त्यो तीज र यो तीजमा आकाश जमिनको फरक छ !I

ऋचा अर्याल- झण्डै ७६ वर्षसम्म तीजमा निराहार बसेकी ८३ वर्षीया लीला रेग्मी ४/५ वर्षयता तीजको रात काँडापानी खान थालेकी छिन्। छोरीबुहारीको करकापमा व्रतको दिन बेलुकी काँडापानी खान थालेकी उनी त्यसअघि २४ घण्टासम्म पानीसम्म खाँदिनथिइन्।

'त्यो बेलाको चलन बेग्लै, पानी खाए श्रीमानको रगतबराबर भन्थे सासुहरू', लीला सम्भि्कन्छिन्, 'यतिसम्म कि 'आमा मुख सुक्यो, पानी खान दिनू न' भन्दा पनि आमाहरू 'हुन्न बा हुन्न' भन्थे।' पानीसम्म नखाई श्रीमानको लामो आयुको कामना गर्दै व्रत बस्ने उनी समयसँगै परिवर्तन भएकी छन्

'त्यो बेला माइती गएर दर खाई व्रत बस्ने चलन थियो, अरुमा निर्भर हुनुपर्ने अवस्था थियो,' उनी भन्छिन्, 'अहिले मान्छे सबै आत्मनिर्भर भैसके, अरूको अधिनमा बस्नु पर्दैन, त्यसैले जे गरे पनि भयो।'
उनका अनुसार उनको बुवाको पालामा दर खाने दिन बेलुकी अँगेनामा ठूलो खड्कुलोमा खिर पाक्थ्यो। पुरी, तरकारी, अचार त भइगयो, सहरबाट पेडा पनि ल्याएको हुन्थ्यो। 

राति १० बजेतिर दाइ, भाउजू, दिदीबहिनी सबै वरिपरि बसेर दर खान्थे। भोलिपल्ट चार बजे सबेरै उठेर दियो, कलश, गणेशको पूजा गरी व्रत बस्थे।अहिले आएको दरको चलनले केही हदसम्म मानिसलाई रमाइलो गर्न र सामिप्य कायम गर्न मद्दत मिले पनि घरका परिवार टाढा भएको पनि उनी अनुभव गर्छिन्। भन्छिन्, 'पहिले दर भन्नासाथ माइत जाने, नाचगान गर्ने भन्ने हुन्थ्यो, अहिले अन्त गएर रमाइलो गर्छन्, आफ्नो घरमा वास्ता हुँदैन।'

लीलाजस्तै चापागाउँकी मन चालिसे पनि उमेरले ६९ वसन्त पार गरिसकिन्। १२ वर्षमै विवाह गरेर श्रीमानको घर गएकी उनी पनि पहिले निराहार व्रत नै बस्थिन्। 'त्यो बेला सासुले जप गरेको पानी पनि ननिल्नू भन्नुहुन्थ्यो,' उनी हाँस्छिन्, 'अहिले त व्रतमा फलफूल खाने चलन आइसक्यो।' पहिले व्रतमा नाचगान गर्न पाइन्छ, नयाँ लुगा लगाउन पाइन्छ भन्नेमात्र सोच हुने उल्लेख गर्दै उनी अहिलेका महिलालाई सधैं दसैं लागेको देखेर दंग पर्छिन्। 

भन्छिन्, 'ऊ जमाना व्रत भनेको के, के, नयाँ लुगा लगाउन दसैं र तीज नै कुर्नुपर्थ्यो। तीज आउनु एक महिनाअघिदेखि नै नयाँ लुगा लगाउन पाइने भयो भनेर बेस्सरी नाच्थ्यौं।' अहिले घरघरमा दर खाने चलन आएसँगै मानिसहरूसँग भेटघाट गर्ने अवसर पनि मिलेको उनले बताइन्। उनका अनुसार उनको पालामा दरकै दिन पनि दिनभर उनले घाँसपात र बस्तुभाउ गर्नुपर्थ्यो। घाम अस्ताउनुअघि नै खाना खाएर राति १० बजेतिर बल्ल दर खान पाइन्थ्यो।
बदलिँदो समयसँगै मानिसमा रमाइलो गर्ने चलन बढेको उनी बताउँछिन्। भन्छिन्, 'त्यसबेला घरमै दर मनाउने चलन हुँदा त्यही रमाइलो हुन्थ्यो, अहिले भेटघाट गर्न पाइने हुँदा यही रमाइलो लाग्छ।'उनीजस्तै थानकोटकी ८० वर्षीया टेककुमारी सिग्देल पनि बदलिँदो समयसँगै अहिलेकै चलन रमाइलो लाग्ने बताउँछिन्। भन्छिन्, 'त्यो बेला बाहिरको खाने चलन थिएन। घरमा भएकै सरसामानले दर मनाइन्थ्यो। अहिले त घरैपिच्छे परिकार बन्छ, त्यही रमाइलो।' 

