अगाडि आएको सर्पबाट बच्न मोहना नदीमा पसेका चार बालकलाई डुब्नबाट बचाउने युवक स्वयंको भने डुबेर मृत्यु भएको छ। मृतक युएसए उच्च मावि धनगढीका कक्षा १० मा अध्ययनरत रोशन पुलामी मगर रहेको विद्यालयले जनाएको छ।
घर नजिकैको मोहना नदी छेउमा खेल्न गएका आफ्ना सात वर्षीय भाइ रोहनसमेत चार बालकलाई लिन गएको अवस्थामा यस्तो घटना भएको मृतकका आफन्तजनले बताएका छन्।
सर्पको त्रासले नदीमा पसेका बालकहरु सबैलाई डुब्नबाट भने उनले बचाएका थिए। नदी छेउमा खेल्दै गरेका बालकलाई नदीको डिलबाट आएको ठूलो सर्पले लखेटेपछि सबै जना नदीमा पसेका थिए। मृतकको शव शनिबार बेलुकी नै प्रहरीले नदीबाट निकालेर परिवारको जिम्मा लगाएको थियो।
धनगढी नगरपालिका-३ बडहरा गाउँको मोहना नदी छेउ यो घटना भएको हो। छात्र पुलामीमगरको निधनको शोकमा आज उक्त विद्यालय बन्द गरियो। रासस