काठमाडौँ, साउन २५,
अर्जुन सुवेदी :- सरकारले खाडी मुलुक जाने नेपाली महिला कामदारको उमेर कम्तिमा ३० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
कम उमेरमै खाडी मुलुकमा पुगेका महिला कामदारले अन्यको तुलनामा बढी शारिरीक तथा मानसिक यातना पाएको भन्दै खाडी मुलुक जाने महिला कामदारको न्युनतम उमेरहद सरकारले तोकेको हो।
'सानै उमेरमा खाडी पुगेका अधिकांश नेपाली महिला कामदार शारीरिक तथा मानसिक यातनाबाट पीडित भएको देखिएपछि सरकारले खाडी मुलुक जान ३० वर्ष पूरा हुनै पर्ने व्यवस्था गरेको छ,' मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री राजकिशोर यादवले भने, '३० वर्ष पूरा भएका महिलाहरु पाको हुने र सही निर्णय गर्न सक्ने भएकाले यो निर्णय गरिएको हो।'
हाल १८ वर्ष पूरा भएपछि राहदानी लिएर विदेश जान पाइने व्यवस्था भए पनि महिलाहरुले उमेर बढाएर राहदानी बनाएर खाडी मुलुकहरुमा गैरहेका छन्। यसरी जाने महिला कामदारहरुमाथि शारिरिक तथा मानसिक रुपमा शोषण बढेपछि सम्वन्धित मुलुकहरुकै सुझावका आधारमा वैदेशिक रोजगार विभागले सरकारलाई यो प्रस्ताव गरेको थियो।
नेपालबाट २०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपछि महिलाहरु वैधानिक रुपमा बाहिर जान थालेका हुन्। त्यसपछि कुवेतमा काम गरिरहेकी महिला कामदार कामी शेर्पाको मृत्युपछि सरकारल २०५४ साल जेठ ३ गते खाडी क्षेत्रमा महिलालाई वैदेशिक रोजगारमा नपठाउने निर्णय गरेको थियो।
२०५७ सालमा भने संगठित क्षेत्रमा मात्र महिलालाई वैदेशिक रोजगारमा पठाउने निर्णय सरकारले गरेको थियो। विभागको तथ्यांक अनुसार हाल वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत खाडी मुलुकमा महिला कामदारहरु छन् जसमध्ये कुवेतमा २१ हजार, लेवनान ९ हजार छ सय, युएइ ९, कतारमा २, बहराइन १ हजार ८ सय, ओमन १ हजार दुई सय, साउदी अरेवियामा सात सय, मलेसिया ३ हजार छ सय ,इजरायल ३ हजार दुई सय संख्यामा नेपाली महिला कामदारहरु छन्।
त्यसैगरी मन्त्रिपरिषदको बैठले माडागास्करमा फसेका नेपाली कामदारलाई जतिसक्दो छिटो स्वदेश फर्काउन पहल गर्ने निर्णय गरेको छ। NGK:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै