, डरलाग्दो निरंकुशता दमन !!
भनियो स्वआर्जन प्यारो, डरलाग्दो पनि यही नै,
मित्रनै शत्रु बने डरलाग्दो, परिवार पृय त्यहीनै !!
आगो दुबै चिज, अनि डरलाग्दो, खराव संगत,
प्रेम प्यारो, विस्वास घात नै खराव एक फगत !!
सबै विचार मीठा छन्, सबैको आफ्नै मूल्य छ,
सबै तार्किक छन्, एकसंग अर्को कहाँ तुल्य छ !!
सम्मान सबै अग्रजप्रति, अनि सबै विचार प्रति,
गणित हैन विचार नै हो मेरो, राखें है सरसर्ती !!
स्वतन्त्रता बिनाको जीवन, त्यागे सहिद जतिले,
इज्जत गुमेपछि, आत्मा हत्या पनि गरे कतिले !!
जीवन प्यारो मृत्यु डरलाग्दो, यसमा संदेह छैन,
स्वतन्त्रता र इज्जत विना, जीवनको मूल्य छैन !!
त्यसैले सबैभन्दा प्यारो, स्वतन्त्रता हो भन्छु म,
बेइज्जतलाई नै सबैभन्दा, डरलाग्दोमा गन्छु म !!
जीवराज बुढाथोकी खलंगा ९,
सल्यान हालः मैतीदेवी, काठमाडौं ।