काठमाडौं, श्रावण २६ ,
सुन्दर खनाल :- असार ३ गते राति पारुबारी (सुनटोल गाविस) की १८ वर्षीया कान्छी लामा (नाम परिवर्तन) को जीवनमा बज्रपात भयो । पक्षघातपीडित आफ्ना बावुसँग भलाकुसारी गर्न आएका स्थानीय उत्तम खतिवडाले उनीमाथि बलात्कार प्रयास गरे । उनले प्रतिकार गरिन् ।
उनको हारगुहार सुनेर छिमेकीहरूले खतिवडालाई नियन्त्रणमा लिए, पिटपाट गरे । भोलिपल्ट बिहान केही छिमेकीहरूले उनीलाई अनर्गल बाणी सुनाए । सहन सकिनन्, एक सिसी मेटासिड नामक विषादी पिइन् ।
केहीबेर मन सम्हाल्न नसक्दा गाउँकै सुन्दर र सोझी कान्छीको जीवन यतिखेर अघोर दशामा जेलिएको छ । उनलाई विष सेवनलगत्तै जोरपाटीस्थित शंकरापुर अस्पताल ल्याइयो । त्यहाँ ३० दिन भेन्टिलेटरमा राखेर उपचार गरियो । त्यसयता मेडिकल वार्डमा सारिएको छ ।
अस्पताल प्रमुख डा. रमेश ढकालका अनुसार पीडितको शरीर यतिखेर विषमुक्त भएर ठीक भइसकेको छ । तर लामो समय थला परेर शरीर नै अत्यन्त कमजोर भइसकेको अवस्थामा उनमा मानसिक समस्या सुरु भएको छ । उनी कोहीसँग बोल्दिनन् । समझ राम्रो छैन ।
'यो झन् ठूलो समस्या हो । अब उनलाई पुनस्र्थापनामा लानुको विकल्प छैन,' डा. ढकाल भन्छन् । सानैमा आमा बितेपछि बावुद्वारा हुर्काइएकी उनका एक जुम्ल्याहा भाइ छन् । एकदमै थोरै खेती भएको लामा परिवार मजदुरी गरेर पालिंदै आएको थियो । भाइ कुमार अर्काको घरमा काम गरिबस्थे ।
'दिदीमाथि यस्तो घटना भएछ । फोन आएपछि दौडिहालें । दिदीलाई अस्पताल भर्ना गराएदेखि अन्त कहीं गएको छैन,' कुमारले भने ।
चरम गरिबीमा बाँच्दै आएको आफ्नो परिवार यो घटनापछि नसोचेको दशामा फसेको उनी बताउँछन् । सम्भव भएसम्मको सहयोग खोजेर दिदीलाई राम्रो उपचारबाट पुनस्र्थापना गर्ने उनको इच्छा छ ।
डा. ढकालले सहयोगस्वरूप पीडित बिरामीको अहिलेसम्मको सम्पूर्ण उपचार खर्च मिनाहा गरिदिएको बताए ।
पीडक फरार
एकै गाउँका खतिवडा छोरी उमेरकी कान्छीमाथि आक्रमण गरेपछि दुई दिनसम्म सम्पर्कमै थिए । उपचार खर्च हेर्छु भनेर उनले लामा परिवारलाई अलमल्याएका थिए । तर उपचार लामो र खर्चिलो हुने देखिएपछि बेपत्ता भए ।
त्यसपछि आफन्तहरूको सल्लाहअनुसार कुमारले खतिवडाविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिए ।
'पीडकलाई मात्र कारबाही गराउन पाए पनि हामीलाई केही शान्ति हुन्थ्यो,' उनले भने । डा. ढकाल दोषीलाई कारबाही गराउने प्रक्रियासँगै पीडितलाई पुुनस्र्थापित गर्ने प्रयासको पनि खाँचो औंल्याउँछन् । 'हामी आवश्यक सहयोग जुटाउन कोसिस गरिरहेका छौं,' उनले भने । ekt:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै