शर्मिला शर्मा :- भारतको मेदान्त अस्पतालमा सार्वजनिक रूपमा सूचना टाँस गरेर भनिएको छ, 'यहाँ लिंग पहिचान गरिंदैन ।' अब आएर मलाई यो सूचनाको महत्व थाहा भयो । प्रविधिका कारण मानिसहरू यति स्वार्थी भए कि नौ महिनापछि जन्मिने सन्तानको लिङ्ग के हुनुपर्छ, बाबुआमाले पहिल्यै निर्णय गर्न थाले । सृष्टिको मर्म समाप्त गर्न मानवभित्र हुर्किएको यो बर्बरता बुझेर हुनसक्छ, अस्पताल प्रशासन यस्तो सूचना टाँस्न बाध्य भयो ।
पोखराको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुईमात्र सन्तान ईश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको कामसमेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन । सासू-ससुरा र कतिपय आफन्तले बेलाबेला 'छोरा नभएको घर' भन्दा मन चसक्क भए पनि उनले यस्ता लाञ्छनाहरू पचाइसकेकी थिइन् । तर प्रविधिले पेटमा रहेको भ्रूणको पहिचान गरिदिने निश्चित भएपछि उनले मन थाम्न सकिनन्, बच्चा पाउने निर्णय गरिन् । नभन्दै उनको तेस्रो सन्तानका रूपमा छोरा जन्मियो ।
तीन हप्ताअघि मैले काठमाडौंकै एकजना श्रमिक महिलालाई भेटेकी थिएँ । उनको पहिलो छोरी १० वर्ष पुगेपछि गर्भ रहेको थियो । उनले पनि अस्पताल गएर भ्रूणको लिङ्ग पहिचान गरिन्, दोस्रो बच्चा पनि छोरी रहेछ । यो थाहा पाउँदा-पाउँदै पनि उनले त्यसलाई फाल्न सकिनन् । उनी भन्छिन्, 'गर्भ फाल्न पाँच हजार लाग्छ भने बिहान-बेलुका काम गरेर खानुपर्ने कसरी ल्याउनु त्यत्रो पैसा ?' त्यसको परिणाम उनले दोस्रोपटक पनि छोरी जन्माइन् । उनी अहिले पछुतोमा छन् । छोरी पाएयता लोग्ने एकदमै कम मात्रामा कोठामा आउंँछन् । घरपरिवारले गर्ने व्यवहार परिवर्तन भएको छ । पछुतो मान्दै उनी भन्छिन्, 'आफूसंग पाँच हजार रूपैयाँ भएको भए यो जन्मने थिइन । लोग्नेको व्यवहारमा पनि यति परिवर्तन आउने थिएन । रातोदिन सौता भित्रिने चिन्ता पनि थपिने थिएन ।'
पोखरा र काठमाडौका दुई फरक पृष्ठभूमिका महिलाको साझा पीडा छ । उनीहरूले छोरा नै पाउनु पर्नेछ । अहिले प्रविधिले त्यसलाई सजिलो बनाइदिएको छ । त्यसको प्रत्यक्ष असर छोरीमाथि परेको छ । नेपाली समाजमा वर्षौदेखि शोषण, उत्पीडन र अन्याय सहेर बसेका महिलामाथि अब झन् ठूलो खतरा थपिएको छ । प्रविधिका कारण अब छोरीहरू गर्भमै मारिने क्रम बढ्दैछ । स्वास्थ्य मन्त्रालयको एक विवरणअनुसार, पछिल्लो पाँच वर्षमा नेपालमा ३ लाख ५० हजार गर्भपतन भएका छन् । यसमध्ये ठूलो संख्यामा छोरीहरू थिए भन्न सकिन्छ । सामाजिक कार्यकर्ता तथा चिकित्सक डा. अरूणा उप्रेतीले गरेको एउटा अध्ययनले के देखाएको छ भने २४ सय छोरा जन्मिएकोमा २७ सय छोरी जन्मिएका थिए । डा. उप्रेती भन्छिन्, 'उपत्यका बाहिरको मेरो अध्ययन विवरण हेर्दा प्राकृतिक रूपमा छोरी धेरै जन्मन्छन् भन्ने देखाउँछ ।'
भ्रूणको लिङ्ग पहिचानको सुविधाका कारण भारतमा जनसंख्याको बनौट नै परिवर्तन हुनथालेको छ । डा. उप्रेतीकै भनाइमा, 'अहिले भारतमा ८ सय छोरी जन्मिदा १ हजार छोरा जन्मन थालेका छन् । यो यही प्रविधिका कारणले हो ।' यही स्थितिलाई थाहा पाएर चर्चित भारतीय चलचित्र नायक आमिर खानले भ्रूणहत्यालाई आफ्नो कार्यक्रमको विषय बनाएर त्यहाँ हलचल मच्चाएका थिए ।
