आँट गरेपछि एक प्रकारको शक्ति आउँछ-गीता खरेल I

भगवान्ले पनि 'तँ आँट म पुर्‍याउँछु' भन्छन् रे । आँट गरेपछि एक प्रकारको शक्ति आउँछ जसले काम तथा आफ्नो यात्रालाई सहज बनाउन प्रेरित गर्छ । आँटले ऊर्जा प्रदान गर्छ । आँटैले मानिसहरूले जीवनमा कल्पना गर्न नसकेका काम फत्ते गर्छन् । 

यस्तै साहस एवं आँट देखाएकी छिन्-क्षमावती-९, सुस्पा, दोलखामा जन्मिएकी गीता खरेलले । बाल्यावस्थामै विवाह बन्धनमा बाँधिएकी खरेलले विवाहपछि आफ्नो अध्ययनलाई अघि बढाउने आँट गरिन् । परिणामस्वरूप आज उनले विद्यावारिधिको उपाधि हासिल गरिसकेकी छिन् । घर-व्यवहार तथा आफ्नो अध्ययनलाई सँगै लिएर जान सक्नु चानचुने कुरा होइन । 

उतिबेलाको परिवेश अहिलेको भन्दा बेग्लै थियो । ३० वर्षे आफ्नो जीवनलाई शिक्षण पेसामा समर्पित गरेकी गीता हाल रत्न राज्य कलेजकी प्राचार्य छिन् । कलकलाउँदो उमेरमै शिक्षिका भएकी गीताले यही पेसामा आफ्नो जीवन समर्पण गरिन्  । ५२ औं वसन्त पार गरेकी खरेल अझै जीवनमा धेरै गर्न बाँकी भएको बताउँछिन् । उनका तीन वटा कृति प्रकाशित भैसकेका छन् ।

त्यसो त विज्ञान संकाय लिएर अघि बढ्ने सपना बुनेकी सम्झना राजभण्डारीले आइएस्सीमा तीतो अनुभव बटुल्नुपर्‍यो । त्यसपछि उनले त्यसतर्फ नर्फकने आँट गरी संकाय नै परिवर्तन गरिन् । फलस्वरूप अहिले उनी ललित कला क्याम्पसबाट एम.ए. गर्दैछिन् । ३५ वर्षर्ीया राजभण्डारी जीवनमा एकातर्फ सफल नबने अर्को बाटो पहिल्याएर आफ्नो जीवन सफल बनाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेकी छिन् । 

अहिले उनी नेपालकै उत्कृष्ट महिला कलाकारका रूपमा परिचित छिन् । उनले अहिलेसम्म चार सोलो चित्रकला तथा अनेकौं प्रदर्शनीमा आफ्ना उत्कृष्ट सिर्जना प्रस्तुत गरिसकेकी छिन् । उनी कान्जिरोवा नेसनल स्कुल तथा स्नो ल्यान्ड स्कुलमा चित्रकला पढाउँछिन् । विशेष गरी साँझपख चित्र कोर्न मन पराउने राजभण्डारीका चित्रहरू प्रकृतिसँग नजिक हुन्छन् । उनका चित्रमा नीलो शान्तिको रंग खेलाइएको हुन्छ । बानेश्वरमा जन्मिएकी राजभण्डारीको असफलतापछिको आँटले उनलाई अहिले सफल बनाएको छ ।

शाखा अधिकृतका रूपमा काम गरिरहेकी अर्चनाको साहस एवं आँटको पनि कदर गर्नैपर्छ । डाँछीमा जन्मिएकी ३७ वषर्ीर्या अर्चना केसीलाई बाल्यावस्थादेखि नै सरकारी कार्यालयमा जागिर खाने रुचि थियो जसलाई उनले निरन्तरको परिश्रमद्वारा पूरा गरिन् । अहिले उनी सामान्य प्रशासन मन्त्रालयको बगैंचा फाँटमा छिन् । 

स्नातक गरेकी केसीले सुरुका दिनमा भीएस निकेतनमा अध्यापन गराइन् तर मनमा जागेको संकल्पपछि उनले शिक्षण पेसा छाडिन् । अहिले पनि महिलाहरूलाई घरपरिवारको काममा अविश्वास गर्ने प्रवृत्ति छ, सजिला काम भए महिलाहरूलाई छनोट गरिन्छ तर उनी आफूलाई जस्तोसुकै जटिल कामका लागि पनि तयार गर्छिन् । ठूलो साहस एवं आँटले गर्दा नै उनी एक सफल गृहलक्ष्मी, आमा तथा शाखा अधिकृतको भूमिका निभाउन सफल छिन् ।

- प्रस्तुति ः झरना नहर्की
नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com