तीज, परिकार, पहिरन र स्वास्थ्य I

डाक्टर बालकृष्ण साह :- तीजको रहर आयो बरी लै’ के गाउँ, के सहर, तीजमा नरमाउने कमै हुन्छन् । तीजको रमाइलो भनेकै परिकारमा दर र रातो पहिरनमा सजिएका चेलीहरूको नृत्य हो भन्दा फरक नपर्ला । चेलीहरू माइती आउनु तीजको अर्को रमाइलो पक्ष हो । त्यसमा पनि मीठा-मीठा परिकारहरू खाने र भोलिपल्ट गाउँभरिका दिदी-बहिनीहरू नाचगान गरी व्रत बस्ने यो पर्वको सम्झनाले पनि मन आनन्दित हुन्छ ।

तीजको एउटा प्रमुख र रमाइलो पक्ष भनेको दर खानु हो । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । यसरी तयार पारिएका परिकार बनाउन प्रयोग गरिएको तेल, मसला आदिको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छ । घरमा तयार गरिएका परिकारहरू सुन्दर नभए पनि ताजा र स्वस्थकर हुन्छन् तर घरमा यस्ता परिकार बनाउन बढी समय लाग्ने र झन्झटिलो हुने भएकाले अहिले बजारबाट मिठाईं तथा अन्य परिकार खरिद गर्ने चलन बढ्दो छ ।

बजारमा सजाइएका मिठाईंहरू आकर्षक हुनेमा दुई मत छैन तर त्यस्ता मिठाईंलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग तथा पि्रजभेटिभहरू प्रयोग गरिएको हुन्छ । राम्रा तथा विश्वासिला मिठाईं पसलेहरूले समेत कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका हुनसक्छन् । यसले कसैलाई पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङ आदि गराउन सक्छन् ।

खाद्यपदार्थलाई बिग्रनबाट जोगाउने पदार्थ अर्थात् पि्रजभेटिभको एलर्जी धेरैलाई हुन्छ जसले गर्दा मुख तथा जिब्रोमा घाउ, खटिरा आउन सक्छन् । त्यस्तै दरमा विभिन्न किसिमका अचार पनि राखिन्छ । यस्ता अचारले खानामा रुचि बढाउने भए पनि धेरै चिल्लो र मसलेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या पनि देखिन सक्छ ।

दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरमा घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ -बोसो) बाट बढी शक्ति पाइने भएकाले यस्तो भएको हो तर यसरी धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ । त्यसैले दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु राम्रो मानिन्छ ।

दरमा समावेश गरिने अर्को प्रमुख खाद्यपदार्थ हो-मासु । मासु खसीको होस् वा कुखुराको वा अन्य कुनै, हरेक जन्तुको मासुमा प्रोटिन, चिल्लो पदार्थ -बोसो), खनिज पदार्थ -मिनरल), पानी तथा भिटामिनहरू पाइन्छ । मासुको किसिमअनुसार ती पदार्थको मात्रामा केही फरक हुन्छ । हरेक मासुमा चाहिने पोषक तत्व पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणले यसलाई राम्रो वा पोषिलो मानिन्छ ।

राम्रोसँग पकाइएको मासु सजिलै पचाउन सकिने हुनाले अधिकांश बिरामीलाई मासु ख्वाउन सल्लाह दिइन्छ । आजभोलि मासुलाई सामान्य तरिकाले पकाएर खाने भन्दा पनि सेकुवा, भुटन, तास, छोयला, कचेला, ग्रेभी आदि बनाएर खाने चलन बढ्दो छ । यसरी मासुको परिकार बनाउनु हुँदैन भन्ने छैन तर मासु राम्रोसँग पाकेको हुनुपर्छ ।

राम्रोसँग तयार नगरिएको वा राम्रोसँग नपकाइएको मासुमा विभिन्न किसिमका जुकाका अण्डा एवं सूक्ष्म जीवाणु आदि हुन सक्छन् । यस्तो मासु खानाले मासुमा भएका जीवाणु तथा विषादीहरूले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने, ज्वरो ल्याउने तथा विभिन्न किसिमका संक्रमण गराउने हुनसक्छ । त्यसैले राम्रोसँग तयार गरिएको सफा मासुलाई आवश्यक मात्रामा पकाएर मात्र खानुपर्छ । मासु पकाउँदा बढी तेल तथा मसला प्रयोग गर्नु हुँदैन ।

एउटा स्वस्थ व्यक्तिले एकदिन निराहार बस्न नसक्ने होइन । हाम्रो शरीरलाई दैनिक करिब २ हजार २ सय ७० क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति हामीलाई खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा हामीलाई यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा उक्त शक्ति हाम्रो शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ । यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ तर यसले एकैदिनमा कुनै गम्भीर असर गर्ने सम्भावना कम हुन्छ ।

पहिलेदेखि नै कमजोर तथा दीर्घ रोगीहरूलाई एक दिनको निराहारले पनि निकै असर गर्न सक्छ । त्यसमा पनि तीजको व्रतमा पानी पनि नखानुलाई स्वास्थ्यको दृष्टिकोणले कसैका लागि पनि राम्रो मान्न सकिँदैन । हाम्रो शरीरलाई दैनिक २ लिटरभन्दा बढी पानी चाहिन्छ । निराहार बसेको बेला अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई अझ बढी पानी चाहिन्छ ।

कहिलेकाहीँ व्रतालु महिलाहरू नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने गरेको हामीले देखेका छौं । हाइपोग्लाइसेमिया -ग्लुकोजको मात्रा कम हुनु) वा हिट सिन्कोपका कारणले त्यस्तो भएको हुन सक्छ । यस्तो अवस्थामा पनि पानी, ग्लुकोज पानी वा जीवनजल फाइदाजनक हुन्छ । व्रत तथा उपवासका बेला अन्न नखाए पनि पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com