नेपालमा गर्भमा छोरा छ या छोरी भनेर लिंग पहिचान गर्नु कानुनी रूपमा पनि दण्डनीय छ । तर व्यवहारमा भने कतै एक महिना त धेरै ठाउँमा तीन महिना नपुग्दै भ्रूणको लिङ्ग पहिचान भइराखेको छ । यही पहिचानका आधारमा गर्भपतन भइराखेको छ । तर यतिसम्म कि यो अपराध हो भन्नेसमेत आभाष भइरहेको छैन । तथ्याङ्कशास्त्री डा. पदम खतिवडाका भनाइमा, 'अहिले देश बाहिर रहेको १९ लाखमध्ये १७ लाख जनसंख्या पुरुषको छ । यसरी हेर्दा अहिल्यै पनि नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा कम छ । यसरी भ्रूणको लिङ्ग पहिचान गरेर गर्भमै हत्या हुनथालेपछि आगामी दिनमा जनसंख्यामा चरम असन्तुलन आउने खतरा रहन्छ ।'
समाजशास्त्री गणेश गुरुङ भन्छन्, 'पुरुषहरू यौनिक रूपमा असन्तुष्ट हुने जात हो । यदि महिला कम भए भने उनीहरू झन् आक्रामक हुन्छन् । यसको अर्थ महिलामाथि झन्-झन् हिंसा बढ्छ ।' गुरुङका भनाइमा, सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबुआमालाई पाल्ने बिमा हो भन्ने मान्यता छ । त्यो रहिरह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।' यसले त 'बुढेस कालको सहारा छोरा' भन्ने मान्यता झन्-झन् बलियो बनाउँदै लानेछ ।
असुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरालाई ख्याल गरेर सरकारले २०५९ साल असोज १० मुलुकी ऐन ११ औं संशोधनले गर्भपतन गर्न पाउने कानुन ल्याएको हो । त्यो पनि १२ हप्तासम्मको मात्र । तर गर्भपतन गर्न पाउने कानुनी मान्यता भए पनि बच्चाको लिंग पहिचान गर्ने उद्देश्यले भिडियो एक्सरेसमेत गर्न पाइँदैन । नेपालको मुलुकी ऐन ज्यान मार्नेको महल दफा २८ 'ग' मा उल्लेख भएअनुसार, यदि कसैले गराएमा ३ महिनादेखि २ वर्षसम्म कैद हुने व्यवस्था छ ।
हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ । सकेसम्म छोरीको साटो छोरो नै जन्मियोस् भन्ने चाहना राख्छ । 'ढिलो होस्, छोरा होस्' भन्ने मानसिकताले लाखौं छोरीले आमाको गर्भमै मृत्युवरण गर्नुपरेको छ । शिक्षित महिलामा समेत आफूले छोरा नपाए घरपरिवारले हेला गर्ला वा पतिले अर्को बिहे गर्ला भन्ने असुरक्षाको भावना हुन्छ । त्यसैले प्रविधिले लिंग पहिचान गरिदिने भएकोले छोरी रहेको थाहा हुने बित्तिकै महिलाहरू गर्भपतन गराउन तयार हुन्छन् । त्यस बाहेक नेपालको तराई क्षेत्रमा 'छोरी जन्माउनु गरिब हुनु हो' भन्ने बुझाइ छ । पहाडी क्षेत्रमा पनि 'छोरा नभएको घर अँध्यारो' भन्ने उखानै छ । यस्ता परम्परागत मान्यताका कारण पनि महिलाहरू गर्भमै छोरी मारेर छोरा जन्माउन मरिहत्ते गरिरहेका छन् ।
समाज किन छोरीलाई यो धर्तीमा आउनै दिन चाहँदैन ? समाजमा स्विकार गरिन्छ कि- परिवारमा आमा चाहिन्छ, श्रीमती चाहिन्छ, दिदी चाहिन्छ, बुहारी चाहिन्छ, बहिनी चाहिन्छ । तर छोरी किन चाहिंदैन ? हुँदा-हुँदा अब छोरीको भ्रूण पहिचान गरेर गर्भमै मार्ने क्रम बढ्दै जान थालेको छ । इकान्तिपुर :