नेपाली क्रिकेटले विश्वकप खेल्ने सपना बुनेको अहिले होइन, तर नेपालका लागि यो यात्रा कहिल्यै सजिलो रहेन। यसअघिका विश्वकपको छनोटसम्म पुग्न पनि नेपाल संघर्षरत रहँदै आएको छ। नेपाल फेरि एकपल्ट अर्को सातादेखि विश्वकपसम्म पुग्ने पहिलो खुड्किलो उक्लिने प्रयास गर्दैछ। त्यसमा अपेक्षित नतिजा आएन भने विश्वकपको सपना फेरि तुहिनेछ।
'यो नेपाली क्रिकेट टिमका लागि आफ्नो शक्ति प्रदर्शन गर्ने अन्तिम अवसर हुनेछ,' नेपाली टिमका एक सिनियर खेलाडीले भने, 'यसको अर्थ भविष्यमा नेपालले फेरि अर्को अवसर नपाउने भन्ने होइन, तर अब अझ गार्हो हुनेछ, हाम्रो घरेलु क्रिकेटको ढाँचा उस्तै छ। यसपल्ट केही गर्यौं भने गर्यौं, नत्र धेरै पछाडि पर्नेछौं। केही गर्न धेरै ढिलो हुनेछ।'
सन् २०१५ मा अस्टे्रलिया र न्युजिल्यान्डले संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् र त्यसमा नेपाल छनोट हुने आधारका रूपमा आएको छ, आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-फोर। त्यसको शीर्ष दुई स्थानमा रहन सकेमात्र नेपालले विश्वकप छनोटको पहिलो, उत्तिकै लामो र कठिन यात्रा सुरु गर्न सक्नेछ।
मलेसियामा भदौ १८ देखि २५ सम्म हुँदैछन्, डिफिजन-फोरका खेलहरू। छ टिम छन्, यो डिभिजनमा। राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन्, डिभिजन-फाइभमा। बीचका दुई टिम जहाँको त्यही रहनेछन् त्यसैले सबै टिम शीर्ष चारमा आउन ज्यु-ज्यान लगाउन तयार छन्।
यसपल्ट डिभिजन-फोरमा रहेका नेपालसहितका टिम हुन्, सिंगापुर, तान्जानिया, मलेसिया, अमेरिका र डेनमार्क। नेपालले भदौ १८ मा सिंगापुर, १९ मा तान्जानिया, २१ मा मलेसिया, २२ मा अमेरिका तथा २४ मा डेनमार्कको सामना गर्नेछ। फाइनल भदौ २५ मा हुनेछ। प्रतियोगिताको तयारीका लागि नेपाल अहिले श्रीलंकामा छ।
यो साता श्रीलंकामा सात खेलाडी मात्र छन्। प्रशिक्षक पुवुदु दसानायकेसँग चार खेलाडी यू-१९ विश्वकपको समाप्तीसँगै श्रीलंका जानेछन्। थप तीन खेलाडी भने अहिले भारतमा ब्याटिङ प्रशिक्षणमा व्यस्त छन्। एसीसीका रुमेश रत्नानायकेले श्रीलंकामा प्रशिक्षणको व्यवस्था मिलाएका हुन्।
नेपाल छाड्नुअघि खेलाडीहरू उत्साहित देखिए। उनीहरूले पनि माने, 'नेपाल विश्वकपसम्म पुग्ने डिभिजन-फोर नै अन्तिम बाटो हो। हामीले यसपल्ट राम्रो तयारी गरेका छौं। हामी कसैलाई पनि कमजोर आँक्दैनौं र कुनै प्रकारको भूल गर्ने पक्षमा पनि छैनौं।'
नेपाली टिम १४ सदस्यीय छ। कप्तान पारससँगै टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, प्रदीप एरी, अनिल मण्डल, पृथु बास्कोटा, चन्द्र साउद, विनोद दास, राहुल विक तथा सुभाष खकुरेल छन्। ज्ञानेन्द्र टिमका उपकप्तान हुन्।
व्यस्त अन्तर्राष्ट्रिय क्रिकेट
दुर्भाग्य नै सही, नेपाली घरेलु क्रिकेटको ढाँचा कमजोर छ। नेपाली खेलाडीले आफूलाई सिद्ध गर्ने अवसर नै पाउँदैनन्, तर नेपालको अन्तरार् ष्ट्रिय सहभागिता भने निरन्तर जारी छ। अहिले नेपाली युवा टिम अस्टे्रलियामा आईसीसी यू-१९ विश्वकप खेल्दैछ। नेपाली राष्ट्रिय क्रिकेट टिम अक्टोबरमा पनि ब्यस्त रहनेछ, एसीसी ट्रफी इलाइटकपमा।
युएईमा हुने प्रतियोगितामा नेपाल समूह 'बी' मा छ र त्यसमा सहभागी छन् आयोजक युएईसँगै हङकङ, कुवेत र साउदी अरेबिया। नेपाल प्रतियोगिताको पछिल्लो उपविजेता हो। अफगानिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। अफगान टिम सम्मिलित समूह 'ए' मा छन्, मलेसिया, ओमान, भुटान तथा माल्दिभ्स। साप्ताहिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै