मिस ग्लोबल नेपालको मुकुट नीलम चन्दले जितेकी छिन्। १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि प्राप्त गरेकी हुन्।
लफ्ट क्रिएसनले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा एलिसा कुँवर फस्ट रनर्सअप भइन्। यस्तै रक्षा थापाले सेकेन्ड रनर्सअपमा चित्त बुझाउनुपर्यो। नीलम मिस नेपाल-२०१२ की प्रतिस्पर्धी हुन्। यसैगरी रक्षाले मिस नेपाल-२०१० मा सहभागीता जनाएकी थिइन्।
प्रतियोगिताकी विजेताले मिस ग्लोबल इन्टरनेसनलमा सहभागी हुने अवसर पाउने आयोजक अनुमा कोइरालाले बताइन्। नर्थ अमेरिकाको जमैकामा हुने उक्त प्रतियोगितामा विभिन्न ३५ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन्।
मिस नेपाल-२०१२ मा सहभागी अलिशा कुँवरसँगै, रञ्जु कुँवर, रिजु श्रेष्ठ, दीपिका श्रेष्ठ, सन्जु श्रेष्ठ, दीपिका खड्की, शैबी पाण्डे, दीपिका चन्द, सुजिता भट्ट, वासना तिमिल्सिना, मनिला कार्की, जेनिफा योङहाङ, सराबिनी कार्की, रोशनी पुन, रचना अर्याल, मनीषा गुरुङ तथा रोशनी आरडीले मिस ग्लोबलमा प्रतिस्पर्धा गरेका थिए। तीन सातादेखि प्रतियोगिताका लागि तयारी एवं ग्रुमिङ सेसनमा सहभागीपछि उनीहरूलाई ग्रान्ड फिनालेमा उतारिएको हो।
जमलस्थित राष्ट्रिय नाचघरमा साँझ चार बजे प्रारम्भ भएको कार्यक्रमलाई गीत एवं नृत्यले थप रोचक बनाएको थियो। मंगलबार सम्पन्न कार्यक्रम विवादमुक्त भने रहेन। अन्य प्रतियोगिताझैं असन्तुष्ट सहभागीहरूले प्रतियोगिताको निर्णयमा असहमति जनाएका थिए। नारी :