काठमाडौं, असोज १२,
ऋचा अर्याल :- सुन्धारास्थित न्यु सौदागर ट्राभल्सले यातायात व्यवस्था विभागको अनुगमन टोलीलाई बिहीबार एउटा बसको ३० वटा टिकट बुक भइसकेको जानकारी दियो। न्यु सौदागरका कर्मचारी ओम शर्माले जस्दिन खान नामका व्यक्तिले आफ्नो कालीगढका लागि वीरगन्जका ३० वटै टिकट बुक गरेको बताएपछि अनुगमन टोलीले जस्दिनको नम्बरमा फोन गरी यसबारे सोधपुछ गर्यो।
जस्दिनले छ वटामात्र टिकट बुक गरेको र त्यसमध्ये ४ वटा आफ्ना परिवार र दुइटा खाली बुक गरेको जानकारी दिए। त्यसपछि फोनमै खानलाई बाँकी दुइटा टिकट रद्द गर्न र नगरे कारबाही गर्ने चतावनी दियो। अनुगमन टोलीले सौदागर ट्राभल्सलाई उक्त टिकट रद्द गर्न चेतावनी दियो।
सौदागरका कर्मचारी ओम शर्माले भने, 'उक्त व्यक्तिले टिपटपको नाममा पाँच दिन पहिले टिकट बुक गरेकाले मैले त्यही देखाएको हुँ। यसमा हामीले कुनै चलखेल गरेका छैनौं।'
उनले ट्राभल्सको जाने र फर्कने जम्मा दुइटा बस रहेकाले टिपटपले ती टिकट पहिले नै बुक गराएको बताए।
यातायात व्यवस्था विभागको अगवाइमा अनुगमन टोलीले बुधबार र बिहीबार काठमाडौंका विभिन्न टिकट काउन्टरमा अनुगमन गरेको थियो।
अनुगमनक्रममा टोलीले अधिकांश टिकट काउन्टरका कर्मचारीले समितिकै नाममा बुक गरेको तथा केही हुँदै नभएको व्यक्तिका नाममा बुक गरी उपभोक्ताबाट चर्को रकम असुल्न खोजेको पाएको थियो।
'अनुगमनक्रममा बसपार्कमा भन्दा सुन्धाराका काउन्टरले विद्यार्थीलाई छुट नदिने, हुँदै नभएको व्यक्तिका नाममा टिकट बुक गरेको पाइयो,' अनुगमन टोलीमा सामेल यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चल, साना ठूला यातायातका प्रमुख तुलसी गौतमले नागरिकसित भने, 'हामीले टिकट काटेको व्यक्तिको विवरण काउन्टर कर्मचारीलाई दिन भनेका छौं।'
'काठमाडौंको हकमा अग्रिम बुकिङलाई लिएर ठूलै समस्या देखिएकाले यसबारे मन्त्रीसित बसेर छलफल गर्ने तयारी गरेका छौं,' गौतमले भने, 'छलफलमा व्यवसायीलाई समेत राख्दा त्यसबाट केही निचोड आउला।'
अग्रिम बुकिङ क्रममा विभागले व्यवसायीबाट व्यक्तिको सम्पूर्ण विवरणका साथै उसले कति गते कुन दिनका लागि कुन ठाउँको टिकट बुक गरेको भन्ने विवरण राखी बिदामा पनि नागढुंगा, नौबिसे लगायत नाकामा समेत जाँच गर्ने बताएको छ।
दसैंलाई लक्ष्य गरी यातायात व्यवसायीले कलंकी, गौशाला, कोटेश्वर, सातदोबाटो, बसपार्क, सुन्धारा लगायत क्षेत्रमा टिकट बुकिङ खुला भएको दिन सकियो भनेर यात्रुबाट चर्को शुल्क लिन खोजेपछि अनुगमन थालिएको हो।
पाँच जनाको समूह बनाई गौश्ााला, कलंकी, सुन्धारा लगायत राजधानीका विभिन्न काउन्टर अनुगमनमा गएका उनीहरूले वीरगन्ज, गौर तथा राजविराजमा १ गतेदेखि नै टिकट बुकिङ खुला गरेको तथा पूर्वका बसमा पछाडिको मात्र सिट छ भन्ने तथा विद्यार्थी छुट नदिने गरेको पाए। त्यसैगरी यात्रुको भीड हेरेर गाडी थप गर्ने भनेकोमा त्यो सम्भावना पनि न्युन देखिएको टोलीले पाएको छ।
'महासंघले सुरुबाटै गाडी थप्ने भने पनि सिट प्याक भयो भन्दै रिजर्भमा यात्रु हाल्ने नियत देखियो,' यातायात व्यवस्था कार्यालयका प्रमुख तुलसी गौतमले भने, 'त्यसैले यो रोक्न हामी खटिनेछौं।'
यात्रीलाई सास्ती
दसैंका लागि घर जाने क्रममा टिकट बुक गर्न आएका धनगढीका शैलेस ढुंगानाले आफूले भनेअनुसार टिकट नपाएको गुनासो गरे। बुधबार बिहान छ बजे नै टिकट बुक गर्न सुन्धारा पुगेकामा नपाएपछि बिहीबार फेरि आएको बताए। भने, '१/२ गतेतिर घर जाऊँ भनेर टिकट लिन आएको, २४ गते पछाडि टिकट नै छैन भन्छन्।'
विशेषगरी २४ गते पछाडिको लास्ट सिट मात्र खाली छ जवाफ पाइरहेको बताउने उनले १ देखि ३ नम्बरसम्मको भने सिट नै नभएको जानकारी पाएको उल्लेख गरे।
उनले जस्तै सप्तरीका लक्ष्मण चौधरीले पनि धेरै प्रयास गरेपछि ६ गते बिहानको टिकट त पाए। तर सात सय पर्ने टिकटलाई १२ सय ७० रुपैयाँ हाल्नुपर्यो।
सुर्खेतका हर्कबहादुर बोहराले पनि बडो मेहनत गरेपछि शुक्रबारका लागि घर जाने टिकट त पाए तर विद्यार्थी छुटबिना।
'अरू बेला जाँदा पाइन्थ्यो,' बोहराले भने, 'अहिले त छुट लिन बसपार्क नै जानुपर्ने भन्छन्।'
महाकाली यातायातका कर्मचारी बद्री भण्डारीले सरकारसित सहमति गर्दा व्यवसायीले प्रत्येक बसमा ६ वटा सिटमा मात्र छुट व्यवस्था गरेकाले आफूहरूले सुन्धाराबाट छुट नदिएको बताए।
अग्रिम बुकिङका क्रममा यात्रुले भोगेका समस्याबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि शुक्रबारदेखि अनुगमन गर्ने जनाएको छ।नागरिक