चिरन शर्मा, लण्डन- 'मिस युके नेपाल २०१२' को ताज कसले हात पार्ला भनेर अहिले बेलायतवासी नेपालीमा निकै कौतुहलता जागेको छ। 'मिस युके नेपाल २०१२' को अन्तिम नतिजा सेप्टेम्वर ९ तारिक साँझसम्म कुर्नै पर्नेछ।
अहिलो पहिलो चरणको अडिसन सकेर बसेका १० सुन्दरीहरु ताज आफ्नो बनाउने दाउमा छन्। सुन्दरीहरु अहिले पूर्वमिस युके नेपाल बिजेताद्वय गौमया गुरुङ र नविना गुरुङको कोरियोग्राफी अभ्यासमा ब्यस्त छन्।
प्रतियोगितामा मिस ट्यालेन्ट, मिस वेष्ट फिगर, मिस पब्लिक च्यावाइस, मिस प्रसानालिटी, मिस क्याटवक, मिस फोटोजेनिसजस्ता उपाधि दिइने छ। प्रतियोगितको निर्णायक मण्डल भने अन्तिम दिनसम्म गोप्य राखिने कार्यक्रम संयोजक शान्ती गुरुङले बताइन्। निर्णाक मण्डलमा ब्यवसायी, शिक्षा, सञ्चार, सामाजिक सेवालगायत विभिन्न सात क्षेत्रको प्रतिनिधित्व रहने गुरुङले बताइन।
प्रतियोगितामा भाग लिन ब्राण्डफोर्ड, लण्डन, अल्डरसट्, फामब्रो, वर्किघम, ग्रामथान, मोर्डन लगाएका क्षेत्रबाट १५ जनाले आवेदन दिएका थिए। गुरुङले अभिभावकको सोचाइमा परिवर्तन नआएकाले सोचेजस्तो सहभागिता गराउन नसकिएको बताइन्। उनले भनिन्- 'गत वर्ष भएका दुईवटा प्रतियोगितालाई सबैले उत्साहपूर्वक लिए र धेरैले मन पराए।
त्यसैले अभिभावकको अकर्षण बढ्दै गाएको छ।' बेलायतको ब्यस्त जीवनशैलीमा प्रतियोगितामा भाग लिन आउनु नै चुनौतिपूर्ण भएको उनले बताइन्। यस्ता प्रतियोगिताले ब्यक्तित्व विकास र आत्मबल बढाउने संयोजक गुरुङको दाबी थियो।
आयोजक संस्था इभिन्ट एण्ड आइडियाजका अनुसार उपाधि जित्नेलाई ८ सय, फष्ट रनर अपलाई ५ सय, सेकेण्ड रनर अफलाई ३ सय पाउण्ड प्रदान गरिने छ। प्रतियोगिता सम्पन्न गर्न करिब १० हजार पाउण्ड खर्च लाग्ने आयोजकको अनुमान छ। नागरिक :