दर खानकै लागि घरघर जाँदा कयौ वर्षदेखि नभेटिएकालाई पनि भेट्ने अवसर मिलेको उनी बताउँछिन्। भन्छिन्, 'पहिले घाँसदाउरा गरेर दर खान कुद्थ्यौ, अहिले नाचगान गर्न।' उनी खित्का छाड्दै हाँसिन्।
उपत्यकामा तीज आएस"गै दरको लहर बढेको छ। पानी पनि खानुहुन्न भन्ने सोच राख्नेहरू अहिले स्वास्थ्यका लागि पानी आवश्यक हुन्छ भन्न थालेका छन्।

जीउलाई पानी चाहने र व्रत बस्दैमा श्रीमानको आयु बढ्छ भन्नु गलत भएकाले पनि अचेल व्रतमा दिनभर निराहार बसे पनि राति काँडा र फलफूल खाने विशालनगरकै राधा रेग्मी बताउँछिन्। विवाह गरेदेखि नै तीजमा व्रत बस्दै आएकी उनी खाने भन्दैमा तीजमा अन्न कहिल्यै खाँदिनन्। 'यो श्रद्धाको कुरा भएर पनि होला, बेलुकी फलफूलसम्म त खान्छु, अन्न नै खाउँजस्तो लाग्दैन,' उनले भनिन्।

राधाका अनुसार तीजमा व्रत बस्ने भनेर नै उनले अहिलेसम्म तीन ठाउँमा दर खाइसकिन्। जहातहीं दर खाने चलन उनलाई ठिक भने लाग्दैन। 'चिनजानका लागि पनि परिवार तथा छरछिमेकसम्मले बोलाउनु त ठिकै हो, तर फेसन हुनु चाहिँ ठिक लाग्दैन,' उनी भन्छिन्।

खोटाङ घर भई अहिले हाँडीगाउँ बस्ने गीता दाहाल पनि अहिलेको तीज र उसबेलाको तिजम आकाश जमिनको फरक भएको उल्लेख गर्छिन्। 'पहिले हजुरआमा हुँदासम्म त सबै एकै ठाउँमा खान्थ्यौ,' उनले भनिन्, 'पछि बुवाहरू धेरै भएकाले आमाले पालैपालो खान डाक्नु हुन्थ्यो।' त्यसरी परिवारबीच दर खाँदा रमाइलो हुने भए पनि अरूले मनलाग्दो तरिकाले तीज भन्दै बोलाउनु विकृति भएको उनको धारणा छ। उनी भन्छिन्, 'त्यसरी बोलाउँदा हुनेलाई त ठिक, नहुनेले कसरी गर्ने?'

दर खाने दिन आउनु दुई-तीन महिनाअघिदेखि नै दरको कार्यक्रम गर्दा अन्यले समेत यसबारे थाहा पाउने सुशीला जोशी बताउँछिन्। रिद्धिसिद्धि ज्वेलर्सले शनिबार आयोजना गरेको दर कार्यक्रममा अतिथिका रूपमा आएकी सुशीलाले समय परिवर्तनसँगै अहिले तीन महिनाअघिदेखि दरबारे थाहा हुन थालेको बताइन्। भनिन्, 'पहिले दरकै दिन साधारण तरिकाले मनाउँछन् भन्ने थाहा हुन्थ्यो, अहिले साथीहरूले मनाएको देखेर हामीलाई रहर लाग्छ।'

दर खाने नाममा महिनौं पहिलेदेखि दर खानु मन नपर्ने सुनसरीकी ६० वर्षीया सावित्री गौली बताउँछिन्। अहिलेसम्म तीजमा निराहार व्रत बस्दै आएकी उनी परिवर्तनस"गै व्रतको साँझ फलफूल, काँडा र दुध खाएको भने ठीकै मान्छिन्।

'अहिलेका दरो पहिलेका जस्ता दरो हुन्नन, ढल्नुभन्दा खानु नै बेस,' उनको धारणा छ। त्यसैले अहिलेदेखि नै बुहारी भगवती गौलीलाई व्रतको साँझ दुध र फलफूल खान सुझाव दिने उनी स्वास्थ्यको दृष्टिकोणले पानी भए पनि खानुपर्ने बताउँछिन्। भन्छिन्, 'आफू त सासुकै पालादेखि निराहार बसेकोले खाइहाल्न मन मान्दैन तर बुहारीलाई खानबाट रोकेको छैन।' उनकी बुहारी भगवती भने परम्परा धान्न र आत्मसन्तुष्टिका लागि दिनभर भने निराहार व्रत बस्ने बताउँछिन्।

विवाहिता महिलालाई सासुबाटै व्रतमा फलफूल खान सुझाव आइरहेको बेला कपन सरस्वतीनगरकी २१ वर्षीया अस्मिता शिवाकोटी भने दिनभर पानी पनि नखाई व्रत बस्छिन्। भन्छिन्, 'दिदीहरूले लिने गरेको देखेर लिन थालेको, अहिले पनि खाइहाल्न मन लाग्दैन।' 

खासगरी व्रत लिँदा दिदीहरूसँग मन्दिर जान पाइने र रमाइलो लाग्ने भएकाले ५ वर्षअघिबाट व्रत थालेकी उनलाई त्यसबेला यो चलन हो र बस्नैपर्छ जस्तो लाग्थ्यो। 'सबै बसेकाले बस्नैपर्छ जस्तो लाग्यो र बस्दा रमाइलो लाग्थ्यो,' उनले भनिन्।नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com