बाँदर ठानेर गोली हान्दा आफ्नै छोराको मृत्यु I

पाल्पा, भदौ ९,

टेकनारायण भट्टराई :- बाँदर ठानेर बन्दुकले गोली हान्दा आफ्नै छोराको मृत्यु भएको छ। अर्घाखाँची शिद्धारा-८ का ५५ वर्षीय गुप्तबहादुर पुलामीले चलाएको भरुवा बन्दुकको गोलीले उनकै १२ वर्षीय छोरा चित्रबहादुरको मृत्यु भएको हो। गालामा लागेको गोली कञ्चट छेडेर निस्केको थियो।


चित्रबहादुर शुक्रबार बिहान ८ बजेतिर बारीको मकै खान आएका बाँदर खेद्न रुखमा बसेका थिए। छोरा बारीमा बाँदर कुर्न गएको थाहा नपाएका गुप्तबहादुर पनि बन्दुक भिरेर बारीमा पुगे। 'फोस्राको रुख हल्लेको देखेपछि ताकेर हाने,'गुप्तबहादुरले प्रहरीमा दिएको बयान उदृत गर्दै प्रहरी नायव निरिक्षक टीकाबहादुर गुरुङले नागरिकन्युजसँग भने- 'गोली लागेर रुखको माथिबाट खसेर तल्लो हाँगामा अड्केपछि बल्ल थाहा पाएँ, मेरै छोरा रहेछ।'

प्रहरीका अनुसार गोली लाग्ना साथ उनको मृत्यु भएको थियो। घटनापछि बेलुका पुगेको शिद्धरा प्रहरी चौकी र इलाका प्रहरी चौकी ठाडाको टोलीले मृतक बालकको शव रुखबाट निकालेको थियो। स्थानीय पशुपति प्राविमा कक्षा ५ मा पढ्ने चित्रबहादुर गुप्तबहादुरका दुई पत्नी मध्ये कान्छीतर्फका एक्ला सन्तान हुन्। कान्छी पत्निको ४ वर्ष पहिलेनै मृत्यु भएको थियो। घरमा जेठी तर्फका ३ छोरा, ३ छोरी र गुप्तबहादुरका पति-पत्नी छन्। नागरिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com